|

काठमाडौं: त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान(आइओएम)ले डा. गोविन्द केसीलाई संस्थानको परिसरभित्र आमरण अनसनलगायतका कुनै पनि विरोधका कार्यक्रम नगर्न आग्रह गरेको छ। 

संस्थानले शुक्रबार विज्ञप्ति जारी गर्दै अनसन तथा विरोधका कार्यक्रमले शैक्षिक कार्यक्रम, परीक्षा तथा अस्पतालको उपचार सेवामा प्रत्यक्ष असर पर्ने भएकाले अनसन तथा विरोधका कार्यक्रम संस्थानको परिसरभित्र नगर्न आग्रह गरेको छ। संस्थानको निमित्त डिन प्रा.डा.विमलकुमार सिन्हाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'चिकित्सा जस्तो अति संवेदनशिल सेवा प्रदान गर्ने स्थलमा आमरण अनसन र विरोधका कार्यक्रमहरू सञ्चालन गर्न निषेधित रहेको व्यहोरा समेत सबै पक्षलाई स्पष्ट पार्न चाहन्छु।'

विज्ञप्तिमा अगाडि भनिएको छ, 'यस अनुरोधलाई अवज्ञा गरेर प्रचलित नियमको प्रतिकुल हुन गएमा सो बाट सिर्जना हुन सक्ने सम्पूर्ण परिणाम तथा परिस्थितिको जिम्मेवारी डा. गोविन्द के.सी. स्वयं नै हुनेछन्।'

यस्तै, संस्थानले केसीको अनसन र आन्दोलनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सघाउने चिकित्सक, कर्मचारी ,विद्यार्थी, रेजिडेन्ट लगायतकालाई समेत कारवाही गर्ने चेतावनी दिएको छ । विज्ञप्तिमा भनिएको छ, 'यस अध्ययन संस्थानमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई संस्थानले शैक्षिक, चिकित्सकिय तथा प्रसासनिक काममा व्यवधान हुने अनसनजस्ता कानुन विपरित कार्य गरेमा वा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गरेमा समेत त्रिवि शिक्षक कर्मचारी सेवासम्वन्धि नियम, २०५०, को परिच्छेद ९ को आचरण सम्वन्धि महल सशक्त ढंगले आकर्षित हुने व्यहोरा जानकारी गराउँदछु।'

यस्तै आइओएमले विज्ञप्तिमा विद्यार्थी तथा रेजिडेन्ट चिकित्सकको हकमा समेत आचार संहिता सम्वन्धि महल सशक्त ढंगले आकर्षित हुने जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.