|

जनकपुरधाम : साताव्यापी सीता-राम विवाह पञ्चमी महोत्सवको तेस्रो दिन बिहीबार जनकपुरधामको रंगभूमि मैदानमा धनुष यज्ञ सम्पन्न भएको छ। त्रेतायुगमा रामले धनुष तोडेको र सीताले वरमाला लगाएको सम्झनामा विवाह महोत्सवको तेस्रो दिन धनुष यज्ञ मनाइएको हो।

मिथिलाका राजा जनकले धनुष उठाएर धनुषमा वाण छोड्ने महाशक्तिशालीसँग मात्रै सीताको विवाह गर्ने निधोका साथ गरिएको धनुष यज्ञमा सयौं शक्तिशाली र वलबानहरूले धनुष हल्लाउन सकेनन्। अन्त्यमा, दशरथ पुत्र श्रीरामले यज्ञमा राखिएको धनुषलाई एउटै हातले उठाएर तीन टुक्रा गरे।

रामायणमा वर्णन गरिएअनुसार रंगभुमि मैदानमा धनुष यज्ञ गरिएको छ। धनुष यज्ञमा भारतको अयोध्याबाट आएका जन्ती समेत सहभागी थिए। भगवान रामको जन्ती बनेर भारतीय राजदूत मन्जिवसिंह पुरीसमेत सहभागी भए। साथै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, नेपाल तथा भारतका हजारौं साधुसन्त र सर्वसाधारणको सहभागिता थियो।

शुक्रबार चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौं दिन स्वयंबर तथा शुभविवाह (विवाहपञ्चमी) र सातौं दिन राम कलेवा पछि महोत्सव समापन हुने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए। उनका अनुसार भारतको अयोध्याबाट आएका जन्तीलाई भोलि राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम छ।

भोलि चौथो दिन तिलकोत्सव समारोहमा समेत राष्ट्रपति भण्डारी सहभागी जनाउने बताइएको छ। तिलकोत्सवलाई मधेसमा ‘छेका’ भनिन्छ। धनुष तोडेपछि भगवान रामको विवाह माता सीतासँग हुने पक्का भएकाले तिल्कोत्सव समारोहमा राष्ट्रपति भण्डारीले तिल्काउने (तिलक लगाइ दिने) कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.