|

पर्वत :

मुटु छुने लुम्लेको हावाले, 
मनै छुने लजालु मायाले,
पुनहिलैमा, फूलजस्ती सोल्टिनी बस्यौ दिलैमा... 

सांगीतिक समूह परिवेश ब्यान्डको यो गीत सुनेका सबैले लुम्लेको नाम सुनेकै छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने लुम्ले चिसो हावा चल्ने ठाउँ, नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ भएकाले भारतको चेरापुञ्जी जस्तै नेपालको चेरापुञ्जीका रूपमा पनि परिचित छ। 

त्यति मात्रै होइन, कवि तथा गीतकार विनोद गौचनको प्रयासमा २०६५ सालमा कविता गाउँको रूपमा घोषणा भएपछि साहित्य क्षेत्रमा पनि चर्चित छ। सफा, सुन्दर र चिटिक्क परेका घरहरूमा ढुंगाले छाइएका छाना, पातला मिलेका ढुंगा बिछ्याएर बनाइएका सिँढीले लुम्ले पुग्ने जो कोहीलाई लोभ्याउँछ। भनिन्छ, जो कोहीलाई पनि कविता लेखुँ लेखुँ लाग्छ।

पर्यटकीय नगर पोखराबाट सराङकोट, काँडे हुँदै ३२ किलोमिटरको यात्रापछि लुम्ले पुग्न सकिन्छ। पदमार्गको प्रयोग गर्दै दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरु हिँडिरहेका भेटिन्छन्। स्थानीय व्यापारी राधा देवकोटाका अनुसार लुम्ले गाउँको अवलोकन गर्न पुग्ने पर्यटकहरुमध्ये बाह्य बढी हुन्छन्। 

‘यहाँ त विदेशीका लाइनका लाइन हुन्छन्। उ त्यहाँ तल गाडी रोकेर यो गाउँ हेर्दै चन्द्रकोट जान्छन्। माझगाउँमा गोराहरूको क्याम्प नै छ,’ राधाले भनिन, ‘घुम्न आएका पर्यटकहरु यो डाँडा पछाडि रहेको होटेलमा गएर बस्छन्। त्यो होटेलमा पुग्न यहाँबाट डेढ घण्टा जति लाग्छ।’ तर, लुम्ले घुम्न आउने र यहाँ हुनै पदयात्रा गर्ने पर्यटकहरु भने यस क्षेत्रमा बास नबस्ने राधाले बताइन्।

पोखरामा पर्यटन व्यवसायमा संलग्न रहेका लुम्लेका चन्द्रप्रकाश देवकोटाले लुम्लेमा पर्यटकहरूलाई बास बस्ने पूर्वाधार तयार पार्ने, पुरातात्त्विक सम्पदाको संरक्षण गरे पर्यटकलाई यस क्षेत्रमा बास बसाउन सकिने बताउँछन्। पर्यटकहरु गाउँको बाटो हिँड्दैमा गाउँको समृद्धि नहुने भएकाले त्यस क्षेत्रमा पर्यटकलाई अड्याएर राख्न आकर्षण तयार हुनुपर्ने उनको भनाई छ। 

‘यो बाटो हुँदै पर्यटकहरु अर्को गाउँ गए भनेर खुसी मनाउनुको अर्थ छैन। उनीहरूको मुख हेरेर गाउँलेलाई फाइदा हुँदैन, उनीहरूलाई यहाँ बस्ने वातावरण सिर्जना गर्नुपर्छ,’ उनले भने, ‘यसको योजना स्थानीय सरकारले बनाउनुपर्छ। जन्म दर्तामा हस्ताक्षर त पहिले पनि भएको थियो। अहिलेका स्थानीय सरकारले पनि हस्ताक्षर गरेर भुल्ने होइन, कहाँ के गर्न सकिन्छ? भनेर अनुसन्धान गर्नुपर्छ।’

पोखराबाट सडक मार्ग हुँदै दैनिक सयौं पर्यटक मुस्ताङ जाने गरेका छन्। पोखरा–बागलुङ सडकखण्ड लुम्लेकै रमाइलो गाउँलाई चिरेर गएको छ। तर, मुस्ताङ आउजाउ गर्ने पर्यटकहरूले सवारी रोकेरै गाउँको अवलोकन खासै नगरेको स्थानीयहरु बताउँछन्। कविता गाउँका रूपमा घोषणा भए पनि कहिलेकाहीँ कविहरूको जमघट हुने गरेको लुम्लेलाई साहित्यिक पर्यटनको गन्तव्यका रूपमा पनि विकास गर्न सकिने सम्भावना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.