|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषि कट्टेलले भारतले नेपाली सीमा कब्जा गर्नु युद्ध बराबर भएको बताएका छन्।

देशभक्त जनगणतान्त्रिक मोर्चाले काठमाडौंमा आइतवार गरेको 'एमसिसी तथा लिम्पियाधुरा कालापानी लिपुलेकमाथि कब्जा र राष्ट्रिय स्वाधीनताको प्रश्‍न' सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा  बोल्दै उनले यस्तो बताएका हुन्। 

'भारतले सीमा कब्जा गर्नु भनेको युद्धको घोषणा गर्नु हो', उनले भने, 'अब नेपाली जनतासामू दुईवटा बाटो छन्। कि सरकारलाई सीमा र राष्ट्रिय हितमा लाग्‍न दबाब दिने कि राष्ट्रियताको पक्षमा लागेर लम्पसार परेको यो सरकारलाई फाल्ने।'

राष्ट्रियताको विषयमा पार्टी विभाजित भएको इतिहासमै पहिलो भएको उनले जिकिर गरे। 'महाकाली सन्धिमा राष्ट्रघात भएको छ, हामीले महाकाली सन्धि खारेज गर्नुपर्छ भन्दै आएका छौँ', उनले भने, 'महाकाली सन्धि जस्तै इन्डो प्यासिफिक रणनीति अन्तर्गतको एमसिसीमा पनि राष्ट्रघात हुन लागेको छ।'

अमेरिकाले सोचविचार गरेर एमसिसी निर्माण गरेको उनले बताए। 'एमसिसी अमेरिकाको चीन घेर्ने रणनीति नै हो', उनले भने, 'तत्कालीन एमाले साम्राज्यवादी ध्रुवतिर लागेको छ। भारत अगुवा रहेको बिमस्टेक भित्र चीनलाई एक्लाउने रणनीति जस्तै हो एमसिसी पनि।'

कट्टेलले एमसिसीका बुँदा संशोधन नभइ खारेज नै हुनुपर्ने अडान राखे। 'एमसिसीलाई संसदीय संकल्प प्रस्तावबाट पास गर्ने रणनीतिमा सरकार रहेको छ', उनले भने, 'इन्डो प्यासिफिक रणनीतिमा परराष्ट्र मन्त्रीले हस्ताक्षर गरेपछि नेपाल त्यसमा सहभागी भइसकेको दाबी अमेरिकाले गरिसकेको छ।'

अमेरिकी परियोजना एमसिसीका कारण राष्ट्रिय स्वाधीनतामा प्रश्‍न उठेको उनले बताए। लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि भारतले कब्जा गरेपछि राष्ट्रिय स्वाधीनतामाथि गम्भीर प्रश्‍न उठेको उनको भनाइ थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.