नेतृत्व निरंकुश भएको आरोप

|

काठमाडौं : पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी चलाएको भन्दै जिल्ला सभापतिहरूले मोर्चाबन्दी गरेका छन्। सभापति देउवा पार्टीको विधानविपरीत चलेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको आह्वानमा पार्टी कार्यालय सानेपामा ५० जिल्लाका सभापतिहरू भेला भएका हुन्।

पार्टी कार्यालयमा भेला भएका जिल्ला सभापतिहरूको पार्टी सभापतिलाई एउटै प्रश्न छ, ‘पार्टीको विधान मिच्ने अधिकार कसले दियो?’ ‘पार्टी विधानको धारा निलम्बन गर्दा नेताहरूको बीचमा सहमति हुन जरुरी छ कि छैन? आम कार्यकर्ताको धारणा बुझ्नपर्छ कि पर्दैन?,’ कांग्रेस धादिङका सभापति रमेश धमलाले भने, ‘यो गुटको भेला हैन पार्टीलाई जीवन्त राख्नको निम्ति छलफल डाकिएको हो।’ 

धमलाले सभापति देउवा पक्षले चुनाव हार्नेहरू भेला भएको भनेर आरोप लगाएको भन्दै प्रश्न गरे। ‘उहाँहरूले हामीलाई हार्नेहरूको भेला भन्नुभएछ। हामी यहाँ जिल्लामा स्थापित अनुहारहरू भेला भएका छौँ। उहाँहरूले केन्द्रमा हार्नेहरूको भेला भने पनि जिल्लाबाट यहाँ उपस्थित भएका साथीहरू हार्नेहरू हुन त?’ उनले भने।

‘पुस ११ को निर्णय निरंकुश’  

कांग्रेसका जिल्ला सभापतिहरूले गत पुस ११गते केन्द्रीय समितिले गरेको निर्णयहरू निरंकुश भएको आरोप लगाएका छन्। ‘भ्रातृसंस्थाहरू त्यस्तै लथालिंग भएको छ। ५० वर्षको मान्छेलाई नेविसंघको जिम्मा लगाएर हुन्छ,’ सिन्धुपाल्चोकका सभापति विकास लामाले भने, ‘अझै केही बिग्रेको छैन। पुस ११ गतेको निर्णय निरंकुश लाद्न गरेको देखिन्छ। विधानभन्दा माथि कोही हुनै सक्दैन। सभापति पनि विधानभन्दा माथि होइन।’ 

धादिङका सभापति धमलाले पनि पुस ११ गतेको निर्णय निरंकुश नै भएको दाबी गरे। ‘पुस ११को निर्णय निरंकुश निर्णय हो त्यो अविलम्ब फिर्ता हुनुपर्छ। धारा निलम्बन गर्ने अधिकार महासमितिलाई मात्रै छ,’ उनले भने, ‘धारा निलम्बन गर्ने अधिकार केन्द्रीय समितिलाई छैन । यदि धारा लिम्बन गर्नुपर्ने हो भने महासमितिको विशेष बैठक बोलाईयोस हामी त्यहाँ फेस गर्न तयार छौँ।’ 

त्यस्तै, नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले बहुमतको आधारमा पार्टीमा मनलाग्दी नचल्ने बताए। ‘नेपाली कांग्रेसको महासमितिको बैठकले पास गरेको केन्द्रीय समितिले अनुमोदन गरेको विधानको धाराहरू विशेष गरी सक्रिय सदस्यको सन्दर्भमा बनाइएका धाराहरू निलम्बन गरिएको छ,’

केसीले भने, ‘धाराहरू निलम्बन गर्ने भनेको कांग्रेसका तल्लो तहमा रहेका नेता कार्यकर्तालाई विस्थापित गर्ने उहाँहरूको तयारी हो। हामीले चाहेको पार्टी भनेको कार्यकर्ताले चाहेको नेतालाई भोली नेतृत्वमा पुर्याउन सक्ने, सबैलाई समेट्ने पार्टी निर्माण गर्न लामो छलफल गरेर हामीले विधान निर्माण गर्यौं।’

पार्टी विधानको धारा निलम्बन गर्दा पार्टीमा फरक धारणा राख्नेहरुलाई बेवास्ता गरिएको उनको आरोप छ। 

धादिङका सभापति धमलाले सरकार अधिनायकवादी चरित्र स्थापित गर्न लागेको बेला प्रमुख प्रतिपक्ष दलका सभापति एकलौटी ढंगबाट चलेको आरोप लगाए। 
‘सरकार अहिले अधिनायकवादी चरित्रलाई स्थापीत गर्न प्रेरित छ। यस्तो बेलामा नेपाली कांग्रेस आफैँ निरंकुशमा जान लागेको आभास भएको छ,’ धमलाले भने,  ‘सहमतिको आधारमा चल्नुपर्ने पार्टी एकलौटी ढंगबाट चल्ने?’ 

रोल्पाका सभापति अमरसिंह पुनले पार्टी अधिवेशन बेलैमा गर्न सभापति सच्चिनुपर्ने बताए। ‘पार्टीको अधिवेशन अर्काे वर्षको फागुनमा हुन्छ भनेर कसरी विस्वस्त हुने?’ उनले पार्टी नेतृत्वप्रति शंका गर्दै भने, ‘पार्टी एकलौटी ढंगले हाँक्छु भन्ने नेताहरु सच्चिन जरुरी छ। हामी तिनैलाई सच्याउन भेला भएकाछौँ ।’ पार्टी नीति, विधि, विधान र सिद्धान्तअनुसार चल्नुपर्ने उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.