|

पाल्पा : जिल्लाको सदरमुकाम तानसेनमा नेवार समुुदायको संस्कृति झल्किने नेवारी भोज कार्यक्रम हुने भएको छ। तानसेन नगरपालिका–३ स्थित असनटोल टोल विकास संस्थाको आयोजनामा नेवारी भोज कार्यक्रम हुने भएको हो। 

‘संस्कृतिको जगेर्ना हाम्रो दायित्व, सुन्दर तानसेन बनाउने हाम्रो कर्तव्य’ भन्ने नाराका साथ यही पुस २६ गते असनटोलस्थित नेवा छेमा नेवारी भोज कार्यक्रम हुने शुक्रबार तानसेनमा आयोजित पत्रकार सम्मेलन संस्थाकी अध्यक्ष अनुजा बज्राचार्यले बताइन्। 

नेवारी समुदायको संस्कृति संरक्षणको लागि यो कार्यक्रम गर्न लागिएको उनले बताइन्। उनका अनुसार भोजमा सहभागी हुने अतिथिले गुन्द्रीमा बसेर सालको पातबाट बनाइएको टपरीमा खाना खान पाउने छन्। भोजमा नेवारी खानाका सबै परिकार हुने छन्। 

भोजमा सहभागी हुने अतिथिले ओमरी, मासबाट बनाइएको बारा, पाँच प्रकारका तरकारी मिसाएर बनाएको पन्चकोल, मेथीकुवा, दहि, चिउरा, कुखुराको मासुको छोइला, माछा, खसीको मासुबाट बनाइएको परिकार, अण्डा, सगुन, विभिन्न प्रकारका फलफूल मिसाएर बनाएको परिकार लगायका दर्जन बढी खाने कुराको स्वाद लिन पाउने अध्यक्ष बज्राचार्यले बताइन्।

भोजमा सहभागी हुनेले सातसय रुपैयाँ तिर्नुपर्ने छ। दिउँसो १ बजेदेखि सुरु हुने भोजमा करिब ३ सय जना सहभागी हुने आयोजकको अनुमान छ। भोजमा आन्तरिक तथा वाह्य पर्यटक समेत सहभागी हुने उनले बताइन्।

पछिल्लो समयमा नेवारी भोजको संस्कृति हराउदै गएको स्थानीय अगुवा मदनलाल बज्रचार्यले बताए। परापूर्वकालदेखि नेवारी भोजमा प्रयोग हुँदै आएका खानाका परिकारबारे युवा पुस्तालाई जानकारी दिने उद्देश्यले यो कार्यक्रम आयोजन ागर्न लागेको उनले बताए। शरीरलाई फाइदा हुने गरी सन्तुलित खाना कसरी खाने भन्नेबारे भोजमा सहभागीले  थाहा पाउने छन्। 

भोजका अवसरमा नेवारी संस्कृतिको रुपमा रहेको धिमे बाजा पनि प्रस्तुत गरिने छ। भ्रमण वर्ष २०२० को अवसरमा गरिएको महत्वपूर्ण नेवारी भोजमा सहभागी हुन संस्थाकी सचिव सुनिता थैवले आग्रह गरिन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.