|

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका चार महिनामा नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको उल्लेख गरेको छ। यस अवधिमा कूल वस्तु निर्यात २३.०९ प्रतिशतले वृद्धि भई ३६ अर्ब २८ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो।

गन्तव्यका आधारमा भारततर्फ ४५.०६ प्रतिशतले वृद्धि भएको छ। चीन तथा अन्य मुलुकतर्फ भने निर्यात घटेको छ। गत वर्षको यसै अवधिको तुलनामा चालू आवको कात्तिक मसान्तसम्म चीनतर्फ छ प्रतिशत र अन्य मुलुकतर्फ ४.७ प्रतिशतले निर्यातमा कमी आएको हो।

भारततर्फ नेपालको तेल, अलैँची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, आयुर्वेदिक औषधिलगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुसलगायतका वस्तुको निर्यात घटेको छ। राष्ट्र बैंकको आव २०७६/०७७ का चार महिनाको वित्तीय स्थितिअनुसार कूल वस्तु आयात ६.९ प्रतिशतले घटेर चार खर्ब ५० अर्ब ३० करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस प्रकारको आयात ३५ दशमलव शून्य आठ प्रतिशतले बढेको थियो। अन्य मुलुकबाट १०.०९ प्रतिशतले घटेको छ भने चीनतर्फ भने १२.०८ प्रतिशतले बढेको छ। आयाततर्फ कच्चा पाम तेल अन्य मेसिनरी तथा पाटपुर्जा, हटरोल सिट, विद्युतीय उपकरण, विद्युतीय सामानलगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, हवाईजहाज तथा पार्टपुर्जा, सिमेन्टलगायतका वस्तुहरुको आयात घटेको छ।

त्यसैगरी आव २०७६०/७७ को चार महिनासम्ममा कूल वस्तु व्यापार घाटा ८.९ प्रतिशतले सङ्कुचन भई रु चार खर्ब १४ अर्ब दुई करोड रहेको छ। गत वर्षको सोही अवधिमा व्यापार घाटा ३७.०८ प्रतिशतले वृद्धि भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.