|

ताप्लेजुङ : ‘पुसे मेला भेटभाको बेला, माया लाउनु नि लै लै धानै नाचेर’ लोक गायक तथा संकलन खगेन्द्र यक्सोको चर्चिच गीत हो। यो गीतमा भनिएजस्तै तत्कालीन मेची र कोशीको लिम्बू समुदाय बाहुल्य क्षेत्रमा लाग्ने मेलामा लिम्बूको सांस्कृतिक नाच धान नाच्ने प्रचलन छ। यही नाच नाचेर युवायुवती प्रेममा पर्ने र विवाह समेत गर्ने प्रचलन थियो।

बर्खायाममा लगाएको खेतीपाती थन्काएपछि फुर्सदिला बनेका यहाँका स्थानीयहरु पुस र माघभरी विभिन्न मेलाहरुमा रमाइलो गर्ने प्रचलन छ। यो अवधिमा चासोक तङनाम, पुसे मेला, माघे मेलालगायत विभिन्न मेला लाग्ने गर्दछ। यस्ता मेलाहरु तीनदेखि पाँच दिनसम्म लग्दछ। 

टाढा–टाढाकोे साथीसँग भेटघाट, सोल्टी सोल्टेनीको ठट्टा यस्ता मेलाका मुख्य विषेशता हुन्। पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा लगायतका स्थानमा प्रायः मेला लाग्ने गर्दछ। ताप्लेजुङमा ४५ वर्षदेखि लाग्दै आएको पुसे मेला अहिले पनि जारी छ। तमोर र मैवा खोलाको संगमस्थलमा लाग्ने यस मेला धान नाच, स्थानीय उत्पादनको बिक्रीका साथै विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमका आयोजना गरिन्छ।

मेलाको आकर्षणका लागि हान्द्रुङदेखि दोभानसम्मको र्‍याफ्टिङ, कृषि उपजहरू, सांस्कृतिक झाँकी हुन्।  खाद्य परिकार, फुटबल तथा भलिबल प्रतियोगिता मेलामा दर्शक भुलाउने माध्यम बनेका छन्। सांस्कृतिक कार्यक्रममा प्रमोद खरेल, ज्योति मगर, याङ्की ह्योल्मू, भरतमणि पौडेल आदिले प्रस्तुति दिइसकेका छन्। 

मैवाखोलाको पुलमा आवतजावत गर्नेहरुले सुरक्षाकर्मीहरुलाई धौधौ बनाएका छन्। युवायुवतीहरू एकापसमा हात समाएर धान नाच्ने, मन माझामाझ गर्ने र मिले विवाह गर्ने क्रम यो वर्ष पनि चल्यो। तमोर र मैवालाई साक्षी राखे जीवन सुखमय हुन्छ भन्ने विश्वास युवायुवतीमा छ। 

मुलुकमा सशस्त्र द्वन्द्व चलेका बेला दुई वर्ष मेला नलागे पनि त्यसबाहेक बर्सेनि मेला नरोकिएको पुसे मेला बजार व्यवस्थापन समितिका संयोजक हेम चोङबाङले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.