विचार

सन्दर्भ जलवायु परिवर्तनको : समस्‍या हिमाल, नेपाल र मानवजातिको

वायु, जल, वनस्पति हुँदै मानवजातिमाथि नै खतराको घण्टी

फागुन ४, २०७६

    जलवायु परिवर्तन एउटा प्राकृतिक प्रक्रिया हो। जसले प्राणीजगतलाई हावा पानी, खाद्यपदार्थ, ऊर्जा प्रदान गर्दछ। तर, आर्थिक श्रेष्ठता हासिल गर्ने नाममा भएका मानवजन्य गतिविधिले जलवायुमा पार्ने प्रभावले प्राणीजगतमा ठूला नकारात्मक असर छाड्ने गर्दछ। जसका कारण धेरै राम्रा प्राचीन सभ्यताहरू नष्ट भएका छन्।

    वर्तमान विश्वमा जलवायु परिवर्तनको प्रभावबाट उत्पन्न विभिन्न प्रकोपका कारण खरबौँ डलरको नोक्सान हुने गरेको तथ्यहरूले देखाएका छन्। विगत १५ वर्षको अध्ययनले प्रत्येक १० वर्षमा जलवायु परिवर्तनको चपेटामा परेर विश्वमा मर्ने मानिसहरूको संख्या दोब्बर भएको देखाएको छ। त्यसकारण जलवायु परिवर्तनले पार्ने प्रभावको व्यवस्थापन सम्बन्धमा काम गर्न अत्यावश्यक हुँदै आएको छ।

    यसका लागि हामीलाई जलवायुसम्बन्धी सूचना, यसबाट उत्पन्न हुने जोखिमको अनुमान, जलसम्पदामा पर्ने प्रभाव, खाद्य सुरक्षा- खास गरी कृषि र सिँचाइमा पर्ने प्रभाव, जलविद्युत्, पर्यावरणीय पद्दतिमा अन्तरनिहित पानीको शुद्धता, नदीहरूमा प्रवाहित पानीको-गुणस्तर, जलवायुजन्य प्रकोप र त्यसको व्यवस्थापनबारे सोच्न र व्यवस्थापन गर्नु जरुरी छ।

    जलवायुसम्बन्धी नीति निर्मातासामु सूचनामा पहुँच, त्यसका लागि गरिने सोध र समयमा त्यस्ता प्रभावहरू निराकरण वा कम गर्ने रणनीति, ऊर्जा उपयोग र उपभोगमा परिवर्तन, यी सबैका लागि संस्थागत विकास नयाँ शिराबाट सोच्नु आवश्यक छ।

    चिन्ता बढ्दो कार्बनडाइअक्साइड ( co2 )को

    जलवायु परिवर्तनको विषय आज विज्ञान, समस्त जनसमुदाय र राजनीतिकर्मीहरूका लागि ठूलो चिन्ता र चासोको विषय भएको छ। विश्व समुदायमा यसलाई लिएर छलफल र वैचारिक मतभेदहरू रहँदै आएका छन्। यी सबैको कारण कार्बनडाइअक्साइडको मात्रा वायुमण्डलमा बढी रहेको छ भन्ने तथ्यमा कसैको मतभेद छैन। जसको प्रमुख कारण हाइड्रोकार्बनमा आधारित तेलको उत्खनन र प्रयोगबाट भएको हो।

    सन् १९५८ देखि निरन्तर वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रा मापन गरिएको छ। यो नै वायुमण्डलमा 'हरित गृह ग्यासको' प्रभाव पार्ने  मुख्यकारक तत्त्व देखिएको छ। कार्बनडाइअक्साइडले वायुमण्डल र पृथ्वीबीच ओढ्ने कम्बलको जस्तो कार्य गर्छ। यसले वायुमण्डल, स्थल र जल क्षेत्रहरूमा तापक्रमलाई छेकेर राखेकै कारण पृथ्वीमा तापक्रम बढिरहेको छ। यसका साथै छोटो समयसम्म रहने प्रदूषकहरू मिथेन, नाइट्रस अक्साइड र अरू विभिन्न कणहरू (Particles) को मात्रा वायुमण्डलमा हुने कारणबाट पनि तापक्रम बढेको छ। यी कारणले विभिन्न किसिमका जलवायु परिवर्तनसम्बन्धी प्रभावहरू बढ्न गइरहेका छन्।

    यसरी कार्बनडाइअक्साइड र अन्य प्रदूषकहरूको मात्रा वायुमण्डलमा बढ्दा पृथ्वीको तापक्रम बढ्छ- त्यो वृद्धि हुँदा पानी वाष्पीकरणमा हुने प्रक्रिया र यसको प्रभाव, आकाशमा देखिने बादलको मात्रा र समुद्रमा हुने पानी र वायुको सञ्‍चार कस्तो हुन्छ? त्यसले कस्ता प्रभावहरू लिएर आउँछ भन्ने कुरा अझै यकिनका साथ भन्न सकिने अवस्था छैन।

    यदि पृथ्वीमा कार्बनडाइअक्साइड (CO2) को मात्रा वार्षिक रूपमा अनवरत वृद्धि भइरह्यो भने अहिलेको जीवन चक्रप्रणालीमा गम्भीर असर पार्नेछ। यसलाई नियन्त्रण गरिएन भने यसले वायु, जल, वनस्पति हुँदै मानवजातिमाथि नै खतराको घण्टी बजाउनेछ।

    यस धर्तीमा रहेका असंख्य जीवमध्ये मानिस पनि एउटा जीव मात्रै हो, प्रकृतिले उसलाई त्यति मात्रै चिन्छ। अहिले भइरहेको जलवायु परिवर्तनका आधारमा भन्ने हो भने आगामी शताब्दीहरूमा समेत पुन:भरण गर्न नसक्ने गरी ग्रिनल्याण्ड-अन्टार्कटिका, पृथ्वीका ध्रुवीय क्षेत्र, तिब्बती पठारका हिमाल, हिम नदी र हिमतालहरू, हिम श्रृंखलाहरू काला चट्टानमा परिणत हुनेछन्।

    मानवजातिले नदीहरूमा बाँध बाँधेर जलविद्युत् उत्पादन गर्न जान्यो तर आफ्नो जिउलाई बूढो हुनबाट रोक्ने विधि जानेको छैन। हामीले सिँचाइ पद्दतिको डिजाइन गर्न जान्यौं तर आफ्नो दिमाग डिजाइन गर्न जानेनौँ। लामखुट्टे हाम्रा कान वरिपरि करायो र निद्रा खलबल्यायो भने मार्न जान्यौँ। तर, हाम्रो मनमा विभिन्न विचारहरूको आँधीबेहरी आयो भने र निद्रा विथोल्यो भने त्यस्ता विचारहरूलाई मार्ने सामर्थ्य हामीसँग अझै छैन।

    यस्तो हुनबाट रोक्न नदिने शक्ति भनेको आजको हाइड्रो कार्बनमा आधारित पेट्रोलियम पदार्थको प्रयोगबाट औद्योगिक उत्पादन र त्योसँगै गाँसिएर आएका चिजवस्तुहरूको अत्यधिक उपभोग कम गर्दै जानु हो।

    हिमाल नेपाल जस्ता देशहरूको मात्र नभएर विश्वकै सम्पत्ति हो। हिमाल यस क्षेत्रका सम्पूर्ण प्राणीहरूको जीवनदायिनी स्रोत पनि हो। विश्वमा भएका र गरिएका मानव क्रियाकलापबाट यो सम्पत्तिमाथि सिधै प्रभाव पार्दै आएको छ।

    यसको भू-बनोट मानवजातिको आगमन हुनुपूर्व पनि कमजोर थियो। त्यसमा पनि वर्तमानमा यो क्षेत्र जलवायु परिवर्तन, भूमण्डलीकरण, भौतिक संरचनामा विकास र विस्तार, पर्यटन, शहरीकरण र बसाइँसराइ आदिको चपेटामा परी द्रुत गतिमा परिवर्तन भइरहेको छ। यो क्षेत्रमा हुने मानवीय गतिविधिबाट भन्दा पनि अन्तर्राष्ट्रिय र क्षेत्रीयस्तरमा भएका कारणबाट उत्सर्जित प्रदूषणबाट बढी प्रभावित छ।

    हारेको विकास

    आज विश्वमा मानवजातिको भविष्यको चुनौती जलवायु परिवर्तन र त्यसबाट हुने प्रभावसँग गाँसिएको छ। प्रख्यात लेखक तथा दार्शनिक हरारीले यसलाई मीठो र बुझिने शब्दमा चित्रण गरेका छन्। उनी भन्छन्- मानवजातिले नदीहरूमा बाँध बाँधेर जलविद्युत् उत्पादन गर्न जान्यो तर आफ्नो जिउलाई बूढो हुनबाट रोक्ने विधि जानेको छैन।

    हामीले सिँचाइ पद्दतिको डिजाइन गर्न जान्यौं तर आफ्नो दिमाग डिजाइन गर्न जानेनौँ। लामखुट्टे हाम्रा कान वरिपरि करायो र निद्रा खलबल्यायो भने मार्न जान्यौँ। तर, हाम्रो मनमा विभिन्न विचारहरूको आँधीबेहरी आयो भने र निद्रा विथोल्यो भने त्यस्ता विचारहरूलाई मार्ने सामर्थ्य हामीसँग अझै छैन।

    जलवायु परिवर्तन र यसको प्रभावबाट भविष्यमा कस्तो मानव सभ्यताको विकास हुन्छ? पर्यावरणीय पद्दति कस्तो हुन्छ यो कुरा भन्न अझै अनिश्चित छ। विकसित biotechnology, bioinformatics ले केही हदसम्म मद्दत गर्ला तर विगतमा पृथ्वीमा भएका ठूला ठूला घटनाहरूले के देखाउँछ भने प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन, अधिक उपभोग, क्षेत्र र ठाउँहरूले धान्न सक्नेभन्दा बढी जनसंख्या वृद्धि र ती सबैबाट जलवायु परिवर्तनमा पार्ने प्रभावहरूले मानव अस्तित्वमा नै खतरामा पारेको देखिन्छ। किनभने धेरै जस्तो जलवायु परिवर्तनका प्रभावहरू मानव जीवनका लागि हानिकारक देखिएका छन्।

    जलवायु परिवर्तन र त्यसका प्रभावलाई न्यूनीकरण गर्न केही वैज्ञानिक प्रयासहरू पनि भएका छन्। उदाहरणका लागि वायुमण्डलमा सूक्ष्म धुलोका कणहरू (Particle) छर्ने वा वायुमण्डलबाट कार्बनडाइ अक्साइड सोसेर निकाल्ने काम गरिन्छ। तर, त्यस्ता प्रविधिहरू महँगा, धेरै समय लाग्ने साथै ती कामबाट हुने नकारात्मक पक्षहरूको अनभिज्ञता अहम छ।

    उदाहरणका लागि पहिला रेफ्रिजेरेटरमा राखिने विषाक्त क्लोरोफ्लोरो कार्बनलाई विषमुक्त CFC ले प्रतिस्थापित गर्‍यो। तर, त्यही CFC वायुमण्डलमा गएपछि सूर्यका विकिरणहरू पृथ्वीमा पर्नबाट रोक्ने ग्यास 'Ozone' ओजन तहलाई भ्वाङ पार्ने काम गर्‍यो र त्यस्ता रसायनहरूको प्रयोगमा बन्देज लगाइयो। यसकारण यो भूमण्डल वा वायुमण्डललाई पटकपटक प्रयोगशाला बनाउने कुरा पनि अति संवेदनशील र गम्भीर छ।

    प्रश्न उठ्छ यदि त्यस्तो हो भने जलवायु परिवर्तन रोक्नै नसकिने कुरा हो त? वा यसको मतलव पृथ्वी हाम्रा भावी सन्ततिहरू बस्नै नसक्ने (uninhabitable) ठाउँ हुन्छ त भन्ने प्रश्नहरू उब्जिएका छन्।

    विनाशको अनुमान

    जलवायु परिवर्तनले हिमालयमा पार्ने प्रभावबारे आज विश्व जलवायु राजनीतिमा उपयुक्त स्थान पाएको छैन। यसका लागि नेपाल जस्ता देशको प्रयास जरुरी छ। काराकोरमदेखि म्यानमारसम्म र तिब्बत पठारबाट निस्कने १० वटा ठूला नदी प्रणालीहरू, तिनका सहायक नदी, हिमनदी, ताल तलैयाहरू, मूल मुहान आदिको अवस्था भविष्यमा कस्तो हुन्छ? त्यस क्षेत्रमा वसोबास गरेको करिब दुई करोड ५० लाख र तल्लो तटीय क्षेत्रमा बस्ने करिब एक अर्ब ९० करोड मानिसको अवस्था कस्तो हुन्छ भन्ने विषयमा अध्ययनहरू निकै कम भएका छन्।

    नेपाल जलवायु परिवर्तनको चपेटामा अत्यधिक परेको देश हो भन्ने अनुमान गरिँदै आएको छ। आज हामी विश्वको २०औं सम्भावित प्राकृतिक प्रकोप क्षेत्र भएको देशमा पर्दछौं। भुइँचालोका सम्भावनाका दृष्टिले विश्वमा ११औं संवेदनशील देशमा पर्दछौँ। करिब ८० प्रतिशतभन्दा बढीको संख्यामा नेपालीहरू बाढीपहिरो असिना, डढेलो, भूकम्प, हिमताल फुट्ने खतरा जस्ता प्राकृतिक प्रकोपका सम्भावनाको क्षेत्रमा छौँ।

    हिन्दुकुश हिमालय क्षेत्रमा करिब २५ हजार ६१४ हिमताल रहेको २००१ देखि २००९ सम्मको अध्ययनले देखाएको छ। तिनीहरू ०.०२५ वर्ग किमिदेखि १५ वर्ग किमिसम्मका छन्। तिनीहरू २२०३  (MSL) देखि ६२०० (MSL) उचाइमा अवस्थित छन्। यसरी नै नेपालमा २००१ मा जम्मा २ हजार ३२३  पाइएका थिए। सन् २००९ को अध्ययनले करिब १४४६ मात्र देखायो।

    यसबाट ३७ प्रतिशत हिमताल खुम्चिएका र तिनको अवस्थिति क्षेत्र १४ प्रतिशतले घटेको पाइएको छ। सो अध्ययनले २१ वटा हिमताल सम्भावित खतराको अवस्था र ६ वटा अति संवेदनशील देखाएको छ। ती ६ मध्ये च्छोरोल्पा, तल्लो वरुण, इम्जा, लुम्दिङ, पश्चिम चामजाङ र धुलागीहरूको अवस्था गम्भीर देखिएको छ। यी तथ्य आजभन्दा ११ वर्षअघि अर्थात् सन् २००९ का हुन्। पछिल्ला दिनमा त्यसले पार्ने वा परेको असर त के तिनको अवस्थाबारे समेत कुनै अध्ययन भएको छैन।

    नेपालको पीडा चासो

    नेपाल जलवायु परिवर्तनको चपेटामा अत्यधिक परेको देश हो भन्ने अनुमान गरिँदै आएको छ। आज हामी विश्वको २०औं सम्भावित प्राकृतिक प्रकोप क्षेत्र भएको देशमा पर्दछौं। भुइँचालोका सम्भावनाका दृष्टिले विश्वमा ११औं संवेदनशील देशमा पर्दछौँ। करिब ८० प्रतिशतभन्दा बढीको संख्यामा नेपालीहरू बाढीपहिरो असिना, डढेलो, भूकम्प, हिमताल फुट्ने खतरा जस्ता प्राकृतिक प्रकोपका सम्भावनाको क्षेत्रमा छौँ।

    सन् २०१९ को एक अध्ययनले सन् १९८० देखि २०१७ सम्म ४१ वटा ठूला बाढीपहिरोमा परेर ६ हजार ३०२ जनाको मृत्यु र करिब ५० लाख मानिस प्रभावित भएको देखाएको छ। बाढीपहिरोले विद्युत् उत्पादन र प्रसारण लाइन, पुल र साँघुहरू नष्ट पारेको पनि अध्ययनले देखाएका छन्। त्यसमा जलवायु परिवर्तनको प्रभाव अझ  बढ्न लागेको छ।

    हालै मात्र अन्तर्राष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (इसिमोड) ले यस क्षेत्रमा भए गरेका तीन सयभन्दा बढी शोधहरूको विश्लेषणका आधारमा निष्कर्ष निकालेको छ। जसअनुसार औद्योगिक युग सुरु हुनुभन्दा अगाडिको तुलनामा १.५ सेल्सियस तापक्रम मात्र बढेको खण्डमा २१औं शताब्दीको अन्त्यसम्म दुईतिहाइ हिउँ पग्लिने अनुमान गरिएको छ। यदि यस्तो अवस्थामा रहेका हिमनदी सुक्ने, हिमताल फुट्ने खतरा बढ्न जाने र त्यसले समग्र नदी प्रणालीमा नै नकारात्मक असर पार्ने सम्भावना देखाएको छ।

    त्यसकारण त्यस्ता हिउँ तालको समयमा नै छेकबार, व्यवस्थापन र अनुकूलनका कार्य गर्न सकिएन भने यस क्षेत्रमा निर्मित जलविद्युत् र खानेपानीको आपूर्तिको अवस्था कस्तो हुन्छ? हाम्रा पर्वत पहाडहरू कस्ता हुन्छन्? यस क्षेत्रमा बसोबास गर्ने मानिस र प्राणीहरूको हालत कस्तो हुन्छ?

    यी र यस्ता किसिमका भावी चुनौती पहिचान गरी कसरी अगाडि बढ्न सकिन्छ भन्ने सोचका साथ 'सगरमाथा संवाद' वर्तमान नेपाल सरकारले सुरु गरी पहिलो प्रारम्भिक चरणको अन्तर्राष्ट्रिय चौतारी र बहसको थलोको रूपमा राष्ट्रिय सगरमाथा संवाद सुरू गरेको छ।

    त्यसकारण अबको बहस केवल विश्व तापमान वृद्धितिर मात्र सीमित नभई क्षेत्रीय र राष्ट्रियस्तरमा जलवायु परिवर्तन र तिनको यथार्थ अवस्थाको आंकलन गर्न जरूरी देखिन्छ। यसका लागि क्षेत्रीय र राष्ट्रियस्तरमा जलवायु परिवर्तनको प्रभाव र जलवायु परिवर्तनका कारकतत्त्‍व र तथ्यांकहरू (जस्तै सुक्‍खा जर्ती, शीतलहर, तापलहर) जसले तापक्रम वृद्धिमा बढी योगदान पुर्‍याएको छ। प्राप्त तथ्यांकका आधारमा गरिने अनुमानले यसक्षेत्रका राजनेता र नीति निर्माताहरूलाई बलियो जानकारी उपलब्ध गराउनेछ।

    अहिले मानवजाति निरन्तर अनिश्चितताको अवस्थामा (constant state of uncertainty) मा बाँचिरहेको छ। हाम्रा हिमालय क्षेत्रको शालाखाला तापक्रम भविष्यमा कसरी र कुन मापनमा कुन दरले वृद्धि हुन्छ भन्ने अवस्थामा ठीक तरिकाले भन्न सक्ने अवस्थामा छैनौँ। कहिले चक्रवात (tornado) आउँछ? बाढीपहिरो आदिको यकिन गरी भन्न सक्ने अवस्थामा पनि छैनौँ।

    तर, हामीले विकास गरेका मोडेलहरूले यथास्थिति (business as usual scenario) मा जनसंख्याको वृद्धि यही अनुपातमा भइरहने र आधुनिक अर्थतन्त्र हाइड्रो कार्बनमा आधारित तेलमा रहिरहने हो भने आउँदा दशकहरूमा करिब ५ प्रतिशतबाट ६ डिग्री सेल्सियस तापमानमा वृद्धि हुने कुरा IPCC को विज्ञसमूह (Expert Group) ले अनुमान गरेको छ।

    यदि त्यस्तो अवस्था आएमा हाम्रा हिमश्रृंखलाहरूको हविगत कस्तो हुन्छ, हाम्रा पहाड कस्ता हुन्छन्, हाम्रो जैविक विविधता र पर्यावरणीय पद्दतीहरू कसरी परिवर्तन हुन्छन्? समुद्री तटमा बसोवास गर्नेहरूको हालत के हुन्छ भन्न कठिन छ। जनजिविकाको अवस्था कस्तो हुन्छ? यी र यस्ता विषयको उठान र बहस गरी अन्तर्राष्ट्रिय ध्यान आकृष्ट गराई हामीजस्ता देशहरूमा कस्ता अनुकूलका कार्य गर्न सकिन्छ र गर्नुपर्छ भन्ने दृढ अठोट राखेर यस विषयमा कुरा गर्न सगरमाथा संवाद सुरु गरिएको छ।

    दिगो विकासका लागि सगरमाथा संवाद

    माथि नै भनिसकियो जलवायु परिवर्तनको अहं कारकतत्त्‍व मानवीय क्रियाकलाप नै हो। त्यसकारण जलवायुमा असर पार्ने गतिविधि कम गर्ने हो भने वर्तमान अवस्थामा गरिएका नकारात्मक क्रियाकलापहरू कम गर्नुपर्‍यो। अत्यधिक उपभोग दिगोपनमा झार्नुपर्‍यो। त्यसको मतलव हामी हरित अर्थतन्त्रमा जानुपर्‍यो।

    स्वच्छ र नवीकरणीय ऊर्जाको प्रयोगबाट हाम्रो जीवन निरन्तर रहिरहने छ। अर्को कुरा मानवजातिलाई चाहिने आवश्यक स्रोतहरूको दिगो विकास र दिगो प्रयोग।

    किनभने अत्यावश्यक स्रोतहरू जस्तै-पानी, रूख-विरुवाको कमीका कारणबाट विगतमा मानव सभ्यताहरू नै नष्ट भएका उदाहरण छन् भने केही स्रोतहरू जस्तै (hydro-carbon) पेट्रोल, डिजेल आधारित खनिज तेलहरूले युद्ध पनि निम्त्याएका छन्।

    जलवायु परिवर्तनको प्रभाव रोक्ने कुरा एक देशबाट मात्र सम्भव छैन। किनभने ५० देखि ६० प्रतिशत जलवायु परिवर्तनका कारक र प्रदूषण छिमेकी र विकसित मुलुकबाट पनि भित्रिन्छ। यसका लागि अन्तर्राष्ट्रिय क्षेत्रीय सहयोग, सहकार्य र विश्व समुदाय समेतको आर्थिक र प्राविधिक सहयोग आवश्यक पर्दछ।

    विगत र हालसम्म पनि साना ठूला सबै देशहरूको कूटनीति र युद्ध रणनीतिहरू (Hydrocarbon) मा आधारित ऊर्जाका स्रोत कब्जा र दोहन गर्न कुनै न कुनै रूपमा रहेका छन्। तिनले जलवायु परिवर्तन र हरित अर्थतन्त्रको विकासमा पनि भविष्यमा राष्ट्रहरूको कूटनीति ऊर्जा उत्पादन, खानी, पानी र तिनको प्रयोग र त्यस्ता स्रोतहरू कब्जा गर्नेमै केन्द्रित हुने देखिन्छ। त्यसकारण हाम्रो जस्तो त्यस्ता स्रोत प्रचुर मात्रामा भएका देशहरूले त्यहीबमोजिम समन्वयात्मक दीर्घकालीन कूटनीति तय गरी अगाडि बढ्नु जरुरी छ।

    यी र यस्ता विषयहरूलाई हृदयंगम गर्दै यस्ता समस्या विश्वमञ्चसामु ल्याउने र सम्बोधन गर्ने उद्देश्‍यले वर्तमान सरकारले जलवायु परिवर्तन र यसबाट हुने सबै किसिमका प्रभावलाई मध्यनजर गर्दै राष्ट्रिय र प्रादेशिक योजनाहरू तर्जुमा गरी दीर्घकालीन सोचसहितको १५औं पञ्चवर्षीय योजना ल्याएको छ। जसमा वातावरण अनुकूलन, निर्मूलीकरण, कार्बन स्थितीकरण, हरित ऊर्जाको प्रयोग, खनिज र जैविक वस्तुहरूको दिगो उपभोग जनजिविकामा व्यापक सुधारमार्फत सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य प्राप्ति गर्ने नीति र देशलाई समृद्ध र नागरिकहरूलाई सुखी बनाउने नीति अंगीकार गरेको छ।

    जलवायु परिवर्तनको प्रभाव रोक्ने कुरा एक देशबाट मात्र सम्भव छैन। किनभने ५० देखि ६० प्रतिशत जलवायु परिवर्तनका कारक र प्रदूषण छिमेकी र विकसित मुलुकबाट पनि भित्रिन्छ। यसका लागि अन्तर्राष्ट्रिय क्षेत्रीय सहयोग, सहकार्य र विश्व समुदाय समेतको आर्थिक र प्राविधिक सहयोग आवश्यक पर्दछ।

    नेपाल जलवायु परिवर्तन संरचना महासन्धि (UNFCCC) को पक्ष राष्ट्र भएको र यसका दुईवटा महत्त्‍वपूर्ण अंग क्योटो अभिसन्धि र पेरिस सम्झौताको पूर्णपालना गर्नुको हामीसँग विकल्प छैन।

    जलवायु परिवर्तनको क्षेत्रमा हामीले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा भोगेका मुद्दालाई आत्मसात गर्दै सगरमाथा संवादमा उत्थानशिलता र अनुकूलता (Resilient and Adaptation) अन्तर्गत पानी र खाद्य सुरक्षा तथा जलवायुजन्य प्रकोप, ऊर्जा र हरित (Green economy and energy) अर्थतन्त्रअन्तर्गत यसका लागि

    चाहिने नीति र निजी क्षेत्रले अपनाउने दिगो व्यावसायिक गतिविधि, परिवर्तनका माध्यमबाट खोजिने समाधानअन्तर्गत, आधुनिक र परम्परागत ज्ञानमा आधारित प्रविधि, साझेदारी र क्षेत्रीय सहयोग (Partnership and Regional Cooperation) अन्तर्गत लैंगिक समानता, युवा र महिलाको समस्या तथा तल्लोतटीय र माथिल्लो तटीय सम्बन्धका बारेमा छलफल गरिनेछ।

    हालै सम्पन्‍न यो राष्ट्रियस्तरको छलफलले आउँदो चैतमा (अप्रिल २ देखि ४ सम्म) आयोजना हुने विश्वस्तरको सगरमाथा संवादमञ्चलाई नेपालको तर्फबाट प्रस्तुत गरिने विषयहरू स्पष्ट गर्नेछ।

    त्यसका लागि एकतिर नेपालले संयुक्त राष्ट्रसंघका स्थायी नियोगहरूको उपस्थितिलाई अझ सशक्तीकरण गर्नुपर्ने हुन्छ। अर्कातिर जलवायु परिवर्तन महासन्धिको २६औं सम्मेलन संयुक्त अधिराज्य बेलायतले आयोजना गर्दैछ। त्यसका लागि २५औं सम्मेलनको अनुभव समेतलाई संगाल्दै नेपालको उपस्थितिलाई सशक्त पार्न तयारी सुरु गर्नु पर्नेछ।

डा. कृष्णप्रसाद ओली

ओली राष्ट्रिय योजना आयोगका सदस्‍य हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]