कोरोनाको शंका भए सिधै टेकु अस्पतालमा

|

काठमाडौं : छिमेकी देश चीनमा कोरोना भाइरसले ४९ जनाको ज्यान लिइसकेको छ। चीनमा कोरोनाले महामारीको रुप लिन थालेपछि त्यहाँबाट नेपाल आउनेमाथि सरकारले कडा निगरानी थालेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिम न्यूनीकरण गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा 'हेल्थ डेस्क'लाई सक्रिय बनाइएको दाबी गरेकोछ। 

यतिखेर चीनमा नयाँ वर्ष तथा वसन्त पर्व परेकाले लमो बिदा छ। यही विदाका बेला त्यहाँ रहेका नेपाली र चिनियाँ नागरिक नेपाल घुम्न आउँछन्। चीनबाट फर्कने नेपाली र घुम्न आउने चिनियाँमाथि विमानस्थलबाटै कडा निगरानी थालिएको हो। 

नेपालमा चीनबाट दैनिक हवाई उडान हुन्छ। नेपाली र चिनियाँ एयरलाइन्सहरुले नियमित उडान भरिरहेका छन्। धेरै पर्यटक आउने जाने भएकाले चीनबाट आउने यात्रुलाई उच्च निगरानीमा राखिएको हो।

हङकङबाट आएका एकजना बिरामीलाई टेकु अस्पतालको आइसोलेसन वार्डमा उच्च निगरानीमा उपचार गरिँदैछ। विमानस्थलको हेल्थ डेस्कमा कोरोना भाइरसको लक्षण देखिएपछि उनलाई सिधै टेकु अस्पताल लगिएको छ।

ल्याब परीक्षण नेपालमा नहुने भएकाले उनको रगत र र्‍यालको नमूना हङकङ पठाउने तयारी भएको छ। उक्त रिर्पोट आएपछि निचोड निस्किने छ।

नेपालमा कोरोना भाइरस पुष्टि भएपछि त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रि आगमन कक्षमा चारजना डाक्टर राखिएको छ। एयरपोर्टमा नर्स, एकजना एमडी डाक्टर र तीनजना एमबीबीएस डाक्टर पठाइएको छ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोसले कोरोना संसारकै लागि नयाँ भएकाले यसबारे धेरै रिसर्च नभइसकेको बताए। विज्ञहरुले पनि यही कुरा बताउँदै आएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हजार जना भन्दा धेरैमा संक्रमण देखिएको छ।

चीनबाट आउने यात्रुलाई विमानमै पुगेर स्वास्थ्य जाँच भइरहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका हेल्थ डेस्क संयोजक गोपाल पाण्डेले बताए।

हाल चीनबाट आउने विमान अवतरण हुनेबित्तिकै विमानभित्रै पुगेर यात्रुहरुको स्वास्थ्य परिक्षण गरिँदैछ। त्यसक्रममा शंकास्पद बिरामी भेटिए टेकु अस्पताल पठाइने गरेको छ। शंकास्पद बिरामीलाई त्यहीँबाट छुटै एम्बुलेसमा राखेर शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पठाइने गरिएको हो।

कोरोना भाइरस नेपालमा देखिएको पुष्टि भइसकेको अवस्थामा सरकारले देशका केन्द्रीय तथा अन्य ठूला अस्पतालहरुलाई भाइरसको उपचारको लागि अलर्ट बस्न निर्देशन दिएको छ।

मन्त्रालयले मन्त्रालयले सतर्क अवस्थामा रहनका साथै वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पताल, सिभिल अस्पताललाई आइसोलेसन वार्ड बनाएर तीन दिन भित्र योजना पेस गर्न निर्देशन दिइएको छ।

स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आएकाहरूको स्वास्थ्य परीक्षण गर्न र शंकास्पद बिरामीलाई विमानस्थलबाटै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल लैजाने गरी एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णयसमेत गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.