अघिल्लो निर्वाचनको भन्दा कम मत खस्यो

|

पोखरा : कास्कीमा प्रतिनिधिसभा सदस्यको लागि शनिबार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म भएको मतदानमा ६० प्रतिशतदेखि ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ। पोखरा महानगरका ११ वडा पर्ने कास्की २ मा ७१ हजार ८७१ जना  मतदाता थिए।

सबैठाउँको तथ्यांक नआइसकेको कार्यालयले जनाएको छ। यो तथ्यांक अघिल्लो प्रतिनिधिसभाको भन्दा कम हो। अघिल्लो निर्वाचनमा ४९ हजार मतदाता मतदानमा सहभागि भएका थिए। अझ यस पटक मतदाताको संख्या अध्यावधि गरेर बढेको थियो।

सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर मतगणनास्थल तारजाली घेरेर सुरक्षित पारिएको छ। त्यस्तै सुरक्षाकर्मीको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। यसका साथै सिसि क्यामरा पनि जडान गरिएको छ।

मतपेटीका कास्कीको बैदाममा रहेको जिल्ला समन्वय समितिको भवनमा लाइँदै छ। साँझ ८ बजेभित्र मतपेटीका गणनास्थल ल्याइपुर्‍याउने तयारी भएको छ। त्यसलगत्तै सर्वदलिय बैठक बस्ने र गणना आजै राति गर्ने या भोलि बिहानबाट गर्ने टुंगो लाग्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ।

पोखरामा शनिबार भएको निर्वाचनमा केही ठाउँमा मतदाताले त्रासमा मत खसाले। यहाँको चारवटा मतदान केन्द्रनजिकै बम विस्फोट भयो। यद्यपि बम विस्फोट कस्ले गरायो भन्ने विषय अनुसन्धानकै क्रममा रहेको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।

पोखरा ९ नयाँ बजारमा रहेको नवप्रभात मावि मतदानस्थल, पोखरा १६ वडा शान्ति मावि मतदानस्थल, पोखरा ३३ शान्ति उदय माध्यमिक विद्यालयको मतदानस्थल र पोखरा १६ चण्डिका मतदानस्थल नजिकै बम बिस्फोट भएको हो। बम विस्फोटपछि केही बेर मतदान स्थगित भएको थियो। बम विस्फोट पछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो  ।

कास्कीमा प्रतिनिधिसभा सदस्यको लागि नेकपाबाट विद्या भट्टराई, नेपाली कांग्रेसबाट खेमराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, संघीय समाजवादी पार्टीबाट धर्मराज गुरुङ, साझा पार्टीबाट रजनी केसी, विवेकशील नेपाली दलबाट जमुना शर्मा उम्मेदवार छन्। त्यस्तै नेकपा मालेका टेकनाथ भण्डारी, नेपाली कांग्रेस (बिपी)बाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट पूर्णबहादुर राना, देशभक्त समाजका तर्फबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका गंगा मल्ल, मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङले उम्मेदवारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.