|

नवलपरासी :  पुस महिनाको चिसो, शीतलहर अझै त्यसैमाथि वर्षा, थेगिनसक्नु जाडो। उमेरले करिब ७५ वर्ष पुगेकी ज्ञयी यादव खुला आकाशमुनि छन्। चिसो बढोस्, पानी परोस् या शीत नै वर्षियोस् उनलाई कुनै प्रवाह छैन। मधुर बलिरहेको आगो ताप्दै गरेका केही महिलाहरु पनि उनीसँगै छन्। उनीहरु आफ्नो घर नभएकै कारण खुला आकाशमुनि बसेका भने होइनन्।

दिन होस् या रात‚ उनीहरुलाई कुनै प्रवाह छैन।  कठ्याङ्ग्रिँदो चिसोमा बसिराख्नु उनीहरुको रहर पनि होइन। बाध्यताले बसेका हुन्। तीन वर्षदेखिको उखुको रकम चिनी मिलले नदिएपछि उनीहरु बाध्य भएर इन्दिरा सुगर एण्ड एग्रो इण्ड्रस्टी प्रालिको गेटमा धर्ना बस्नु परेको हो। 

वृद्धाहरुसँग अन्य पीडित किसानहरु समेत धर्नामा छन्। गत पुस २० देखि उखु किसानहरु मिललाई उपलब्ध गराएको उखुको भुक्तानीको माग गर्दै मिल गेटमा तालाबन्दी गरेर धर्नामा बसेका हुन्। किसानहरु मिल गेटमा १० दिनदेखि धर्नामा बसिरहँदा सरोकारवाला निकायले भने ध्यान दिएको छैन। चुनावका बेला भोट माग्न घरघर पुगेर खुट्टा ढोग्न समेत पछि नपर्ने राजनीतिक दलका नेताहरुले चिसोमा कठ्याङ्ग्रिँदै मिल गेटमा किसानहरु धर्ना बस्दा थाहा नपाए जस्तो गरेको किसानको गुनासो छ। 

धर्नामा बसेका किसानको पीडा सुनिनसक्नु छ। अनसनमै बसेकी अर्की वृद्धा वसन्ती यादवलाई भेट्दा उनका आँशु थामिएन। मिलले उखुको भुक्तानी नदिँदा नातिको उपचारमा कठिनाइ भएको उनले दुःखेसो पोखिन्। ‘न त लगाउने राम्रो लुगा छ नत खाने कुरानै छ‚’ उनले भनिन्‚ ‘नाति बिरामी भएर भैरहवाको अस्पतालको आइसियुमा १० दिन राख्यौं। मिलमा पैसा मागे मिलले दिएन। ऋण खोजेर नातिको उपचार गर्नुपर्‍यो’ 

निजी स्कुलमा पढ्दै गरेका नातिको मासिक शुल्क तिर्न नसकेर सरकारी स्कुलमा पठाउनुपरेको वसन्तीले पीडा सुनाइन्। यस पटक भने मिलले रकम भुक्तानी नगरेसम्म धर्नामा बस्न तयार रहेको र मर्न पनि तयार रहेको उनले चेतावनी दिइन्।

किसान भोकै मर्ने अवस्था आएको छ। हिजो भोट माग्न घरमा आएका नेता जितेर गएपछि आफुहरु समस्यामा परेका बेला सहयोग नगरेको किसानहरुको गुनासो छ।

अर्की वृद्धा किशोरी गोसाई पनि धर्नामा छन्। ‘भोट चाहिने बेलामा आमा भन्दै खुट्टा ढोग्न आउने अहिले दुःख पर्दा कस्तो छ भनेर पनि नसोध्ने?’ उनले आक्रोश पोख्दै भनिन्‚ ‘त्यस्ता नेतालाई फेरि भोट माग्न आए जुत्ताको माला लगाइदिन्छु। अरु त अरु गाउँपालिकामा रहेका जनप्रतिनिधि पनि समस्या बुझ्न नआएनन्।’

यो सबै पीडा सुन्दा थाहा हुन्छ किसानहरुले उखु उत्पादन गरेर चिनी मिललाई उपलब्ध गराएको बदलामा आँसु पाएका छन्। मिल सञ्चालकहरुले किसानको आँसुमा ब्यापार गरेर अर्बपति बनससके दुःख गर्ने किसानहरु भने बिरामी हुँदा उपचार गर्ने खर्च अभाव, छोराछोरीको विद्यालय शुल्क तिर्न नसक्ने, राम्रो खान‚ लगाउन नसक्ने अवस्थामा पुगेको किसनाहरुको गुनासो छ।

मिलगेटमै भेटिएका किसान राजेश्वर राजभरले उखुको रकम नपाएपछि भएको खेत बन्धकी राखेर बालबालिकालाई पढाउनुपरेको बताए। कतिपय किसानले जग्गा बैंकमा धितो राखेर ऋण लिएकोमा ब्याज समेत बुझाउन नसकेर लिलामी हुने अवस्थाको सिर्जना भएको उनको भनाइ छ।

मिल सञ्चालकहरुले जो टाठो बाठो छ‚ जसले पहुँच पुर्‍याउन सक्छ उनीहरुको रकम भुक्तानी गरेको र विचौलिया र दलालहरुलाई भुक्तानी दिइसके पनि सोझा र निमुखा बनेका किसानहरुको भुक्तानीका लागि भने कुनै चासो नदेखाएको किसान वीरेन्द्र कोइरीले बताएका छन्। उखुको रकम भुक्तानी गराउनका लागि जिल्ला प्रशासन कार्यालयले पटक-पटक पहल गरेको भए पनि मिल सञ्चालकले सुनेको नसुनेई गर्ने गरेको किसानहरु बताउँछन् । 

इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल तीन वर्षदेखि मिलमा नआएको किसानले बताए। गत वर्ष उत्पादन भएको चिनी बिक्री गरी सर्लाहीमा भुक्तानी गरेको किसानहरुको आरोप छ। अग्रवाल सर्लाहीमा रहेको अन्नपूर्ण सुगर मिल र इन्दिरा सुगर मिलका सञ्चालक हुन्। अग्रवालले किसानको रकम भुक्तानी गर्न पटक पटक दिएको निर्देशन समेत अटेरी गर्दै आइरहेको नवलपरासी उखु उत्पादक कृषक संघका अध्यक्ष उमेश यादवको भनाइ छ।

किसानको रकम भुक्तानीका लागि पटक-पटक आन्दोलन हुँदै आएको छ। अहिले मिलको मुल गेटमा मात्र विभिन्न चरणमा किसानहरुले लगाएको तालाको संख्या २१ पुगेको छ। हाल उमेश यादवको नेतृत्वमा उखु उत्पादक कृषक संघले एकातिर किसानको समस्यालाई उठान गरिहेको बताउँदै आएको छ भने अर्कोतर्फ यादव नेतृत्वको समिति निष्कृय भएको भन्दै प्रमुख जिल्ला अधिकारीको रोहवरमा दुधनाथ गुप्ताको नेतृत्वमा तदर्थ समिति गठन भएको छ। 

गत वैशाखमा एकैदिन ८७ लाख रुपैयाँ भुक्तानी गरेको र केही समयअघि १५ लाख रुपैयाँ भुक्तानी गरेको मिलले यसपटक किसानहरु धर्नामा बस्दा भने भुक्तानीका लागि कुनै चासो नदेखाएको किसानहरुले बताएका छन्। यस वर्ष मिल अझै सञ्चालनमा आएको छैन। किसानहरुले भने पुरानो भुक्तानी गरेर मात्र मिल सञ्चालन गर्न माग गर्दै आइरहेका छन्। इन्दिराले अहिले सम्म किसानको १४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको यादवले बताए।

यहाँ रहेको बाग्मती सुगर मिलले पनि गत वर्षको करिब ११ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। यस मिलले किसानहरुलाई भुक्तानी गर्दै आएकाले केही दिनमै बाँकी रकम भुक्तानी गरिसक्ने जनाएको छ। गत वर्षदेखि बन्द भएको लुम्बिनी चिनी मिलले पनि नौ करोड रुपैयाँ रकम भुक्तानी गर्न बाँकी रहेको छ।  

सरकारले केही समयअगाडि देशभरका चिनी मिल सञ्चालकहरुलाई बोलाएर माघ ७ सम्म बाँकी रहेको सबै रकम भुक्तानीका लागि निर्देशन दिएको छ। नवलपरासीमा रहेको इन्दिरा सुगर एण्ड एग्रो इण्ड्रस्टी प्रालिले भने रकम भुक्तानीका लागि कुनै प्रकृया सुरु गरेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.