|

बारा : मापदण्डविपरित बाराको दुधौरा खोलामा चरम उत्खनन् गरेको भन्दै जिल्ला समन्वय समितिले तत्काल उत्खनन् रोक्न निर्देशन दिएको छ। 

समन्वय समितिले शनिबार दुधौरा खोला अनुगमनमा क्रममा चरम लापरबाही गरेर ठूला ठूला खाल्टा बनाएर उत्खनन् गरेको भन्दै तत्काल उत्खनन् रोकेर सम्पूर्ण कागजपत्रसहित आइतबार कार्यालयमा उपस्थित हुन ठेकदारलाई निर्देशन दिएको हो।

‘अनुगमनका क्रममा मापदण्डविपरित चरम लापरवाही भएको देखेपछि सभापति आफैँले एक्जाभेक्टर र टिपर चालकलाई अहिले नै उत्खनन् कार्य बन्द गर्नोस्, भोलि सबै कागजपत्र लिएर कार्यालयमा उपस्थित हुनु भनी  निर्देशन दिनुभएको छ’ डिभिजन वन कार्यालय बाराका प्रमुख मञ्जुर अहमद्ले भने। 

समन्वय समिति सभापति, कोहल्वी नगरपालिकाका नगरप्रमुख ,जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका प्रतिनिधि  डिभिजन वन कार्यालयका प्रमुख, खानेपानी कार्यालयमा प्रतिनिधि सहितको टोलीले शनिबार बाराको दुधौरा र बकैया खोलाको अनुगमन गरेको हो। यसअघि जिल्ला समन्वय समितिले शुक्रबार बाराको बालगंगा र पसाहा खोलामा मापदण्डविपरित खोला ‘च्यानलाइज’ नाममा खोलाको चारैतिर वन क्षेत्रलाई नै असर पर्ने गरी उत्खनन् गरेको भन्दै उत्खनन् रोक्न निर्देशन दिएको थियो। 

बारा जिल्लाअन्तर्गत उत्खनन् हुने ५ वटा खोलामध्ये  दुधौरा, वालगंगा र पसाहा खोला जीतपुरसिमरा उपमहानगर र बकैया खोलाको आधा भाग कोहल्वी नगरपालिकाले आधा भाग निजगढ नगरपालिकाले उत्खनन् गर्दै आएका छन्।

निजगढ नगरपालिकाले थप धन्सार खोलामा पनि उत्खनन् गर्दछ। ठेक्का प्रकियामा विवाद भएको भन्दै अदालतमा रिट परेपछि निजगढ नगरपालिकाअन्तर्गतका खोलामा उत्खनन् शुरु नै भएको छैन भने कोहल्वीमा मापदण्डविपरित उत्खनन् भएको भन्दै ‍नगरप्रमुखले ३ दिनदेखि खोला बन्द गरेको छ। तर जीतपुरसिमरा उपमहानगरले भने आफू मातहत रहेका खोलाको हालसम्मको उत्खनन् मात्रा, भण्डारण वेचविखनको परिमाण केही जानकारी राखेको छैन।

यसले गर्दा खोलामा नदीजन्य साम्रगी कति थियो, कति उत्खनन् भयो अव कति बाँकी छ, वातावरणीय प्रभाव मूल्याकंन (इआईए) प्रतिवेदनमा उल्लेख भएका प्लट भन्दा बाहिर कति उत्खनन् भयो कुनै तथ्यांक नगरपालिकासँग छैन। 

वडाध्यक्षले खोसे एक्जाभेक्टरको चावी 

उत्खनन्मा चरम लापरवाही गरेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिका ४ का वडाध्यक्ष भोजबहादुर खत्री (ईश्वर) ले एक्जाभेक्टरको चाबी खोसेर नगरपालिकालाई बुझाएका छन्। उत्खनन् भएको क्षेत्रमा पुगेका वडाध्यक्ष खत्रीले इआईए प्रतिवेदनविपरित ठूला ठूला खाल्टा बनाएर जथाभावी रुपमा उत्खनन् गरेको भन्दै चाबी खोसिएको बताए।

‘तपाईंलाई चाबी चाहिए भोलि नगरपालिकामा लिन आउनुहोला मैले यो चाबी नगरपालिकालाई बुझाई दिन्छु’ वडाध्यक्षले एक्जाभेक्टर चालकलाई भने। 

इआईए प्रतिवेदन नै त्रुटिपूर्ण ः डिभिजन वन प्रमुख मञ्जुर 

डिभिजन वन कार्यालय  बाराका प्रमुख मञ्जुर अहमद्ले नदीजन्य उत्खननका लागि नगरपालिकाले  तयार वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन नै त्रुटिपूर्ण रहेको बताए। ‘नगरपालिका आफैँले तयार गरेको इआईए प्रतिवेदनको पूर्ण रुपमा कार्यान्वयन गराउन सकिदैन भने कि त्यो रिपोर्ट त्रुटिपूर्ण छ। त्यसलाई सच्चाउनुपर्‍यो। होइन भने पूर्ण रुपमा पालना गर्न सक्नुपर्‍यो’ डिभिजन वन प्रमुख मञ्जुरले भने, ‘इआईएमा ३ फिट भनेर ७ फिट खन्न पाइएन। कि ७ फिट नै खन्न दिने र जहाँ तही खन्न पाउने भनी इआइएमा उल्लेख गर्नोस्।’  

वन अधिकृत मञ्जुरले स्थानीय तहले राजस्व  संकलनलाई मात्रै महत्व दिन नहुने भन्दै उत्खननको जिम्मा दिने निकायले राज्यको सम्पतिको संरक्षणको पनि जिम्मेवारी लिनुपर्ने बताए। उत्खनन् भएका बाराका अधिक‌ांश खोला वन क्षेत्रभित्र रहेका छन्। खोला ‘च्यानलाइज’ नाममा ठेकदारले आफूअनुकूल उत्खनन् गर्दा वनको ठूलो क्षेत्र जोखिममा पर्दै डिभिजन वन कार्यालयले जनाएको छ। 

‘खोला ‘च्यानलाइज’ को परिभाषा ठेकदारले आफू अनुकूल जहाँ जसरी सजिलो हुन्छ। त्यसरी खन्यो। आफू अनुकूल व्याख्या गर्‍यो। यस्तो चलन छ यहाँ’ मञ्जुरले भने। जीतपुरसिमरा वडाध्यक्ष चाँबी खोसिदिएको छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.