|

काठमाडौं : सगरमाथाको सफल आरोहण गरेका पर्वातारोही र ३२५ पटक नेपाल भ्रमण गरेका बर्मेली पर्यटकलाई सम्मान गरी म्यान्मारमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिएको छ। 

म्यान्मारबाट अहिलेसम्म दुईजनाले मात्र सगरमाथाको सफल आरोहण गरेका छन्। सगरमाथा आरोहीहरू पे फ्यो आङ र विनको कोले नेपाल साहसिक पर्यटनका लागि संसारकै उत्कृष्ट स्थान भएको बताए।

'म्यान्मारमा नेपाललाई बुद्ध जन्मस्थल भनेर बढी प्रचार गरिन्छ। तर त्यहाँका पहाड र हिमाल हाम्रा लागि रहस्य र रोमाञ्चकले भरिएका छन्', पे फ्यो आङले भने, 'वर्षैभरि गर्मीमा बस्ने र कहिले हिउँ नदेखेका बर्मेलीका लागि नेपालका पहाडनजिकको आकर्षक गन्तव्य हो।' ३२५ पटक नेपाल पुगेकी ड थाजिन मिन्ट आइले बुद्ध जन्मस्थल नेपालमा जाँदा प्राप्त हुने आध्यात्मिक शान्तिले आफूलाई पटकपटक नेपाल लगिरहेन बताए।

'म्यान्मारमा चार करोड ५० लाखभन्दा धेरै बौद्धमार्गी छौँ' थाजिन मिन्ट आइले भने, 'हाम्रो भगवान् बुद्धको जन्मस्थान लुम्बिनी नेपालमा पर्छ भनेर जानकारी दिन सके धेरैभन्दा धेरैलाई नेपाल पुर्‍याउन सकिन्थ्यो।'

याङ्गुनस्थित प्रसिद्ध कान्डावजी तालको छेउमा आइतबार बिहान एक हजारभन्दा धेरै बर्मेलीमाँझ नेपाल भ्रमण वर्षको प्रचार गरिएको हो। म्यान्मारका लागि नेपाली राजदूत भीमकृष्ण उदासले पर्यटन वर्षसँगै यो वर्ष नेपाल र म्यान्मारबीच दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको उपलक्ष्यमा वर्षभरि नै विभिन्न कार्यक्रम भइरहने जानकारी दिए।

याङ्गुनका मुख्यमन्त्री फ्यो मिन थेंले दौत्य सम्बन्ध स्थापना भएको ६० वर्षमात्र भए पनि गोर्खालीले सयौँ वर्षअगाडिदेखि बर्मा आएर म्यान्मार निर्माणमा सहयोग पुर्‍याइरहेको बताए। 'आजको म्यान्मार निर्माणमा गोर्खालीको योगदान कसैको भन्दा कम छैन', फ्यो मिन थेंले भने, 'नेपाल र म्यान्मारबीच नागरिकस्तरमा पनि राम्रो सम्बन्ध छ। अब भ्रमण वर्षले त्यसमा थप योगदान दिन सक्छ।'

उनले भ्रमण वर्षको उपलक्ष्यमा नेपाल सरकारले म्यान्मार नागरिकलाई भिसा शुल्क मिनाहा गरेर थप आकर्षित गर्नसक्ने बताए। कार्यक्रममा मुख्यमन्त्री फ्यो मिन थेंले नेपाल भ्रमण वर्षका सद्भावना राजदूत म्यान्माररी अभिनेत्री उन उन, उद्योगपति अएक टुन र समाजसेवी ड नी नीलाई सम्मानपत्र प्रदान गरेको थियो।

नेपाली दूतावासले कार्यक्रममा उपस्थित सात सयभन्दा धेरैलाई भ्रमण वर्ष अंकित टिसर्ट निःशुल्क उपलब्ध गराएको थियो। कार्यक्रमको सञ्चालन नेपाली मूलका बर्मेली प्रवीणहरि प्रधानले गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.