|

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगको १२औँ चरणको अन्तिम खेलमा हिमालयन शेर्पा र जावलाखेल युथ क्लबले बुधबार ३-३ गोलको बराबरी खेलेका छन्।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयनले पहिलो हाफमा लिएको ३-१ को अग्रतालाई अन्तिम समयसम्म कायम राख्न नसक्दा अंक बाँडेको हो। दोस्रो हाफमा जाउलाखेलले दुई गोल थप्दै ३-३ को बराबरी गर्दै १/१ अंक बाँडेका हुन्।

खेलको पाँचौ मिनेटमा स्टेफेन समिरले गोल गर्दै शेर्पालाई सुरुआती अग्रता दिलाएका थिए। २६औँ मिनेटमा विजय श्रेष्ठले गोल थप्दा हिमालयनले अग्रता दोब्बर पारेको थियो। ३५औँ मिनेटमा जावलाखेलका गोलरक्षक अरुण ब्लोनले रातो कार्ड पाएपछि जावलाखेल १० खेलाडीमा सीमित भएको थियो।

काउन्टरमा आएको बललाई पेनाल्टी क्षेत्रभन्दा बाहिर समातेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले अरुणलाई रातो कार्ड देखाएका थिए। पहिलो हाफको इन्जुरी समयमा जावलाखेलका खेलाडी कुबेर बिष्टले गोल गर्दै खेल अग्रता छोट्याएका थिए।

त्यसको केही समयपछि स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै हिमालयन शेर्पालाई ३-१ को अग्रता दिलाए। खेलको ६०औँ मिनेटमा जावलाखेलका फोडे फोफानाले एक गोल गरे भने रुपबहादुर लामाले एक गोल थपे।

बराबरीसँगै जावलाखेलले १२ खेलमा १९ अंक जोडेको छ। जावलाखेल लिगको पाँचौ स्थानमा छ। समान खेलबाट ११ अंक जोडेको हिमालयन शेर्पा ११औँ स्थानमा छ।

बुधबारको खेलसँगै शहीद स्मारक ए डिभिजिन लिगमा अन्तिम चरणका खेल बाँकी रहेका छन्। अहिलेसम्मको लिग समीकरणमा विभागीय टोली त्रिभुवन आर्मी २९ अंकका साथ तालिको शीर्ष स्थानमा रहँदा मच्छिन्द्र २८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ।

यी दुईको भिडन्ता लिगकोअ अन्तिम खेलमा हुनेछ। जुन खेल उपाधिका लागि निर्णायक खेल भएको छ। उक्त खेलमा आर्मीले मच्छिन्द्रलाई बराबरीमा रोके पनि आर्मी च्याम्पियन हुनेछ भने मच्छिन्द्रले पराजित गरे मच्छिन्द्र उपाधि विजेता हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.