|

जनकपुरधाम : सीता–राम विवाहपञ्चमी महोत्सवको तयारी जनकपुरमा तीव्र पारिएको छ। हरेक पाँच वर्षमा भारतको अयोध्याबाट आउने जन्ती यसवर्ष आउन लागेकाले महोत्सव विशेष बनाउन सबैपक्ष जुटेको हो।

अयोध्याका राजा दशरथ पुत्र भगवान रामसँग त्रेतायुगमा मिथिलाका राजा जनककी पुत्री माता सीतासँग विवाह भएको मानिन्छ। सोही सम्झनामा हरेक वर्ष जनकपुरमा राम–सीता महोत्सवको आयोजना हुन्छ। तर पाँच/पाँच वर्षमा अयोध्याबाट झाँकीसहित जन्ती जनकपुर आउँछन्।

विवाह पञ्चमीको एकदिनअगावै मंसिर १४ गते अयोध्याबाट जन्ती आउने जनाइएको छ। पौराणिक व्यवस्थाअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी रंगभूमिमा पुर्‍याइन्छ। त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ।

रंगभूमिमा स्वयंवर विधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीतारामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ। रंगभूमि मैदानमा वर र कन्यापक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ संख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको झझल्को दिन्छ।

विवाह अगाडि मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव र स्वयंवर समेत गरिन्छ। देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ। सोही कारण विवाह पञ्चमीका दिन लाखौं श्रद्धालुको जनकपुरमा घुइँचो लाग्ने गर्छन्।

राष्ट्रिय बिदाको माग

महोत्सवलाई राष्ट्रिय रूप दिन जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामतपेश्वर दास वैष्णवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक पत्र पठाएर राष्ट्रिय बिदाको माग गरिएको छ।

‘यस वर्ष विवाह पञ्चमी मंसिर १५ गते परेको छ’, उत्तराधिकारी महन्थ वैष्णवले भने, ‘विवाह पञ्चमीकै दिन राष्ट्रिय बिदा दिन सरकारसँग हाम्रो जोडदार माग छ।’ प्रधानमन्त्री ओलीलाई पत्र पठाएको एक साता बितिसक्दा पनि बिदाबारे निर्णय हुन सकेको छैन।

प्रदेश सरकार भने विवाह पञ्चमीको दिन बिदा दिने गर्छ। गतवर्ष प्रदेश सरकारले महोत्सवलाई भव्य बनाउन ५० लाख रुपैयाँ जानकी मन्दिरलाई उपलब्ध गराएको थियो। तर यसवर्ष भने आर्थिक सहयोग गर्ने विषय अन्योल देखिन्छ।

अमित र आदित्यनाथलाई निम्तो

जानकी मन्दिरले जन्तीको रुपमा विवाह महोत्सवमा सहभागी हुने भारत सरकारका गृहमन्त्रीसमेत रहेका भारतीय जनता पार्टीका अध्यक्ष अमित साह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई निम्तो पठाएको छ।

मुख्यमन्त्री आदित्यनाथ भने गतवर्ष विवाह महोत्सवमा जनकपुर आएका थिए। तर, यसवर्ष आउने/नआउने निश्चित भइसकेको छैन। नेपालमा अहिले भारतको राजनीतिक नक्साको व्यापक विरोध भइरहेका कारण गृहमन्त्री साह र मुख्यमन्त्री आदित्यनाथ आउने सम्भावना न्यून रहेको बतान्छ। उत्तराधिकारी महन्थ वैष्णवले पनि महोत्सवमा सहभागी हुन आउने औपचारिक जानकारी प्राप्त नभएको बताए।

राष्ट्रिपति भण्डारी आउने निश्चित

विवाह पञ्चमी महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएकी छिन्। राष्ट्रपति भण्डारीलाई महोत्सवमा सहभागीका लागि जानकी मन्दिरले औपचारिक पत्र पठाएको थियो। राष्ट्रपति सचिवालयबाट मन्दिरका उत्तराधिकारी महन्थ वैष्णवलाई राष्ट्रपति भण्डारी आउने ‘कन्फर्म’ गरेको हो।

मन्दिरलाई झकिझकाउ

विवाह पञ्चमी नजिकिएपछि जानकी मन्दिरलाई झकिझकाउ पार्ने काम सुरु भएको छ। मन्दिरलाई अन्य वर्षको तुलनामा विशेष सजावट गरिनेछ। मन्दिरको चारैतीर चम्किरहने लाइट जडान गरिने जनाएको छ।

यस्तै ऐतिहासिक रंगभुमि मैदान (बारह्विघा)लाई सरसफाई सुरु गरिएको छ। शनिबार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र समाजसेवीले संयुक्त रूपमा रंगभूमि मैदान सरसफाइ गरेको हो। रंगभूमि मैदानमा विभिन्न ठाउँबाट आउने लाखौं श्रद्धालुहरु रात बिताउने गर्छन्। सोही कारण उक्त मैदानमा खानेपानी र अस्थायी शौचालयको व्यवस्था पनि गर्ने तयारी थालिएको छ।

चार हजार सुरक्षाकर्मी परिचालन हुने

विवाह महोत्सवमा भारतबाट आउने जन्ती, श्रद्धालु र विशेष अतिथिको सुरक्षार्थ ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ। यसबाहेक ठूलो संख्यामा सादा पोशाकका प्रहरीसमेत परिचालन हुन्छन्।

धनुषाका एसपी शेखर खनालले २३ सय ३० जना जनपद प्रहरी, ११६ ट्राफिक प्रहरी र करिब १७ सय सशस्त्र प्रहरी परिचालन गरिने जानकारी दिए। उनले जनकपुरका संवेदनशील १ सयभन्दा बढी स्थानमा सिसी क्यामेरा जडान गरेर २४ सै घण्टा निगरानी गरिनेसमेत बताए।

विगतका वर्षहरूमा चोरी र लुटपाटसमेत हुने गरेको पाइएकाले यस वर्ष सादा पोसाकमा समेत प्रहरी परिचालन हुने एसपी खनालले जानकारी दिए। उनले भने, ‘श्रद्धालुको सुरक्षाका लागि हामी २४ सै घण्टा तैनाथ हुन्छौँ। सुरक्षामा कुनै कसर बाँकी नराख्ने गरी योजना तयार पारेका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.