|

काठमाडौंः काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्वयम्भूलाई पर्यटक हवका रुपमा विकास गर्ने बताएका छन्। प्रमुख शाक्यले नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर बुधबार सुरु भएको सप्ताहव्यापी स्वयम्भू साँस्कृतिक कार्यक्रमको शुभारम्भ गर्दै यस्तो बताएका हुन्।

महानगरपालिकाका प्रमुख शाक्यले काठमाडौँ महानगर क्षेत्रभित्रै विश्व सम्पदा सूचीमा सूचीकृत चारवटा सम्पदा क्षेत्र रहेको भन्दै ती क्षेत्रको प्रवर्द्धनका लागि पनि यस्ता महोत्सव र साँस्कृतिक कार्यक्रमले थप सहयोग पुग्ने बताए।

‘विश्व सम्पदा सूचीमा सूचीकृत हनुमान ढोका दरबार क्षेत्र र स्वयम्भूको दूरी करिब २.२ किलोमिटर मात्रै छ’, उनले भने,' ‘यी दुई सम्पदालाई जोड्ने गरी हामीले हनुमान ढोकादेखि स्वयम्भूसम्मको पदमार्ग निर्माणका लागि गुरुयोजना तयार पारिसकेका छौँ। यसलाई मूर्तरुप दिने प्रक्रियाको समेत थालनी भएको छ।’

प्रमुख शाक्यले नेपाल भ्रमण वर्ष २०२० शुरु भएको भन्दै महानगरपालिकाले यसलाई वर्षभरि नै मनाउने र नेपाल घुम्न आएका पर्यटकको बसाई लम्ब्याउन नयाँ-नयाँ योजना ल्याउने पनि बताए।

‘हामीले आजै हनुमानढोका दरबार क्षेत्र प्रवेश गर्ने पर्यटकलाई स्वागत गरेका छौँ’, उनले भने, ‘नेपाल घुम्न आउने पर्यटकलाई मुस्कानसहितको सेवा प्रदान गर्ने, नेपाल चिनाउने केही उपहार दिएर पठाउने जस्ता योजना पनि हामीले बनाएका छौँ।’

पर्यटकलाई आकर्षित गर्न महानगर क्षेत्रको सरसफाइमा ध्यान दिने, बाँकी रहेका सम्पदा पुनर्निर्माणको कामलाई द्रूत गतिमा सम्पन्न गर्ने जस्ता कुरामा पनि महानगरपालिकाले ध्यान दिने शाक्यको भनाइ छ।

नेपाल भ्रमण वर्ष २०२० लाई नै केन्द्रीत गरेर काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा अभियानलाई प्रभावकारी रुपमा अघि बढाएको उनले प्रष्ट पारे। ‘नेपाल घुम्न आएका पर्यटक फर्किएर आफ्नो देश जाँदा एक पटक नेपाल घुम्न जानुपर्छ है भन्ने सन्देश लिएर जान सकुन् भन्ने वातावरण बनाउने गरी लागिरहेका छौँ', उनले भने।

काठमाडौँ क्षेत्र नम्बर–८ बाट निर्वाचित संघीय सांसद जीवनराम श्रेष्ठले नगरका मूर्त-अमूर्त सम्पदा संरक्षणका लागि काठमाडौँ महानगरपालिका र सरकारले सकारात्मक पहल गरिरहेको बताए। उनले काठमाडौँ महानगरले साँस्कृतिक शहरको पहिचानलाई अझै उच्चो बनाउँदै पर्यटकलाई थप आकर्षित गर्ने गरी अघि बढ्नु पर्ने  बताए। उनले भने, ‘नेपाल भ्रमण वर्ष २०२० हाम्रा लागि अवसर पनि हो। यसलाई अब एक वर्ष मात्र होइन कम्तीमा आठ/दश वर्षसम्म अभियानकै रुपमा अघि बढाउनुपर्छ।’

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेपाल प्रहरी र काठमाडौं महानगरपालिका १५ को आयोजनामा यस्तो भव्य महोत्सव आयोजना भएको भन्दै खुशी व्यक्त गरे। महानगरपालिकाका प्रवक्ता तथा १५ नम्बर वडाका वडाध्यक्ष ईश्वरमान डंगोलले एक सातासम्म चल्ने महोत्सवमा विभिन्न सांस्कृतिक पहिचान झल्कने कार्यक्रम हुने बताए।

‘आधा घन्टा नबस्ने पर्यटक २/३ घन्टा बस्ने र वसन्तपुर क्षेत्रमा आएका पर्यटकलाई स्वयम्भू ल्याउने योजनासाथ यो कार्यक्रम गरेका हौँ’, उनले भने, ‘स्वयम्भू आउने पर्यटक थोरै समय बस्छन्। छोटो समय बस्ने पर्यटकले स्वयम्भूका बारेमा खासै जानकारी नपाउने भएकाले छोटो समय बस्ने पर्यटकले धेरै जानकारी पाउने गरी भिडियो, फोटो प्रदर्शनी र डकुमेन्ट्री देखाउने तयारी पनि गरिएको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.