|

म्याग्दी : मालिका गाउँपालिकाले गर्भवतीको स्वास्थ्य र पोषणा अवस्थामा सुधार ल्याउन ‘घर–घरमा झण्डा, हात–हातमा अण्डा’ अभियान सुरु गरेको छ। गर्भवती र सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यलाई लक्षित गरी गाउँपालिकाको सबै वडामा ‘उपाध्यक्षसँग गर्भवती भेटघाट कार्यक्रम’ कार्यान्वयनमा ल्याएको हो।

मंगलवार मालिका–२ रुमबाट अभियानको औपचारिक रुपमा सुरुवात गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिइन्। वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडाभित्र रहेका गर्भवतीहरुलाई घरघरमा राख्नका लागि हरियो झण्डा र पोषणको लागि अण्डा वितरण गरिएको थियो।

कार्यक्रममा वडा नम्बर २ मा रहेका ४९ जना गर्भवतीलाई गाउँपालिकाका उपाध्यक्ष बिटालु, वडाध्यक्ष नरबहादुर पुन, कार्यपालिका सदस्य गौमती चापागाई, स्वास्थ्य संयोजक सन्तु कार्कीलगायतले झण्डा र अण्डा वितरण गरेका थिए। एक जना गर्भवती महिलालाई एक क्रेट अण्डा प्रदान गरिएको थियो। 

गाउँपालिकाले चालु आर्थिक वर्ष स्वास्थ्य र सरसफाइमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यसै कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र रहेका प्रत्येक गर्भवतीको घरघरमा सन्देश प्रवाहका लागि हरियो झण्डा र पोषणको लागि अण्डा पुर्‍याउने गाउँपालिकाले जनाएको छ। गर्भवतीको घरघरमा राखिएको हरियो झण्डामा पेटमा बच्चा हुर्कंदै गरेको लोगो समेत राखिएको छ। गर्भवतीलाई हौसला र प्रोत्साहनसँगै सरोकारवालालाई संवेदनशील बन्न र पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष बिटालुले बताइन्।

कार्यक्रमले गर्भवतीलाई स्वास्थ्य र पोषणप्रति सचेत गराउनुका साथै स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयं सेविकाहरुसँग घुलमिल गराउन सहयोग पुग्ने स्वास्थ्य संयोजक कार्की बताउँछिन्। गाउँपालिकाले गर्भवती महिला लक्षित भेटघाट कार्यक्रमसँगै सुत्केरी महिलालाई घरघरमा कोसेली पुर्‍याउने, बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई प्रोत्साहन पुरस्कार दिने, जटिल प्रसूतिको अवस्था आएमा दरबाङदेखि बाहिर लैजानुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने योजनालाई समेत कार्यान्वयनमा जुटेको जनएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.