घाउ निको नहुँदै बालुवाटार फर्किन खोजेपछि...

|

काठमाडौं : एपेन्डिसाइटिस भएपछि प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला त्रिवि शिक्षण अस्पताल परिसरको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन्। 

मंगलबार बिहान उक्त सेन्टरमा भर्ना गरिएका प्रधानमन्त्री ओली एपेन्डिसाइटिसको अपरेशनपछि एक दिन बेहोस अवस्थामा रहे। अपरेसनपछि एक दिन सेमी भेन्टिलेटरको अवस्थाबाट निकालेर अहिले प्रधानमन्त्रीलाई सघन उपचार कक्ष (आईसियु) मा राखिएको छ। 

मंगलबार बिहान ९ बजे अस्पताल पुगेका ओलीको मध्यान्ह त्रिवि शिक्षण अस्पतालका सर्जन डा. रमेशसिंह भण्डारीसहितको टोलीले अपरेसन गरेको थियो। अपरेसनपछि भेन्टिलेटरमा रहँदा बेहस अवस्थाका ओलीको बुधबार बिहानदेखि होस खुलेको थियो। 

होस खुलेसँगै प्रधानमन्त्री ओली पुरै सन्चो भएको शैलीमा पूर्ववत् अवस्थमा फर्किन खोजेको चिकित्सकहरुले बताएका छन्। पेट चिरेर शल्यक्रिया गरेको मान्छे अस्पतालबाट बाहिर खोज्दै देशको राजनीतिक गतिविधिबारे चासो लिइरहेपछि चिकित्सहरुले पनि उनीसँग ठट्टा गरिरहन्छन्। 

बुधबार बिहान कालो चिया पिएका ओलीलाई बिहीबार बिहान दालको रस पिलाइएको छ। बुधबारै आईसियुको बेडबाट उठेर मेचमा बसेका ओलीले बिहीबार बिहानदेखि अझै सक्रियता बढाएका छन्। 

मिर्गौलाले करिब काम गर्न छाडिसकेको अवस्थामा बुधबार बेलुका करिब ५ घण्टा लगाएर डायलाइसिस पनि गरिएको थियो। डायलाइसिस गरिएपछि मध्यरातमा स्वास्थ्यमा समस्या देखिएपछि केही गम्भीर बनेका प्रधानमन्त्री ओलीको अवस्था बिहान सुधार भएको थियो। मनमोहनका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले निकालेको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको उल्लेख छ।

फेरि सक्रिय

स्वास्थ्यमा राम्रो सुधार भएसँगै प्रधानमन्त्रीले पुरानै शैलीमा नियमित सक्रियता देखाउन खोजेका छन्। उपचारका संलग्न उनका निजी चिकित्सक डा. अरुण सायमीका अनुसार प्रधानमन्त्रीले बिहीबार बिहानैदेखि देशको राजनीतिक अवस्था र बाहिरको माहोलबारे चासो राखिरहेका छन्। 

'यति जटिल अवस्थामा पनि प्रधानमन्त्रीले बिहानै उठेर मेरोबारेमा बाहिर के आएको छ भनेर सोधिरहनु भएको छ', उनले भने, 'हामीले भेन्टिलेटरमा राखेकाले अलिक बढी चिन्ता र चासो भएको भनेर बतायौँ।'

सायमीका अनुसार प्रधानमन्त्रीले चिकित्सकहरुसँगको कुराकानीमा आफ्नोबारेमा भएका कुनै पनि कुरा नलुकाउन भनेका छन्। 'मेरो बारेमा जे छ केही नलुकाउनु भन्‍नु भएको छ', प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सायमीले भने, 'पूरा ठीक हुन अझै समय लाग्ने अवस्थामा प्रधानमन्त्रीले पुरानै शैलीमा सक्रियता देखाउन खोज्दा हामी पनि अचम्मित छौँ।'

बिहीबार बिहान प्रधानमन्त्रीुख सल्लाहकार विष्णु रिमाल र अर्का सल्लाहकार डा. राजन भट्टराईसहितको टोली प्रधानमन्त्रीलाई भेट्न  पुगेको थियो। उनीहरुसँग पनि डाक्टरहरुमार्फत् नै प्रधानमन्त्रीले आफ्नोबारे बाहिर के कुरा हुँदैछ भनेर सोधीखोजी गरेका थिए। 

सल्लाहकारहरुसँग डाक्टरहरुमार्फत् छलफल गरेपछि प्रधानमन्त्रीको एकाउन्टबाट सन्देश छाडिएको हो। सल्लाहकार टिमले डाक्टरहरुसँग परामर्श गरेपछि बिहीबार मध्यान्ह प्रधानमन्त्रीको फेसबुक र ट्विटरबाट आफूलाई सन्चो भइरहेको सन्देश पनि सामाजिक सञ्जालबाट पठाए। यद्यपि उक्त सन्देश सचिवालयका सदस्यहरुमार्फत् पठाएका थिए। 

'बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु। यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ। स्वास्थ्यस्थितिबारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु', प्रधानमन्त्रीको ट्विटर र फेसबुकबाट भनिएको छ।

चिकित्सकसँग हाँसोठट्टा

विस्तारै स्वास्थ्यमा सुधार हुन थालेपछि प्रधानमन्त्रीले बाहिर जान चासो देखाएका थिए। तर चिकित्सकहरुले प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने निचोड निकालिसकेका छन्। उनीहरुले मिर्गौलाको डायलाइसिस पनि गर्नुपर्ने भएकाले मनमोहनबाट त्रिविमा सार्नेबारेमा बिहीबार दिउँसो छलफल गरेका छन्। 

स्वास्थ्यमा सुधार भएपछि प्रधानमन्त्री अहिले बेडबाट उठेर मेचमा बस्न थालेका छन्। त्यही क्रममा उनले बाहिरी राजनीतिक माहोल र समसामयिक विषयमा चासो राखेर अस्पतालबाट निस्कन खोजेपछि चिकित्सकहरुले ठट्टा गरेका थिए।

उपचारका संलग्न डा. सायमीले प्रधानमन्त्रीलाई जिस्क्याउँदै कहाँ जाने भनेर सोधेका थिए। 'आज यहाँबाट हामीले निकालेपछि पोखराको चुनावमा भाषण गर्न जाने कि दशरथ  रंगशाला उद्घाटन गर्न जाने ?', सायमीले प्रधानमन्त्रीलाई सोधेका प्रश्न उधृत गर्दै स्रोतले भन्यो,'तर प्रधानमन्त्री मुस्काउनु भयो, कुनै प्रतिक्रिया दिनु भएन।'

चिकित्सकहरुले बाहिर जाने भन्दा प्रधानमन्त्रीले हाँसेका थिए तर उनले कुनै उत्तर दिएनन्। 'मेरोबारेमा बाहिर के आएको  छ भनेर चासो लिइरहनु भएको छ', सायमी भन्छन्, 'समसामयिक विषयमा पनि उत्तिकै चासो छ। आईसियु रुमको बेडबाट उत्रेर मेचमा बसेपछि डाक्टरको टिमसँग छलफल गर्नु भएको छ। उहाँलाई देशको धेरै चिन्ता छ।'

प्रधानमन्त्री अस्वस्थ भएपछि दशरथ रंगशालामा मंसिर १५ गते सुरु हुने दक्षिण एसियाली क्षेत्रीय खेलकुद (साग) उद्घाटन समारोहमा सम्बोधन गर्न नपाउने भएका छन्। सागको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छन्। कास्कीमा मंसिर १४ मा प्रतिनिधिसभाका लागि उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनमा नेकपाका उम्मदेवारहरुलाई भोट माग्ने कुनै कार्यक्रम प्रमले जान पाएनन्।

प्रधानमन्त्रीले बाहिरी माहोलको धेरै चासो लिइरहेपनि चिकित्सकहरु तत्काल उनलाई आईसियुबाट निकाल्ने पक्षमा छैनन्। 'अझै कम्तीमा ३ दिन उहाँलाई आईसियुमै राखेर आराम गराउनुपर्छ', उपचारमा संलग्न अर्का चिकित्सक भन्छन्, 'यहाँ डायलाइसिसका लागि मेसिन नभएकाले बरु शिक्षणको आईसियुमा सार्न सकिन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.