|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद अग्‍नि सापकोटा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्।

आइतवार दिउँसो ३ बजेदेखि बसिरहेको प्रतिनिधसभाको बैठकमा अध्यक्षता गरेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटालाई सभामुख निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्। 

ज्येष्ठ सदस्य महन्थ ठाकुरले बैठक सुरु गरेलगत्तै सभामुख चयनको कार्यसूचीमा प्रवेश गरेको थियो। बैठकको सुरुमै बैठकको अध्यक्षता गरिरहेका ठाकुरले एकल उम्मेदवारी परेको सापकोटाको नाम प्रस्ताव र समर्थन गर्न समय दिएका थिए।

त्यसपछि नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले सभामुखमा सापकोटाको नाम प्रस्ताव गरे। नेम्बाङको प्रस्तावमा राष्ट्रिय जनता पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले सभामुखका लागि सापकोटाको नाममा समर्थन जनाए। 

कर्णपछि नेकपाकी सांसद ओनसरी घर्तीले सापकोटाको नाममा समर्थन जनाएकी छन्। एक्लो उम्मदेवारी परेकाले सभामुखमा सापकोटा निर्वाचित भएका हुन्। कांग्रेसले सभामुखको भूमिका तटस्थ बनाउनैका लागि उम्मदेवारी नदिएको जनाएको छ। 

प्रस्तावको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ तथा समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण थिए। 

यही माघ ६ गतेको प्रतिनिधिसभाको बैठकले आजका लागि निर्वाचनको मिति निर्धारण गरेको थियो। त्यस दिनको बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामाबारे बैठकलाई जानकारी गराएका थिइन्।

तत्कालीन सभामुख कृष्णबहादुर महरा महिलामाथिको यौन दुर्व्यवहारको विवादमा परेपछि गत असोज १५ गते सो पदबाट राजीनामा दिएका थिए। हाल उनी पुर्पक्षका लागि थुनामा छन्। 

सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन कार्यतालिका तय हुनेछ। गत पुस ४ गते शुरु भएको सङ्घीय संसद्को चालु पाँचौँ अधिवेशनअन्तर्गत राष्ट्रियसभाका बैठक नियमित भए पनि प्रतिनिधिसभाको सभामुख रिक्तता र त्यसमा राजनीतिक सहमतिमा ढिलाइका कारण बैठक स्थगन हुँदै आएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.