|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सम्बोधनहरुको सङ्गालो 'म प्रधानमन्त्री हुँदा' को शुक्रबार लोकार्पण गरियो। नेकपा एमालेले प्रकाशन गरेको उक्त पुस्तक प्रेस चौतारी नेपालको आयोजनामा शुक्रबार बानेश्वरस्थित अल्फाबिटामा आयोजित कार्यक्रमकाबीच लेखक, पत्रकार तथा समिक्षकहरुले संयुक्तरुपमा लोकार्पण गरेका हुन्।

केही दिनअघि एमाले मोर्चा विभागले पोखरामा आयोजना गरेको राष्ट्रिय भेलाको निर्णय शिरोपर गर्दै मञ्चमा कार्यक्रमका सभाअध्यक्ष, मुख्य आकर्षण केपी शर्मा ओली र वक्ताहरुलाई मात्र राखिएको थियो। उक्त पुस्तक सौरभ, विजकुमार, कृष्णमुरारी भण्डारी, श्रीकृष्ण अनिरुद्र गौतम, चरण प्रसाईं, रघुवीर महासेठ, अश्‍विनी पुडासैनी र कार्यक्रमका अध्यक्ष तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले संयुक्त रुपमा लोकार्पण गरे।

पुस्तक लोकार्पणपछि बोल्दै एमाले अध्यक्ष ओलीले आफूले छुट्टै विचार बनाउन नभएर जे विचार थियो त्यही प्रकट गर्न खोजेको बताए। कार्यक्रममा १० मिनेटमात्र बोलेका ओलीले शुक्रबार समिक्षकहरुको कुरा सुने।

'ओली डक्ट्रिन' पुष्टि हुनुपर्छ

अहिले नेपाली राजनीतिमा 'ओली डक्ट्रिन'को चर्चा हुने गरेको भन्दै लेखक सौरभले त्यसको पुष्टि हुनुपर्ने बताए। ओलीको चर्चा पछिल्लो समय 'ओली डक्ट्रिन'को रुपमा हुने गरेको भन्दै उनले त्यसलाई कुनै न कुनै रुपमा व्याख्या गर्न आवश्यक रहेको बताए। 'डक्ट्रिन शब्द बिरलै व्यक्तिले पाउँछन्। पछिल्लोसमय ओली डक्ट्रिनको समेत चर्चा हुने गरेको छ,' उनले भने, 'सिद्धान्त र नीतिको फ्यूजन नै डक्ट्रिन हो। त्यसकारण ओली डक्ट्रिन हो कि होइन भनेर कुनै न कुनैरुपमा व्याख्या गरिनु आवश्यक छ।'

कृष्णप्रसादपछिका राष्ट्रवादी ओली

पत्रकार तथा लेखक विजय कुमारले आफ्नालागि कृष्णप्रसाद भट्टराईपछि ओली नेपाली राजनीतिका विशेष नेता रहेको टिप्पणी गरे। ओलीले हरेक कार्यक्रम तथा छलफलमा ठट्यौलो पारामा आफूलाई प्रस्तुत गर्दै आएपनि त्यसभित्र हाँसोसँगै दु:ख र पीडा पनि लुकेको उनको बुझाइ छ।

ओली नेपाली राजनीतिमा विशेष व्यक्तिका रुपमा उदाएको भन्दै विजयकुमारले उनको कुरामा विषयमात्र नभएर बाचनकलासमेत झल्किने बताए। 'इतिहासले कहिलेकाहिँ एउटा व्यक्तिमाथि चाहेर वा नचाहेर यति धेरै जिम्मेवारी खन्याइदिन्छ कि त्यो एउटा संस्थाकोरुपमा स्थापित हुन्छ, र त्यो ति व्यक्तिले गर्नैपर्ने हुन्छ,' उनले भने, 'ओलीले एउटा वैचारिक स्थान स्थापित गरिसकेका छन्, यसलाई अब कसैले उखेलेर फाल्न सक्दैन।' ओलीले बढाउन खोजेका कामहरु अगाडि बढाउन दिन आग्रह गर्दै उनले मुलुकको विविधता संगालेर राख्न हृदयको विशालता चाहिने बताए। त्यसकानिम्ति तयार रहन उनको आग्रह छ।

एक लाइनमा ओलीले भ्याइदिन सक्छन्

लेखक/पत्रकार कृष्णमुरारी भण्डारीले ओलीसँग एक लाइनमै धेरै कुरा भ्याइदिन सक्ने क्षमता रहेको टिप्पणी गरे। मुलुक अप्ठ्यारोमा परेको बेला ओलीले सिङ्गो नेपाललाई नै जुर्मुराउन सिकाएको भन्दै उनले ओली इतिहासको एक शक्तिशाली पात्र भएको टिप्पणी गरे। 'हामी अप्ठ्यारो स्थितिमा थियौं, मुलुक कुनबेला गएर कहाँ ठोक्किने हो थाहा थिएन, एउटा गाउँलेको छोरा थियो जसलाई हामीले उखानटुक्के भन्थ्यौं, उसले नेपाल र नेपालीलाई बौराइदियो र सिङ्गो नेपाललाई एकढिक्का बनाइदियो,' भण्डारीले भने, 'ओली यस्ता पात्र हुन्, जसले एक लाइनमै भ्याइदिन सक्छन्।'

नेपाल एकिकरण गर्ने पृथ्वीनारायण शाह र राणाहरुको खोपीमा कैद भएका नागरिक अधिकार जनतामाझ पुर्‍याउनुपर्छ भनेर लागेका वीपी कोइरालापछि ओली नै नेपालको राजनेता भएको उनको जिकिर छ। 'दक्षिण एसियामै यस्तो नेता कोही छैन, जो यति माथि पुगेको होस्,' उनले भने, 'हामी चायवाला मोदीको प्रसंशा गर्न सक्छौँ, त्यो भन्दा पनि तल्लोस्तरबाट आएका ओलीको प्रसंशा किन गर्न सक्दैनौं ?' 

यस्तै लेखक श्रीकृष्ण अनिरुद्र गौतमले ओली प्रधानमन्त्री बन्दा अप्ठ्यारो परिस्थिति रहेको स्मरण गर्दै त्यसलाई उनले पार लगाउन सक्लान भनेर आफूले नसोचेको अनुभव सुनाए। त्यतिबेला ओलीप्रति कत्ति पनि सकारात्मक नभएको बताउने उनले भारतपछि चीन गएर पारवहन सम्झौता परेपछि ओलिप्रतिको धारणा परिवर्तन भएको बताए।

'केपी ओली प्रधानमन्त्री बन्दा म कत्ति पनि सकारात्मक थिइन्। ओलीले जटिल परिस्थितीलाई स्थीर दिशा प्रदान गर्लान् भन्‍ने लागेको थिएन,' गौतमले भने, 'जब उनी भारतले लगाएको नाकाबन्दीबाट कत्ति पनि बिचलित नभइकन डटिरहे, नेपाली जनतालाई एक ढिक्का बनाए। खासगरी भारत भ्रमणपछि चीन गएर पारवहन सम्झौता गरे त्यसपछि ओलीप्रतिको मेरो धारणा बदलियो।'

मुलुक सम्पूर्णरुपमा डिमोरालाइज्ड भएको बेला एउटा व्यक्तिले जनतालाई सपना देखाउँदा गिल्ला गरिएको उनको गुनासो छ।

प्रधानमन्त्री बनेपछि पहिलेका ओली रहेनन्

मानवअधिकारकर्मी तथा लेखक चरण प्रसाईंले विसङ्गतीले भरिपूर्ण मुलुकको राजनीतिलाई कसरी समाधान गर्ने भनेर ओलीले आफ्नो धारणा अगाडि बढाएको बताए। सही कुरा गर्ने व्यक्ति सधैँ पीडित हुने गरेको भन्दै उनले ओलीमाथि पनि त्यस्तै हुँदैआएको टिप्पणी गरे। धरातलीय यथार्थको कुरा गर्ने ओलीमाथि प्रहसनकारी भनेर खिल्ली उडाइएको उनको गुनासो थियो।

प्रसाईंले मानवअधिकारको सवालमा भने ओली प्रधानमन्त्री बनेपछि डगमगाएको बताए। 'प्रधानमन्त्री बनेपछि उहाँ पहिलेको जस्तो रहनुभएन, त्यो मैले भन्नैपर्छ,' प्रसाईंले भने, 'सत्ता साझेदार दलको त्रासका कारण कानुनी शासन, विधिको शासनमा उहाँ चुक्नुभएको छ।'

यसैगरी लेखक तथा राजनीतिज्ञ रघुवीर महासेठले केपी ओली भुतपूर्व मात्रै नभएर अभुतपूर्व प्रधानमन्त्री भएको बताए। जनताको भावना र राष्ट्रहितलाई ध्यानमा राखेर राष्ट्रका निम्ति ओलीले खेलेको भूमिका अभुतपूर्व रहेको उनको टिप्पणी छ। 'इतिहासको अप्ठ्यारो कालखण्ड थियो। अनेक प्रतिकुलताका बाबजुद् नेपाली शिर उहाँले झुक्न दिनुभएन। प्रतिकुलताको बीचमा पनि नेपालको विकासको सपना बाँड्नुभयो,' उनले भने, 'देशको बस्तुस्थिति बुझेको यथार्थवादी नेता हो केपी ओली।'

'ओली डक्ट्रिन' जागरुक बनाउनुपर्छ

लेखक अश्‍विनी पुडासैनीले 'ओली डक्ट्रिन' जागरुक बनाउनुपर्ने बताए। 'ओलीको अडानले मुलुक सानो होस् वा ठूलो होस्, स्वतन्त्र र सार्वभौम हुनसक्छ भन्‍ने प्रमाणित गरेको छ,' उनले भने, 'तपाईंलाई मन परोस् वा नपरोस्, पृथ्वीनारायण शाह, जंगबहादुर राणा, राजा महेन्द्र अनि वीपी कोइरालापछि केपी ओली स्वतन्त्र विदेश नीतिको पक्षमा लड्ने राजनेता हुन्।'

पुस्तकको समिक्षा गर्नेक्रममा समिक्षकहरुले ओलीलाई पुस्तक लेख्नसमेत सुझाएका थिए।

४ सय ३५ पृष्ठको उक्त पुस्तक विष्णु रिमाल र सार्दुल भट्टराईले सम्पादन गरेका हुन्। पुस्तकमा ओली प्रधानमन्त्री हुँदाका मुख्य सम्बोधन, अन्तर्वार्ता, ओलीको संक्षिप्त परिचय र महत्वपूर्ण तस्बिरहरु समवेश गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.