|

शारदा पोखरेल

सिमरा : बाराको जितपुर सिमरास्थित रामवनका स्थानीयवासी एकदशक अघि आफूले किनेको जमिन भूमाफियाले अरुको नामको किर्ते गरी मालपोत कार्यालयबाटै जग्गापास गरिदिएको खुलासा भएपछि उनीहरू आफ्नै घरमा सुकुम्बासी बनेका छन्।

२०६६ सालमा  किनबेच सुरु भएपछि सो क्षेत्रमा १ कठ्ठा, १० धुर  जग्गा किनेर कृषि तथा मजदुरी पेसा गर्दै आएका ४३ परिवार स्थानीयवासीले अहिले आएर आफ्नो जग्गा भूमाफियाले किर्ते बेचबिखन गरेको सूचना पाएपछि आफ्नै घरमा सुकुम्बासी भएका हुन्।

स्थानीयवासीहरूले एक दशकअघि जग्गाको अन्तिम बिक्रेता बाबुराम ढकाल, सञ्जु कुमार आचार्य र ईश्वर श्रेष्ठसँग खरिद गरेका हुन्। उनीहरूले  भोगचलन गर्दै आएको जग्गा भूमाफियाले बेचबिखन गरेपछि जग्गाको भोगचलन कायम गराउन नसके चलनचल्तीको  दरमा रकम फिर्ता गर्न जग्गा बिक्रेतालाई दबाब दिएका छन्।

आफ्नो जग्‍गा भोगचलन गर्दै आएका ४३ घरधुरी परिवारले अहिले जग्गा  दलाल खोजी गर्न नसके चलनचल्तीको मूल्यमा रकम फिर्ता गर्न माग गरेका हुन्।

बिक्रेता नभेटे पैसा फिर्ता गर्ने सहमति

आफूले भोगचलन गर्दै आएको जग्गाको जग्गाधनी आफू नभएको र उक्त जग्गा भूमाफियाहरूले  किर्ते कागज बनाई झुक्याएर आफूलाई बेचेको थाहा पाएपछि सिमरा रामवनका स्थानीयवासी कात्तिक ११ भित्र  जग्गा बिक्रेता खोजी गर्ने नसके  चलनचल्तीको मूल्यमा रकम फिर्ता गर्न जग्गाको अन्तिम बिक्रेता र स्थानीयवासीबीच सहमति भएको थियो।

‘हामीसँग जग्गाको लालपुर्जा छ। तिरो तिरेको रसिद छ। तर,  यो जग्गा हाम्रो होइन रे’ स्थानियवासी जमुना तमाङले भनिन्, ‘यो हाम्रो  लालपुर्जा र तिरो तिरेको रसिद नक्कली हो भने मालपोत कार्यालय पनि नक्कली हुनुपर्‍यो। हामी गरिब जनताको सक्कली लालपुर्जा पनि नक्कली कसरी भयो?’ तमाङले भनिन्

आफूले खरिद गरेको जग्गा अदालतले किर्ते भनी ठहर  गरेपछि सुकुम्बासी  बनेका रामवनका स्थानीयवासीहरूले भूमाफियाको खोजी गरी आफ्नो रकम फिर्ता गर्न  दबाब दिएका हुन्।

पीडितहरूले जग्गाको अन्तिम बिक्रेता बाबुराम ढकाल, सञ्जुकुमार आचार्य र ईश्वर श्रेष्ठलाई उक्त जग्गाको भोगचलन कायम गराउन  नसके  चलनचल्तीको मूल्यमा  रकम फिर्ता  गराउन दबाब दिएका हुन्। जनप्रतिनिधिको रोहबरमा शनिबार  साँझसम्म  स्थानीयवासी र जग्गाको अन्तिम बिक्रेताहरूबीच  भएको सहमतिमा महिना  दिनभित्र  जग्गाको भोगचलनका लागि पुर्जा फुकुवा नभए रकम फिर्ता गर्नेगरी  सहमति भएको छ। 

‘जग्गाको अन्तिम बिक्रेता ईश्वरकुमार श्रेष्ठ र बाबुराम ढकाललाई जग्गा दिने धुव्रप्रसाद घिमिरे, देवराज पन्त र  कौशल के.सी तीन जनालाई आजको मितिले १ महिना दिनभित्र उपस्थित गराई जग्गा सदर गर्ने प्रकियामा सक्रिय बनाई विवादित समस्या समाधान गर्नेछौ’ सहमतिमा  उल्लेख गरिएको छ, ‘कुनै कारणवश तोकिएको महिनादिनभित्र जग्गा बिक्रेता घिमिरे,पन्त र केसीलाई उपस्थित गराउन नसकेका खण्डमा स–साना जग्गा खरिद गर्नेहरूलाई प्रचलित चलनचल्तीको मूल्य जग्गाधनीलाई बुझाउने सर्त हामी करारनामा कागज प्रमाणित गर्ने दुवै पक्षको  मञ्जुरीबाट सही छाप गरिदियौँ।’

सो  सहमतिपत्रका  जितपुर सिमरा उपमहानगरपालिका  वडाध्यक्षहरू तिलकबहादुर श्रेष्ठ, जगन्नाथ घिमिरेसहित स्थानीयवासीहरूले हस्ताक्षर गरेका छन्। 

सबैसँग छ रसिद र धनीपुर्जा

२०६६ सालदेखि  बेचबिखन शुरुभई हाल ४०  घरधुरी स्थानियबासीको बसोबास रहेको सो ठाँउमा ७ बिगाह  १७ कठ्ठा १० धुर जग्गा रहेको छ। स्थानीयवासीहरूले एक दशकदेखि भोगचलन गर्दै आएको सो जग्गाको  जग्गाधनी पुर्जा र तिरो तिरेको रसिद सबैसँग छ।

अदालतको फैसला र विवाद  

ललितपुर उपमहानगरपालिका-२ सानेपा बस्ने  लक्ष्मी राणाको  नाममा रहेको सो जग्गा ललितपुर-२  निवासी सरोजशमशेर राणाले लक्ष्मी राणाबाट अख्तियार वारेसनामा लिएर बेचबिखन गर्दै आएका थिए।

तर, लक्ष्मी राणाकी बुहारी करुणा राणाले आफ्नी सासूले सरोज शम्शेरलाई त्यस्तो वारेसनामा नदिएको भन्दै ललितपुर जिल्ला अदालतमा  मुद्दा दायर गरेपछि, अख्तियार वारेसनामाको सो कागत किर्ते भएको र सोही आधारमा जग्गा बेचबिखन भएको भन्दै अदालतले त्यो जग्गा पुनः लक्ष्मी राणाको नाममा कायम रहने फैसला गरेपछि यो विवाद बाहिरिएको थियो।

भूमाफिया हैन स्थानीय हुँ : अन्तिम बिक्रेता श्रेष्ठ

हाल सो जग्गाको पाँचौँ, छैटौँ चरणमा बेचबिखन भइसकेको छ। जग्गाको अन्तिम बिक्रेता ईश्वर श्रेष्ठले आफूहरू भूमाफिया नभएर स्थानीयसरह पीडित भएको दावी गरेका छन्।

‘हामी पनि उहाँहरू जस्तै पीडित हौँ, उहाँहरूले हामीसँग लिनुभयो हामीले धुव्रप्रसाद घिमिरे, देवराज पन्त र कौशल केसीसँग लिएका हौँ’ श्रेष्ठले भने, ‘यो जग्गाको विवाद सुल्झाउन मैले व्यक्तिगत रूपमा लाखौँ रुपयाँ खर्चिसकेको छु।’

एक लाखमा किनेको जग्‍गा १२ लाख पुग्‍यो

२०६६ सालमा प्रतिकठ्ठा १ देखि  डेढ लाख रुपैयाँसम्म हालेर पीडितहरूले किनेको सो जग्गाको मूल्य हाल  प्रतिकठ्ठा १० देखि १२ लाख पुगेको छ।

११ वर्षदेखि स्थानीयवासीले  किनेर भोगचलन  गर्दै आएको तर विवादमा परेको ती कित्ता बेचबिखन गर्न नपाउने गरी हाल जितपुर सिमराले मालपोत कार्यालयमा पत्राचार गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.