|

जनकपुरधाम : आज माघ १५ गते। शहीद दुर्गानन्द झाको ५६औँ बलिदानी दिवस। २०२० सालमा आजकै दिन २१ वर्षकै उमेरमा मृत्युदण्डको सजाय पाएका थिए, दुर्गानन्द झा। आज उनको पैतृक गाउँ जटहीमा बलिदानी दिवस मनाएको छ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा शहिद झाको बलिदानी दिवस मनाइएको हो। झाले २०२० सालमै संघीय गणतन्त्र ल्याउने सपना देखेका थिए। आज उनको सपना त पूरा भएको छ, तर संघीय गणतन्त्रको अनुभूति जनताले भने अझै पाउन सकेका छैन।

स्मृतिसभामा बोल्दै कांग्रेस उपसभापति निधिले वर्तमान कम्युनिष्ट सरकारले जनताको आकांक्षाबमोजिम काम गर्न नसकेको आरोप लगाए। उनले वर्तमान सरकार लोकतन्त्र, गणतन्त्र, समावेशीलगायतका विरोधमा काम गरिरहेको टिप्पणी गरे।

‘अहिलेको सरकारको काम कर्तव्य एकदलीय अधिनायकवाद जस्तो छ’, उनले भने, ‘कम्युनिष्ट शासन प्रणालीजस्तो गरिरहेको छ। तर नेपालमा कम्युनिष्ट शासन प्रणाली छैन। संघीय शासन प्रणाली छ।’

उपसभापति निधिले वर्तमान सरकारको कार्यशैली ठीक नभएकाले विरोध गरिरहेको र सबै जनतालाई पनि विरोध गर्न आह्वान गरिरहेको बताए। उनले शहीद दुर्गानन्द झाको जीवनबाट प्रेरणा लिएर जनता, लोकतन्त्र र गणतन्त्रको पक्षमा एकजुट भएर काम गर्नुपर्ने बताए।

निरंकुश शारणको विरोध गर्दा मृत्युदण्ड

तत्कालीन राजा महेन्द्र वीरविक्रमले २०१७ पुस १ मा संसद भंग गरेर देशमा निरकुंश शासन लागू गरे। यसको देशभर विरोध भयो। मधेसमा पनि आन्दोलन चर्कियो। त्यतिबेला दुर्गानन्द झा २१ वर्षका मात्र थिए। उनले शहीद भगत सिंहबाट प्रेरित भएका थिए।

देशभर विरोध भइरहेको बेला राजा महेन्द्र मधेसको भ्रमणमा निस्केका थिए। उनी जनकपुर आएपछि दुर्गानन्द झाले बम प्रहार गरे। राजा महेन्द्रले चढेको ल्याण्डरोभर जीप क्षतिग्रस्त बन्यो। महेन्द्र भने बल्ल बाँचे। घटनापछि दुर्गानन्दलाई पक्राउ आदेश जारी भयो।

हाल नगराइन नगरपालिकामा पर्ने जटही घर भएका झा केहीदिन भारतमा लुकेर बसे। केहि दिनपछि घर आउने क्रममा उनलाई नेपाली सेनाले समात्यो। हेलिकप्टरबाट काठमाडौं लगियो। लगत्तै उनलाई २०२० माघ १५ मा उनलाई मृत्युदण्ड दिइयो। घटनाको ५२ वर्षपछि कम्युनिष्ट सरकारले झालाई शहीद घोषणा गर्‍यो।

दुर्गानन्द स्मृति अस्पताल अलपत्र

शहीद दुर्गानन्द झाको स्मृतिमा निर्माण गर्ने भनिएको प्रसूतिगृह अलपत्र परेको छ। तत्कालीन स्वास्थ्यमन्त्री गगन थापा गाउँमै पुगेर शहीद झाको स्मृतिमा प्रसूतिगृह निर्माणको घोषणा गरेका थिए। तर अझै प्रसूतिगृहको काम सुरु भएको छैन।

तत्कालीन मन्त्री थापाले दुई साताभित्रै काम थालिने आश्वासन देखाए पनि हालसम्म निर्माण नभएको जटहीबासी बताउँछन्। स्थानीय रमेश साह भन्छन्, ‘तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले जटहीमा १५ शैय्याको प्रसूतिगृह निर्माणको घोषणा गरेको थियो। तत्कालीन स्वास्थ्यमन्त्री गगण थापा यहाँ आएपछि घोषणा भएको प्रसूतिगृह निर्माण थाल्ने प्रतिबद्धता जनाइयो। तर, त्यो बोलीमै सीमित भयो।’

जटहीस्थित सडकमा शहीद दुर्गानन्द झाको नामले द्वार (गेट) निर्माण भएको छ। तर, त्यो द्वार पनि अहिले चार लेनको बन्न लागेको सडकको बीचमै परेकाले अब त्यो गेट पनि भत्काउनु पर्ने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.