|

चितवन : चितवन मेडिकल कलेजले आन्दोलनरत विद्यार्थीलाई आन्दोलन स्थगित गरी नियमित पठनपाठनमा फर्किन आग्रह गरेको छ। कलेजले शनिबार प्रेस विज्ञप्ति जारी गरी सरकारसँग भएको दुईबुँदे सहमतिअनुसार अघि बढ्न आफूहरू तयार रहेकाले विद्यार्थीलाई आन्दोलन स्थगित गर्न आग्रह गरेको हो।

मंसिर १० गते शिक्षा मन्त्रालयमा भएको दुईबुँदे सहमति कार्यान्वयन गर्ने चरणमा कलेज अघि बढेको समेत जनाएको छ। निरन्तरको आन्दोलनले आजित बनेको मेडिकल कलेज केही लचिलो पनि देखिएको छ। विद्यार्थीको असहयोगका कारण सरकारसँगको सहमति कार्यान्वयन समस्या भइरहेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकार हामी सबैको अभिभावक हो। सरकारले दिएको अनुमतिबाट चलेका हामी कलेजहरू उसले दिने निर्देशन, गर्ने नियमन र सहमतिभन्दा बाहिर जान सक्ने कुरा भएन। यो तथ्यलाई आत्मसाथ गरी नियमित शैक्षिक क्रियाकलापमा सहभागी भई शैक्षिक, प्रशासनिक र प्राज्ञिक कार्य सञ्चालनमा सहयोग गर्न अपिल गर्दछौँ।’

शैक्षिकवर्ष २०७५/०७६ (प्रथम वर्ष) र २०७४/०७५ (दोस्रो वर्ष) को एमबिबिएस र बिडिएस अध्ययनका लागि सरकारले उपत्यका बाहिर तोकेको ४२ लाख ४५ हजार र  १९ लाख ३२ हजार ६ सय १२ शिक्षण शुल्कमध्ये पचास प्रतिशत पहिलो किस्ताको शुल्क २१ लाख २२ हजार ५ सय र ९ लाख ६६ हजार ३ सय ६ लिइसकिएको छ।

त्यसबाहेक केही अतिरिक्त शुल्क तिरिसकेकाको हकमा पहिलो किस्ताको शुल्कमा, त्रिविरजिष्ट्रेसन शुल्क, काउन्सिल रजिष्ट्रेसन शुल्क, सम्बन्धित निकायले तोकेबमोजिमको रकम समेत जोडेर अन्य बाँकी हुन आउने रकम आगामी किस्तामा समायोजन गरिने कलेजले जनाएको छ।

यस्तै, कलेजमा सञ्चालित स्नातक तहका अन्य कार्यक्रमहरू (नर्सिङ, पब्लिक हेल्थ, बिफार्मेसी, बिएमएलटी, बिएमआईटी) का हकमा त्रिभुवन विश्वविद्यालय तथा सम्बन्धित निकायले सम्बन्धन प्राप्त मेडिकल कलेजका लागि तोकेको भन्दा बढी लिएको शुल्क समायोजन वा फिर्ताको प्रक्रिया अगाडि बढाइएको पनि कलेजले जनाएको छ।

केही लचिलो

विद्यार्थीको निरन्तरको आन्दोलनले मेडिकल कलेज केही लचिलो बनेको छ। कलेजले सरकारसँग भएको दुईबुँदे सहमतिभन्दा माथि उठेर शुल्क समायोजन गर्ने प्रतिबद्धता पनि जनाएको छ। शैक्षिक वर्ष २०७२/०७३ र २०७३/०७४ को हकमा विश्वविद्यालय तथा सम्बन्धित निकायको समन्वयमा अध्ययन, छलफल र छानबिन गरि चिकित्सा शिक्षा आयोगले आवश्यक कार्य गरिरहेको हुनाले उक्त आयोगको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउदै आन्दोलन स्थगित गर्न आग्रह गरेको छ।

साथै, सरकारसँग भएको दुईबुँदे सहमति र त्यसभन्दा पनि अगाडि बढेर चितवन मेडिकल कलेजले अन्य शैक्षिक कार्यक्रमहरूमा समेत शुल्क समायोजन गर्ने प्रतिबद्धता मात्रै नभई कार्यान्वयन गर्ने चरणमा आएको विज्ञप्तिमा उल्लेख छ।

मेडिकल कलेजले विद्यार्थीबाट गैरकानुनी रूपमा लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै देशैभरका मेडिकल शिक्षा अध्ययनरत विद्यार्थी विगत तीन महिनाभन्दा लामो समयदेखि आन्दोलनमा रहेका छन्। पछिल्लो समय सरकार र मेडिकल कलेजबीच भएको सहमतिप्रति पनि असहमति जनाउँदै विद्यार्थीले आन्दोलनलाई जारी राखेका छन्।

उनीहरूले बोर्ड परीक्षा नै बहिस्कार गरेर आन्दोलनलाई निरन्तरता दिइरहेका छन्। विद्यार्थी सबै संकायको बढी शुल्क समायोजन वा फिर्ता गर्नुपर्ने मागमा अडिग देखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.