|

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष २०२० को शुभारम्भ गरेको छ। सुर्खेतको बुलबुले तालमा एक समारोहको आयोजना गर्दै प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भ्रमण वर्षको शुभारम्भ गरेका हुन्।

कर्णालीमा धार्मिक, प्राकृतिक, सांस्कृतिक तथा रमणीय पर्यटकीय सम्पदा भएकाले पर्यटन उद्योगको सम्भावना रहेको भन्दै मुख्यमन्त्री शाहीले प्रचार प्रसारको अभाव रहेको बताए। कर्णाली सरकारले पनि एक वर्ष अगाडि नै कर्णाली रारा भ्रमण वर्ष घोषणा गरिसकेको  स्मरण गर्दै पर्यटन उद्योगको विकासको जग बसालेको बताए। 

कर्णालीका विकासको लागि कृषि र पर्यटन प्रमुख आर्थिक क्षेत्र नै भएकाले सोही अनु सार प्राथमिकता दिनु पर्ने अवस्था रहेकोले सोही अनुसार कणाली सरकारले काम गरिरहेको बताए। पर्यटन उद्योगको विकासको लागि पूर्वाधार विकासमा पनि उत्तिकै ध्यान दिनु पर्ने भएकाले प्रदेश सरकारले सोही अनुसार काम भइरहेको जानकारी दिए।

कर्णाली अहिले पनि विकट क्षेत्रको रुपमा रहेकोले पर्यटक आगमनमा पनि समस्या रहेको भन्दै  कर्णालीमा पर्यटक प्रकृतिसँग रमाउन, संस्कृतिसँग साक्षात्कार हुन्  र अनुसन्धान गर्नको लागि आउनु पर्ने ठाउँ भएको बताए।

मुख्यमन्त्री शाहीले कर्णालीले पर्यटन क्षेत्रबाट नै अहिले भरपूर फाइदा लिन सक्ने अवस्था नभए पनि प्रचार र सन्देश दिनको लागिकाम गर्नुपर्ने बताए। कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष २०२० का लागि छुट्टै लोगो सार्वजनिक गरेको छ। भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री प्रदेश शाहीले लोगो सार्वजनिक गरेका हुन्।

खुला प्रतिष्पर्धाबाट गणेश आचार्यले बनाएको कर्णाली प्रदेशको भ्रमण वर्ष २०२० को लागालाई छनोट गरेको हो। यसैगरी विदेशी पर्यटकलाई स्वागत पनि गरिएको छ। साथै नेपाली सेनाको हेलिकप्टरले पुष्पबृष्टि गरिएको थियो। सागमा कर्णालीबाट पदक जित्ने खेलाडीलाई सम्मान पनि गरिएको छ।

भ्रमण वर्षको शुभारम्भमा प्याराग्लाइडिङ पनि उडाइएको छ। दुईजना विदेशी र दुई नेपालीले प्याराग्लाइडिङ उडाएका हुन्। कर्णाली प्रदेशले यहाँका ४० वटा पर्यटकीय गन्तव्य छनोट गरेको छ। भ्रमर्ण वर्ष २०२० मा एक लाख विदेशी पर्यटकसहित कर्णालीमा पाँच लाख पर्यटक भित्रयाउने लक्ष्य प्रदेश सरकारको छ।

स्वर्गकी अप्सराका नामले चिनिने मुगुको राराताल, डोल्पाको शे–फोक्सुन्डो, सल्यानको कुपिन्डे दह, रुकुमपश्चिमको स्यार्पुताल, सुर्खेतको बुलबुले, काँक्रेविहार र दैलेखेको पञ्चकोशी लगायत छनोट भएका हुन्। त्यस्तै भेरी र कर्णालीमा राफ्टिङ, कालिकोट स्थित ३१८ मिटर अग्लो पचालझरना, युद्ध पर्यटकीयस्थल पिली, हुम्लाको लिमी उपत्यका, खसभाषाको उद्गमस्थल जुम्लाको सिंजा, जाजरकोट दरबारलगायत ४० वटा स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा छनोट गरिएको छ।

भ्रमण वर्षलाई सफल बनाउन यहाँ कर्णालीमा आउने पर्यटकलाई विशेष छुट दिइने भएको छ। सुुर्खेतका होटल व्यवसायीहरुले पर्यटकलाई २० प्रतिशत छुट दिने भएका छन्।

होटल व्यवसायी संघ सुुर्खेतले आन्तरिक तथा बाह्य पर्यटकलाई १० प्रतिशत खाना र अवासमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ। यस्तै कर्णालीमा आउने पर्यटकले र्‍याफ्टङमा पनि छुट पाउने छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.