|

  • पेमा लामा-

धुलिखेल : मध्य नेपाल (मध्यमाञ्चल) का विभिन्न जिल्लाबाट एक वर्षभित्रमा २ हजार ८३ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ। आयोगको मध्यमाञ्चल क्षेत्रीय कार्यालया हेटौँडाले सोमबार काभ्रेको धुलिखेलमा आयोजित जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी गराएको हो।
आयोगका उप-सचिव नरेन्द्रप्रसाद भट्टराईले प्रतिवेदन प्रस्तुत गर्दै सदाचार, निष्पक्षता र निर्भिकतामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलेको भूमिकाबारे जानकारी दिए। उनले राज्यको कुनै पनि कार्यालयबाट हुने सेवाप्रवाहको अवस्थामा आयोगले खेलिरहेको भूमिकामा कमी आउन नदिन निगरानी गरिरहेको बताए।

जिल्लास्थित सबै सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थितिमा भएको कार्यक्रममा भट्टराईले आर्थिक वर्ष २०७२/०७३ को असार मसान्तसम्ममा २ हजार ८३ वटा उजुरी परेको जानकारी दिए । ‘उजुरी परेकामध्ये १ हजार ४ सय १० वटा फछ्र्यौट भएको छ र ६ सय ७३ वटा बाँकी छ,’ भट्टराईले भने, ‘त्यसको न्युनिकरणको सवालमा सबैभन्दा बढी जिम्मेवारी कार्यालय प्रमुखहरुले पनि बुझाउने निवेदन र आवश्यक कागजातमा भर पर्छ ।’ 

त्यसरी परेका उजुरीमध्ये सबैभन्दा बढी शिक्षामा ७ सय ७५ रहेको जानकारी दिइयो। त्यसमध्ये ४ सय ६१ वटा फछ्र्यौट भएको छ। यसैगरी संघीय मामिला तथा स्थानीय विकासमा ६ सय १३ वटामध्ये ३ सय ९४, भूमि सुधार तथा व्यवस्थापनमा १ सय ४३ मध्ये १ सय १९ र वन तथा भू–संरक्षणमा १ सय २ वटामध्ये ८३ वटा उजुरी फछ्र्यौट भएको भट्टराईले बताए।

साथै उनले अख्तियारको चिठ्ठी आउँदैमा आत्तिने अवस्था देखिएको भन्दै यसलाई सामान्यरुपमा लिन आग्रह गरे। ‘हामीले सत्य के हो, त्यो बुझेर मात्रै प्रक्रिया अगाडि बढाउँछौँ, जसका लागि गोपनियता आवश्यकता छ, त्यसमा यहाँहरुले पनि बुझिदिनुहोला,’ उप–सचिव भट्टराईले भने।

सो अवसरमा सरोकारवालाहरुले एक्कासी पत्र काटेर उपस्थित हुन ठाडो आदेश दिनुभन्दा सम्झाएर अनुरोधका साथ बोलाउन अख्तियारलाई सुझाव दिए। कर्मचारीहरुको व्यवहारका कारण नै उजुरीको संख्यामा वृद्धि भएको उनीहरुको ठहर थियो।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रमुख मित्रलाल रेग्मीले भ्रष्टाचारसम्बन्धी विषय अख्तियारको मात्र ठेक्का हो भन्ने धारण देखिएको भन्दै यसलाई सबैले मनन गर्नुपर्ने बताए। ‘यस्तो कुरा राष्ट्रसेवक कर्मचारीहरुलाई सधैँ भनिरहनु पर्दैन। कर्तव्य सबैको हो। जागिर खाने बेलामा नै सपथ खाएका छौं, त्यहीअनुसार काम गर्नुस्,’ रेग्मीले भने– ‘सामान्य कुरामा पनि विचार गरेरमात्र काम गरियो भने राम्रो सुरुवात त्यहीँबाट हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.