|

बारा : निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका क्रममा काटिएका रुखको क्षतिपूर्तिबापतको वृक्षरोपणका लागि जमिन अभाव भएपछि नेपाली सेनाले खाली जमिन खोजी गरिरहेको छ।

द्रुतमार्गको ट्रयाक खोल्ने क्रममा ६ हजार ७०० र पछिल्लो समय १७ हजार ९४९ वटा रुख काटेको छ। सरकारसँगको सम्झौताअनुसार द्रुतमार्ग निर्माणका क्रममा क्षति हुने एउटा रुखको सट्टा २५ वटाका दरले १९ हजार ९४९ वटा रुख बापत सेनाले करिब पाँच लाख वृक्षरोपण गर्नुपर्नेछ। जसका लागि ३१५ हेक्टर खाली जमिन आवश्यक पर्छ। 

ललितपुर, मकवानपुर र बाराको वन क्षेत्रमा काटिएका र काटिने क्रममा रहेका रुख बापतको वृक्षरोपण सम्बन्धित जिल्लामै गरिनुपर्ने सम्झौतामा उल्लेख छ। तर‚ ललितपुर र मकवानपुरमा वृक्षरोपणका लागि खाली जमिन उपलब्ध नभएपछि बारामै पाँच लाख विरुवा रोप्ने तयारी सेनाले गरेको छ। 

मकवानपुरको राजदमार र बाराको निजगढमा ग्रिन हाउससहितको नर्सरी स्थापना गरी एक लाख ८० हजार विरुवा उत्पादन भइसकेको छ। केही संख्यामा फलफूलको विरुवा पनि रोप्ने योजना गरेको छ।

निजगढ, कोल्हवी नगरपालिका गरी वन क्षेत्रबाट वृक्षारोपणका लागि दुई चरणमा २२५ हेक्टर जमिन प्राप्त भइसकेको र १०० हेक्टर जग्गा आवश्यक रहेको नेपाली सेनाको वृक्षारोपण कार्यदलका प्रमुख सेनानी सुशीलकुमार कार्कीले जानकारी दिए। वृक्षारोपणका लागि आवश्यक थप जमिनको खोजी भइरहेको उनले जानकारी दिए।

कोल्हवी नगरपालिकाको ककडीस्थित पाँच हेक्टर अतिक्रमित जमिनमा वृक्षारोपण गरिसकिएको छ। निजगढको बकैया नागमणी सामुदायिक वन समूह क्षेत्रमा ७० हेक्टरमा वृक्षारोपणका लागि तयारी भइरहेको छ। ‘वृक्षारोपण क्षेत्रमा तारबारका लागि काम सुरु भइसकेको छ,’ टेन्डर प्रकृयाबाट असारभित्र वृक्षारोपण सक्ने अयोजनाको तयारी छ।

अतिक्रमित जग्गा फिर्ता

आयोजनाले विगतमा अतिक्रमणमा परेका वन क्षेत्र वृक्षारोपणका लागि उपयोगमा आएको छ।

अतिक्रमित जमिन स्थानीय सरकार, वन कार्यालय, वन समूहको सहकार्यमा आयोजनाले वृक्षारोपण गर्न लागेको हो। अतिक्रमित क्षेत्रमा नयाँ विरुवा रोपिने र स्थानीयले रोजगारी पाउने भएपछि त्यस क्षेत्रका स्थानीय पनि खुसी छन्।

सरोकारवालासँग छलफल

नेपाली सेनाको वृक्षारोपण कार्यदल प्रमुख सेनानी कार्कीले रुख कटान भएको क्षेत्रमा वृक्षारोपणका लागि प्राथमिकता दिइएको बताएका छन्। विभिन्न सामुदायिक वनको खाली, पर्ति र उजाड क्षेत्रमा विरुवा रोप्ने तयारी गरेको जनाए। पहिलो चरणमा नेपाली सेनाले निजगढस्थित नागमणि, कछडिया, जनहित र बाघभैरव सामुदायिक वन समूहको करिब २०० हेक्टर वन क्षेत्रमा वृक्षारोपण गर्न लागेको छ। आयोजनाले हेरालुसहित तीन महिनासम्म सिँचाइ गरेर विरुवा हुर्काउनुपर्ने छ।
 
आयोजनाले स्थानीय सरोकारवालासँग छलफल गर्दै आएको छ। आयोजनाले स्थानीय सरकार, वन कार्यालय, उपभोक्ता समितिसँग निरन्तरत छलफल गर्दै आएको हो। 

अझैं रुख कटान हुने

नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन्। सेनाले सुरुङ र पुल निर्माणका लागि पुनः करिब दुई हजार रुख कटान हुने अनुमान गरेको छ।

करिब ७७ किलोमिटर दूरीको द्रुतमार्ग निर्माणका क्रममा सडक निर्माण क्षेत्रमा पर्ने करिब ३८ हजार ६६४ रूखमध्ये २७ हजार ६९ काटिएको द्रुतमार्ग आयोजना कार्यान्वयन माहाशाखाका प्रमुख तथा प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिए। सडक निर्माणको सिद्धान्तअनुसार पहाडी क्षेत्रमा ५० मिटर र तराई क्षेत्रमा १०० मिटरसम्मका रूख काट्न वन मन्त्रालयसँग अनुमति लिइएको आयोजना कार्यान्वयन माहाशाखाका प्रमुख पहाडीले बताए।

द्रुतमार्ग निर्माणका क्रममा काटिएका रूखको व्यवस्थापनका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको सेनाले बताएको छ। वन मन्त्रालय मातहत रहेर काटिएका रूख जिल्ला वन कार्यालयमा र सामुदायिक वन मातहतमा रहेका तथा काटिएका रूख सामुदायिक वनलाई सरोकारवाला निकायको रोहवरमा बुझाइएको सेनाले बताएको छ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.