|

तनहुँ : वेवारिसे गाई संरक्षणका लागि स्थापना गरिएको केन्द्र संकटमा पर्दै गएको छ। शुक्लागण्डकी नगरपालिकाले सञ्चालनमा ल्याएको संरक्षण केन्द्र संकटमा परेको छ। केन्द्र स्थापना भएको एक वर्षमा क्षमताभन्दा तेब्बर बढी गाई राख्नु पर्दा संकटमा परेको नगरपालिकाले जनाएको छ।

जिल्लाका साथै अतिरिक्त छिमेकी कास्कीबाट समेत सडकमा छाडिएका र घरमा पालिएका गाई गोरु केन्द्रमा ल्याएर छोडिने भएकाले व्यवस्थापनमा कठिनाई भएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले बताए। वेवारिसे पशुलाई नगरपालिकाको बजेटले मात्रै धान्न नसक्ने हुँदा केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि सवै पक्षले आवश्यक सहयोग गर्नुपर्ने गुरुङले बताए।

स्थानीय सरकारसँगै नागरिक समाज, विश्व हिन्दु महासंघ र उद्योग वाणिज्य संघले केन्द्र सञ्चालनमा सहयोग पुर्‍याउन आग्रह गरिएको उनले बताए। शुक्लागण्डकी ९ घारीमा सञ्चालन भइरहेको संरक्षण केन्द्रमा धेरै गाई गोरु भएकोले चरन क्षेत्र र पराललगायत खाद्यान्नको समस्या देखिएको केन्द्रकी संयोजक गीता महतले जानकारी दिइन्।

‘वेवारिसे पशु चौपायाको संरक्षणका लागि स्थापना गरिएको केन्द्रमा घरघरबाट समेत गाई ल्याएर छोड्दिने हुँदा समस्या भएको छ’, उनले भनिन्,‘खान्की अभावले गाईहरू दैनिक मर्ने गरेका छन्। तर पनि संख्यात्मक रूपमा भने कम भएको छैन।’

जिल्लाको शुक्लागण्डकी नगरपालिकाका सडकमा अस्त-व्यस्त रूपमा छाडा पशु चौपायाकै कारण सडक दुर्घटना बढ्नुका साथै स्थानीयको बाली खाइदिने समस्या भएपछि नगरपालिकाले गत वर्षको फागुनदेखि गौ संरक्षण केन्द्र सञ्चालनमा ल्याएको हो।

नगरपालकाले गौ संरक्षण गरिदिएपछि गाई पाल्न छाड्ने र आम्दानी बढी हुने जर्सी गाई पाल्न थालेकोले स्थानीय गाई छाड्ने क्रम बढ्दा केन्द्र सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ।

संरक्षणले गर्दा सडकमा जथाभावी पशुचौपाया हिँड्दा, बस्दा हुन सक्ने सवारी दुर्घटना र सडक जाम जस्ता समस्यालाई हटाउन सहज भएको छ। नगरपालिकाको १७ लाख र बाँकी स्थानीयलागत सहभागितामा २१ लाख रुपैयाँको लागतमा गौ संरक्षण केन्द्र स्थापना गरिएको हो। बलिया गाईलाई दुईजना हेरालुले चराउन लैजाने चर्न नसक्ने गाईलाई दैनिक १५ हजार रुपैयाँको पराल किनेर खुवाउने गरेको नगरपालिकाले जनाएको छ।

‘४५ हजारमा तराईबाट ल्याएको एक ट्रक पराल दुई दिनलाई पनि पुग्दैन। पेटभरी खुवाउन नसक्दा गाई, गोरु दुम्बाउँदै गएका छन्। संरक्षण खर्चिलो भएको छ’, नगर प्रमुख गुरुङले भने, 'पोखरा महानगरपालिका क्षेत्रबाट पनि धपाएर दिनहुँ गाई पठाउने गरेकोले संख्या बढ्छ। खर्च पनि बढ्ने गरेको छ।’

स्थानीय गाइको मुत्रबाट आयुर्वेदिक औषध बनाउन सकिने हुँदा पतञ्जली योगपीठ र आचार्य बालकृष्णसँग दुईपटक छलफल र अन्तरक्रिया गरिसकिएको केन्द्रले जनाएको छ। गौ संरक्षण क्षेत्रमा हाल करिव ४०० छाडा गाइगोरु छन्। तीमध्ये धेरै संख्यामा जोत्न नसकेपछि छाडिएका बुढा गोरु रहेको केन्द्रले जनाएको छ। 

पशुचौपायलाई व्यवस्थापन गर्दा भने सवारी दुर्घटनामा न्यूनीकरण भएको उनले बताए। बजार क्षेत्रमा गोबरको दुर्गन्ध पनि नहुने र बजार क्षेत्रभन्दा बाहिर नागरिकले लगाएको बालीनाली खाएर नोक्सानी गर्ने समस्यालाई हटाउन टेवा पुगेको छ।

धार्मिक पर्यटकीय क्षेत्रको विकास गरी स्थानीय गाईबाट आम्दानी लिन सकिने लक्ष्य लिएर केन्द्र स्थापना गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.