‘टुप्पी ढाक्ने गरी क्वीन्टलको माला भिर्ने बिहारी अभ्यास सच्याऊँ'

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुटमात्रै चलाएको आरोप लगाएका छन्। तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा समूह नम्बर १४ को तर्फबाट आफ्ना २९ बुँदै सुझाव राख्दै प्रचण्ड पूर्वमाओवादी गुटमै रमाइरहेको आरोप लगाएका हुन्। 

नेकपाका एकजना अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारसमेत रहेका थापाले आफ्नो समूहको सुझाव शुक्रवार प्रस्तुत गर्दै अध्यक्ष दाहालमाथि अनेक प्रश्न तेस्र्याएका हुन्। उनले अध्यक्ष दाहालकै अगुवाइमा खुमलटार र भैंसेपाटीमा गुट भेला भइरहेको पनि आरोप लगाए। 

‘पार्टीमा गुटबन्दी भयो भन्दै व्यवहारमा गुटबन्दीको व्यापक अभ्यास भइरहेको छ। अनुशासनहीनता, अराजकता प्रदर्शन र स्वार्थ प्रेरित बैठकहरु किन भएका छन्?’, अध्यक्ष दाहालप्रति लक्षित गर्दै उनले प्रश्न गरे, ‘भैंसेपाटी, खुमलटार वा अन्यत्र यस्ता बैठक किन भइरहेका छन्? मूल नेतृत्वलाई घेराबन्दी गरी असफल पार्ने अनुचित क्रियाकलाप गरिनुहुँदैन। पूर्ववर्ती समूहका तमाम गलत विरासत बोकेर एकतावद्ध नयाँ पार्टी सञ्चालन हुन सक्दैन।’

नेकपा प्रचार विभाग उपप्रमुखसमेत रहेका थापाले नेताहरुले पटक पटक पद ओगटेर पनि नपुगेपछि सरकार सञ्चालमा अवरोध प्रयास गरेको अर्को आरोप अध्यक्ष दाहालमाथि लगाएका छन्। ‘पार्टी र सरकारको मूल नेतृत्व गरिसकेका आदरणीय नेताहरुले घुमीफिरी रुम्जाटार भनेजस्तो फर्कीफर्की पुनः नेतृत्वमा आउने, त्यसका लागि गुटबन्दी गर्ने, पार्टी र सरकार सञ्चालनमा अवरोध, असहयोग र गडबडी पैदा गरिरहने गर्नु हुँदैन’, दाहालप्रति लक्षित गर्दै उनले भने, ‘एक वा दुईपटक प्रमुख जिम्मेवारी सम्हालिसकेका नेताहरुले अब मार्गदर्शन समितिमा बसेर अभिभावक र सल्लाहकारको भूमिका निर्वाह गर्नु उपयुक्त हुन्छ।’ 

नेता थापाले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको सारतत्व स्वीकारेर पनि नाम नस्वीकारेको भन्दै दाहालमाथि फेरि कटाक्ष गरे।

‘जनताको जनवाद के हो? यसको वैचारिक आधार, आधारशीला र अन्तर्वस्तु तथा विशेषताहरु के के हुन्? जबज वा एक्काइसौं शताब्दीको जनवादका कुन कुन विशेषताहरु यसमा समावेश गरिएको छ? स्पष्ट गरिनु पर्दछ’, उनले सुझाव पेश गर्दै भने, ‘जनवादी कार्यक्रमका कार्यभारहरु कार्यान्वयन नगरी कसरी समाजवादको आधार तयार हुन्छ वा तयार गर्न सकिन्छ? कसरी समाजवादोन्मुख हुन सकिन्छ? जबजका सारतत्व स्वीकार गर्ने तर नामचाहिँ किमार्थ स्वीकार गर्न नहुने–यो संकीर्णता मात्रै हो। यस्तो संकीर्णताले विचारधारात्मक विकास सही ढंगले हुन सक्दैन।’

नेता थापाले कम्युनिष्ट पार्टीका नेताहरु गला र टुप्पीसम्म मालाको भारी बोक्दै हिँडेको भन्दै व्यंग्य गरे। यस्तो प्रवृत्तिलाई उनले बिहारी शैलीको संज्ञा दिए। 
‘नेताहरुले गला र टुप्पीसम्म मालाको भारी बोक्ने संस्कृति वा क्वीन्टलका माला लगाउने बिहारी संस्कारको अभ्यास अथवा विमानस्थलमा स्वागतको लस्कर लाग्ने, पिर्के सलामीहरु लिने आदि गलत अभ्यास बन्द गर्नुपर्छ’, उनले भने, ‘भर्खरै जारी आचारसंहितामा यस्ता विषयको उल्लेख नगर्नु दुःखद हो, त्यसलाई सच्याउनु पर्दछ । विदेशी फूल आयात गरी माला लगाएर कोही पनि विशेष वा विशिष्ट कहलिन खोज्ने अभ्यास बन्द गर्नुपर्छ ।’

केन्द्रीय सदस्य थापाले पार्टीमा बराबरी क्षमता भएर पनि कसैले धेरै पटक अवसर पाउँदा कसैले राजकीय जिम्मेवारीबाट सधैँ विमुख हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए। ‘उस्तै र सामान्य क्षमताका व्यक्तिहरुमध्ये कोही धेरै र पटकपटक अवसर पाउने, मन्त्री भइरहने तर कोही सांसद वा राजकीय जिम्मेवारीबाट सधैं विमुख हुनुपर्ने ? यो कस्तो निर्णय, तरिका र अभ्यास हो?’, थापालले प्रश्न गरे, ‘यसलाई तत्काल सच्याएर न्यायोचित निर्णय गर्नुपर्छ । अवसर प्रदान गर्दा न्यायको अनुभूति गराउनु नेतृत्वको दायित्व हो ।’ 

समूह १४ बाट प्रस्तुत सुझावका क्रममा उनलले अमेकिन परियोजना एमसिसीबारे दुष्प्रचार गरिएको गुनासो गरे। ‘एमसीसीप्रति तथ्यहीन दुष्प्रचार गरिएको । यो आवधिक र परियोजनाकेन्द्रित अनुदान सम्झौता हो । यसलाई सैनिक गठबन्धनको अंग भन्दै अनाधिकृत व्यक्तिहरुले टिप्पणी गरी भ्रम सिर्जना गर्न बन्द गर्नुपर्छ’, उनले भने, ‘अमेरिकाको सैन्य गठबन्धन नाटो मात्रै हो । इण्डो–प्यासिफिक स्ट्राटेजीको अंग वा सैन्य गठबन्धन होइन भनेर स्वयम् एमसीसी र अमेरिकी दूतावासकातर्फबाट औपचारिक वक्तव्यमार्फत तथ्य स्पष्ट गरिसकेपछि पनि किन अन्यथा र द्विविधाजनक कुरा गर्ने?’ 

उनलले एमसीसीलाई अनुमोदन गरी नेपालको पूर्वाधार विकास खासगरी दुईदेशीय विद्युत प्रसारण लाइन, सब स्टेशन र सडक स्तरोन्नतिलाई यथाशीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिए।

नेता थापाले अमेरिकाले इन्डो प्यासिफिक रणनीति चीनलाई घेर्न ल्याएको भनी अध्यक्ष दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा रहेको अंश सच्याउन पनि माग गरेका छन्। ‘अन्तर्राष्ट्रिय परिस्थितिमा ‘...चीनलाई घेरा हाल्न...’ भन्ने खालका शब्द प्रयोग गरिएको छ’, उनले सुझाव दिँदै भने, ‘यस्ता विवादास्पद वाक्य प्रयोग गर्नु हुँदैन।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.