|

इलाम : प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले समृद्धिको मूल आधार संघीयता नै भएको बताएका छन्।

सडक र भौतिक पूर्वाधारमा मात्र नभई कला र सांस्कृतिक विकासलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनले बताए। ‘हामीले सडक र विकासलाई मात्र समृद्धिको आधार बनाउनु हुँदैन। गीत, संगीत, पहिचान र कलालाई समेत प्राथमिकतामा राख्नुपर्छ’ उनले भने।

इलाममा आजबाट सुरु भएको ‘इलाम राष्ट्रिय नाटक महोत्सव-२०७६’ को उद्घाटनका क्रममा उनले नाटक पनि संघीयता ढाँचामा देखाउन लागिएकाले यसले थप हौसला थपेको भन्दै खुशी व्यक्त गरे।

बेग्लै पहिचान र बेग्लै विविधता भएको देशलाई धनी बनाउन कला संस्कृति महत्वपूर्ण हुने राईले धारणा राखे। संविधान प्रद्धत तीन तहको सरकारको समृद्धिको सपना पूरा गर्ने कार्यमा जनताको भूमिकालाई बिर्सन नहुने राईले धारणा राखे।

७ प्रदेशका ८ नाटक

सातै प्रदेशको मौलिक लोककथाको खोजी गरी नाटकको माध्यमबाट आन्तरिक एवम बाह्य पर्यटकहरूमा वृद्धि गरी भ्रमण वर्ष-२०२० लाई सफल बनाउन आयोजित महोत्वमा सातै प्रदेशका १/१ मौलिक नाटक मञ्चन गरिने छ।

सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको आयोजना तथा इलाम नगरपालिका अन्तर्गतको सहित्य, कला, संगीत प्रतिष्ठान र चेतना नाट्य समूहको सहआयोजनामा महोत्सव सुरु गरेको हो।

संस्थानले प्रत्येक प्रदेशबाट प्रतिनिधित्व रहनेगरी महोत्सवमा मञ्चन गरिने नाटक छनौट गरेको छ । त्यसमा आयोजक संस्थाले थप अर्को नाटक पनि मञ्चन गर्ने छ ।

प्रदेश-१ बाट ‘सुम्निमा–पारुहाङ’, २ बाट ‘कनन हरलता’, बागमतीबाट ‘राजकुमार मल्ल युद्ध’, गण्डकीबाट ‘नमबुद्ध’, ५ बाट ‘कुजरी’ कर्णालीबाट ‘छैंटी’ र प्रदेश ७ बाट ‘लोली सञ्जा’ नाटक मञ्चन गरिनेछ। पहिलो दिन आयोजकको तर्फबाट ‘थान’ नाटक मञ्चन गरिएको छ।

महोत्सवको अवसरमा दैनिक नाटक मञ्चनसँगै सो सम्बन्धी कार्यशालासमेत हुनेछ। कार्यशालालाई रमेश रञ्जन झा, विरेन्द्र हमाल, डा देवी क्षेत्री दुलाल, कुन्दन चौधरी लगायत ११ जना सर्जकहरुले कार्यपत्र प्रस्तुत गर्नेछन्।

गौतम बुद्ध सभागृहमा जारी महोत्सवमा ४ हजार बढीले अवलोकन गर्ने आयोजकले लक्ष्य राखेको छ। २०७४ सालमा इलाममा पहिलो पटक नाटक महोत्सव आयोजना गरिएको थियो। नाटक महोत्सवमा आरोहण गुरुकुलले ‘जिउँदो मान्छे’, चेतना नाट्य समूहले ‘एउटा यस्तो मान्छे,’ तरंग संस्कृति परिषद् हेटौंडाले ‘फु–फु–फु,’ क्षितिज नाट्य समूहले ‘इजलासको फैसला’ चुलाचुली रंगमञ्चले ‘खाल्डो’, नौलो साहित्यिक बिहानी प्रतिष्ठानले ‘उज्यालो पाइला’ र परिवर्तन नाट्य समूहले ‘सुकुम्बासी राजा’ नामक नाटक प्रस्तुत गरेका थिए।

गणेश रसिक सम्मानित

लोक नाटक महोत्सव २०७६ का अवसरमा बरिष्ठ गायक, संगीतकार तथा लेखक गणेश रसिकलाई नगद ५१ हजार नगद सहित सांस्कृतिक संस्थान काठमाडौले सम्मानित गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.