मधेस शहीद प्रतिष्ठान गठन र प्रादेशिक अस्पताललाई मेडिकल कलेजमा रुपान्तरण गर्ने निर्णय

|

जनकपुरधाम : प्रदेश २ सरकारले छोरी बीमाको रकम बढाएर तीन लाख पुर्‍याएको छ। शुक्रबार बसेको प्रदेश २ सरकारको मन्त्रिपरिरषद बैठकले छोरीको बीमा रकम एक लाखबाट बढाएर तीनलाख पुर्‍याउने निर्णय गरेको हो।

मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषदको निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै अब प्रदेश २ की छोरीहरू तीन लखिया भएर जन्मिने बताएका छन्। मुख्यमन्त्री राउतले एकवर्ष नवित्दै एक लाखबाट तीन लाख पुर्‍याएको भन्दै २० वर्षमा त्यो रकम २० लाख पुर्‍याउने सोच रहेको बताए। उनले स्थानीय तहलाई तीन लाख थप्न अपिल गरेर ६ लाख पुर्‍याउने पनि बताए। उनले भने, ‘वीरगन्जमा कार्यक्रम गर्दा कतिपय स्थानीय तहले आफैँ पनि तीन लाख थप्ने बताएका थिए। अब हामीले तीन लाख पुर्‍याएका छौं। यसमा तीनलाख थप्न स्थानीय तहलाई अपिल गर्छौ।’

मुख्यमन्त्री राउतले सामाजिक विभेद अन्त्य गर्नका लागि बेटी बचाऊ, बेटी पढाऊ अभियान चलाएको बताएका छन्। उनले अब कुनै सेक्टरमा छोरीमाथि विभेद नहुने पनि विश्वास व्यक्त गरे। उनले भने, ‘यो अभियानमा सबैको सहयोग आवश्यक छ। यसरी सहयोग पाइरहेमा २० वर्षमा यहाँकी छोरी २० लाख दिने सोच पूरा हुन्छ।’

प्रदेश २ सरकारको महत्वाकांक्षी अभियान हो–बेटी पढाऊ, बेटी बचाऊ। यही अभियानअन्तर्गत २०७५ माघ १ बाट छोरी बीमा कार्यक्रम सुरु भयो। प्रभु बैंकको सहकार्यमा सुरु भएको बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश सरकार ‘घरदैलो’ अभियान चलाएको छ। यही माघ २ बाट ‘घरदैलो’ अभियान सुरु गरिएको छ।

मुख्यमन्त्री लालबाबु राउतले घरदैलो अभियान थालेपछि अहिले प्रदेश सरकारको टोली घरघरमा पुगेर २०७५ माघ यता जन्मेकी छोरीको बीमा गरिरहेका छन्। घरदैलो अभियानमार्फत ८ हजार १८ छोरीको बीमा भएको छ।

मुख्यमन्त्री कार्यालयको तथ्यांक अनुसार सप्तरीमा एकहजार ४०८, सिरहामा एक हजार १२९, धनुषामा ६२९, मोत्तरीमा ८४६, सर्लाहीमा एक हजार १७४, रौतहटमा ८१८, बारामा एकहजार २०३ र पर्सामा ७७१ छोरीले बीमा गराएकी छन्। यसअघि मुख्यमन्त्री कार्यालयमार्फत ४ हजार ३७३ छोरीको बीमा भएको थियो।

बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल समेत वितरण गरिँदै आएको छ। मुख्यमन्त्री राउतले चालु आर्थिक वर्षमा थप २० हजार साइकल वितरण गर्ने जानकारी दिए। उनका अनुसार १० हजार साइकलका लागि टेण्डर प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ।

केही दिनमै १० हजार साइकल खरिद हुन्छ। त्यसपछि थप १० हजार साइकल टेण्डरमार्फत खरिद गरी २० हजार साइकल यसवर्ष वितरण गरिनेछ। गत आर्थिक वर्षमा प्रदेश सरकारले १५ हजार साइकल वितरण गरेको थियो।

‘छात्रा २/३ किलोमिटर हिडेर पढ्न जाने बाध्यता थियो’, मुख्यमन्त्री राउतले भने, ‘साइकल पाएपछि अब छात्रालाई विद्यालय जान-आउन सहज हुन्छ। साथै समयको समेत बचत हुनेछ।’

मधेस शहीद प्रतिष्ठान गठन

प्रदेस सरकारको मन्त्रिपरिषद्को बैठकले मधेस शहीद प्रतिष्ठान गठन गर्ने निर्णय पनि गरेको छ। मधेस आन्दोलनमा सहादत दिने सम्पूर्ण सहीदको सम्मानका लागि प्रतिष्ठान गठन गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री राउतले गठन हुने प्रतिष्ठानबाट मधेसी शहीद र उनका परिवारजनको सम्मान तथा रेखदेखमा सहयोग पुर्‍याउने बताए। उनका अनुसार प्रतिष्ठानले शहीद सम्मान कोषको समेत व्यवस्था गरिने छ। साथै शहीद परिवार, घाइते र अपाङलाई रोजगारीको व्यवस्था गर्नेदेखि शहीद स्मारक बनाउनेलगायतका काम गर्नेछ।

प्रादेशिक अस्पताललाई मेडिकल कलेजमा रुपान्तरण गरिने

प्रदेश सरकारले जनकपुरस्थित प्रादेशिक अस्पताललाई प्रादेशिक आर्युविज्ञान मेडिकल कलेजमा रुपान्तरण गरिने निर्णय पनि गरेको छ। केही दिनअगाडि मात्रै जनकपुर अंचल अस्पताललाई प्रादेशिक अस्पतालमा रुपान्तरण गरेको थियो।

मुख्यमन्त्री राउतले भने, ‘अब प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रुपमा रुपान्तरण गरिनेछ। यहाँ मेडिकल पठन-पाठनको साथसाथै उपचारको व्यवस्था गरिनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.