|

बाँके :  पश्चिम नेपालबाट नेपाली कांग्रेस मा प्रतिनिधित्व गर्ने थारु नेताले नेपाली कांग्रेसका उपसभापति एवं उपनेता विजयकुमार गच्छदारविरुद्ध लगाइएको मुद्दा फिर्ता नलिए सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका छन्।

गच्छदारमाथि लगाइएको झुठो मुद्दा खारेज नभए विभिन्न पक्षसँग सहकार्य गरेर चरणवद्ध आन्दोलन गर्ने नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री रामजनम चौधरीले चेतावनी दिए। उनले पार्टीले आन्दोलनमा जान निर्देशन दिइसकेको जिकिर गर्दै आन्दोलनमा पार्टीको पूर्ण सहयोग रहने दावी गरे। तर, कांग्रेसले आन्दोलनमा जाने नजाने निर्णय अझैँ गरेको छैन। उनले आन्दोलनका लागि पार्टीका शीर्ष नेतासँग सम्बाद भइरहेको बताए।

‘तपाईंहरू आन्दोलनमा जानुस्। हामी सहयोग गर्छौ भन्ने आश्वासन पार्टीका शीर्ष नेताबाट पाएका छौँ,’ नेता रामजनमले भने। नेपाली कांग्रेस, बाँकेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको निर्देशनमा अख्तियारले कांग्रेस नेता गच्छदारलाई भ्रष्टाचार मुद्दा लगाएको आरोप लगाए।

सरकारको प्रभावमा परेर आयोगले एउटै मुद्दामा कसैलाई दोषी र कसैलाई निर्दोष करार गर्न नमिल्ने बताए। उनले कांग्रेसमा आस्था राख्ने थारु नेता, कार्यकर्तालाई राजनीतिक आस्थाका आधारमा नेकपाले झुठा मुद्दा लगाएर फसाउने गरेको बताए।

‘रातो झण्डा बोक्नासाथ अपराध गरेकालाई समेत जोगाउने र कांग्रेस भएकै कारण निर्दोष व्यक्तिलाई झुठा मुद्दा लगाएर फसाउने काम वर्तमान सरकारले गरिरहेको छ,’ उनले भने। वर्तमान सरकार थारुविरोधी भएको आरोप लगाउँदै उनले थारु नेतालाई अगाडि बढ्न नदिने प्रपञ्चमा सरकार लागेको जिकिर गरे।

‘राजनीतिक र जातीय पूर्वाग्रहका आधारमा आयोगले ललिता निवास जग्गा प्रकरणमा गच्छदारलाई भ्रष्टाचार मुद्दा लगाएको छ। उहाँको राजनीतिक यात्रा समाप्त गर्ने दाउमा लागेको छ,’ रामजनमले भने।

कांग्रेस नेता एवं पूर्व राज्यमन्त्री गोपाल दहितले ललिता निवास प्रकरणमा गच्छदार दोषी भए पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई, नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, राजदूत लिलामणि पौडेल, न्यायाधीशकुमार रेग्मी पनि दोषी भएको बताए।

‘कम्युनिष्ट भएकै कारण निर्दोष र विपरित आस्था राखेकै आधारमा दोषी मान्नु प्राकृतिक कानुनको सिद्धान्त विपरित हो,’ उनले भने। उनले थारुको मुद्दामा थरुहट थारुवान संघर्ष समितिलगायत अन्य थारु संघ-संगठन सहकार्य गर्न सकिने बताउँदै अहिले नै कसैसँग सहकार्य नहुने बताए।

‘साझा मुद्दामा हामी सहकार्य गरेर अगाडि बढ्न तयार छौँ। तर सहकार्यको नाममा गलत व्यक्ति र संगठनसँग सहकार्य गर्न सकिँदैन,’ उनले भने। 

पूर्व नवलपरासीदेखि पश्चिम कञ्चनपुरसम्मका थारु नेताको सहभागिता रहेको पत्रकार सम्मेलनमा पूर्व श्रम राज्यमन्त्री एवं प्रदेश ५ का सांसद डिल्लीबहादुर चौधरी, पूर्वमन्त्री जनकराज चौधरीलगायत सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.