|
फाइल फोटो

काठमाडाैं  :  पार्टी भित्रको विवादलाई समाधान गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टी उपसभापति विमलेन्द्र निधिबीच पौडेलको निवास बोहोराटारमा भेटवार्ता भएको छ। पार्टीको विवाद समाधानको विषय र आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनबारे छलफल गर्न सोमबार निधि पौडेल निवास पुगेको केन्द्रीय सदस्य हृदयराम थानीले जानकारी दिए। 

‘पार्टीमा बढेको विवाद र राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न भनेर निधिजी बोहोराटार आउनुभएको थियो,’ थानीले थाहाखबरसँग भने, ‘निधिजीले अब मिलेर जानुपर्छ भन्नुभएको थियो। तर, वरिष्ठ नेता पौडेलले खासै जवाफ फर्काउनु भएन।’ 

निधिसँग खुलेर कुरा नगरेका पौडेलले निधिसँग अहिले पार्टीमा जे भइरहेको छ सोहीअनुसार नै अघि बढ्न आग्रह गरेको बताइएको छ। राष्ट्रियसभाको निर्वाचन र केन्द्रीय समितिको बैठकबारे निधिसँग पौडेलले के कुरा गर्नु भयो भन्ने प्रश्नमा थानीले भने, ‘उहाँले निधिजीको कुरामा खासै जवाफ फर्काउनुभएन। अहिलेसम्म पनि गर्नु भएकै छ, अझै गर्नुस् मात्रै भन्नुभयो।’   

पार्टी सभापति शेरबहादुर देउवाले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनबारे छलफल गर्न यही हप्ताभित्र केन्द्रीय कार्यसमितिको बैठक डाक्ने तयारी गरेका छन्। निधिले पौडेलसँग राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार तय गर्ने र समाजवादी दलसँग तालमेल कसरी गर्न सकिन्छ भन्नेबारे पनि छलफल गरेको बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.