|

काठमाडौं : नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच एकीकरण हुँदा गरिएको भागवण्डाअनुसार फोरमले बल्ल नामावली बुझाएको छ।

विजय गच्छदारको समूहको नेतृत्व गर्दै कृष्ण दुलालले कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई नामावली बुझाएका हुन्। गच्छदार नेतृत्वको तत्कालिन पार्टीमा दुलाल केन्द्रीय सदस्य थिए।  

दुलालले दुई पार्टीको एकतापछि संगठन समायोजनको लागि बनेको समितिको संयोजक रहेको हिसाबले निधिलाई नामावली बुझाएका हुन्। २०७४ असोज २९ गते कांग्रेस र फोरमबीच एकता भएको थियो। 

मंगलबार गच्छदार समूहको तर्फबाट बुझाइएको नामावलीमा २२ जिल्लामा तत्कालीन फोरमबाट पदाधिकारीमा रहेका, साधारण सदस्य रहेका, २२ वटै जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय समितिका पदाधिकारी र सदस्यको नाम, दुई सय महासमितिका सदस्यको नाम र ६ सय महाधिवेशन प्रतिनिधिको नाम उल्लेख छ।  
गच्छदार समूहले बुझाएको नाम पार्टीको विभिन्न संगठनको विभिन्न तहमा पेश हुने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

‘पार्टी एकीकरण हुँदा भएको सम्झौता अनुसार तत्कालीन लोकतान्त्रिक फोरमबाट नामावली आएको छ,’ पौडेलले भने, ‘यहाँ आएको प्रतिवेदनमा उल्लेख भएको नामहरू अब  विभिन्‍न संगठनमा हुनुहुनेछ।’ कांग्रेसले दुई पार्टीको एकता पछि संगठन समायोजनको लागि निधिको संयोजकत्वमा सहमहामन्त्री प्रकाशशरण महत, दीपक गिरी र महेश आचार्य सदस्य रहेका थिए। 

गच्छदार समूहले नामावलीसहितको प्रतिवेदन बुझाएपछि संयोजकको हिसाबले कांग्रेस उपसभापति निधिले काम अघि बढाउन तोक लगाइदिएको पौडेलले जानकारी दिए। गच्छदारको समूहले केन्द्रीय सदस्यमा रहनेहरुको नामावलीबाहेक अरू संगठनमा रहनेहरूको नाम मंगलबार बुझाएको बताइएको छ।

फोरम र कांग्रेसबीच एकता हुँदा उपसभापतिसहित ११ जना केन्द्रीय सदस्य फोरमलाई दिने सहमति भएको थियो। सोही सहमतिअनुसार नै गच्छदार अहिले कांग्रेसको उपसभापति भएका हुन्। केन्द्रीय सदस्यहरूको नाम भने गच्छदारले अझै पार्टीमा बुझाएका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.