एक्ल्याएर घेराबन्दी गर्न खोजेको भन्दै ओली रुष्ट

|
फाइल फोटो

काठमाडौं : प्रतिनिधिसभाको निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट कांग्रेसका सञ्जय गौतमसँग अप्रत्यासित हार व्यहोरेपछि नेकपाका नेता वामदेव गौतमको प्रधानमन्त्री बन्ने सपनामा धक्का लागेको थियो। 

पार्टीकै शक्ति लागेर आफूलाई हराइएको दाबी गर्दै आएका उनले प्रतिनिधिसभामा निर्वाचनमा हार व्यहोरे पनि शक्तिमा फर्किने प्रयासलाई निरन्तरता दिइरहे । 

डोल्पामा पहिलो नजर 

त्यसैको प्रकट रुप थियो तत्कालिन पर्यटन राज्यमन्त्री धनबहादुर बूढालाई डोल्पाबाट राजीनामा गराएर उपनिर्वाचनमा उठ्ने प्रयास। वामदेवका लागि राजीनामा गरिदिने ‘उधारो बचन’ दिएर बूढा डोल्पा पुगे। उनले त्यहाँ मतदाता र कार्यकर्तासँग परामर्श गरेको बताए। अनि काठमाडौं फर्किएर ‘टुरिस्ट नेता’का लागि राजीनामा गरेमा जे पनि हुने धम्की मतदाताले दिएको भन्दै बूढाले सांसद पद छाड्न मानेनन्। 

डोल्पामा धनबहादुर बूढाले राजीनामा दिन नमानेपछि वामदेवको नजर बाँकेतिर सोझियो। बाँके क्षेत्र नम्बर ३ का सांसद नन्दलाल रोकायालाई राजीनामा गराएर उपनिर्वाचन लड्ने प्रयास गरे। 

त्यसकै एक प्रयास महासचिव विष्णु पौडेलले २०७५ भदौमा रोकायालाई वामदेवका लागि क्षेत्र खाली गरिदिन आग्रह गरे। तर त्यहाँ पनि रोकायाले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले भने मात्रै आफूले पद छाडिदिने जवाफ दिए। 

रोकाया पनि तयार नभएपछि वामदेवको प्रधानमन्त्री सपना अझै पर धकेलिँदै थियो। यस्तोमा उनी आफ्ना लागि उपयुक्त विकल्पको खोजीमै थिए। 

काठमाडौं ७ 

बाँकेमा पनि पार नलागेपछि वामदेवले काठमाडौंमा नजर डुलाए। उनको नजर परेको थियो काँठ भूगोलसहितको काठमाडौं क्षेत्र नम्बर ७ । जहाँबाट निर्वाचित भएका थिए हाल सहरी विकास राज्यमन्त्री बनेका रामवीर मानन्धर।

वामदेवका लागि २०७५ असोज २३ मा पत्रकार सम्मेलन गरेरै रामवीरले आफ्नो क्षेत्र खाली गर्ने घोषणा गरे। उनले जसरी पनि वामदेवलाई जिताएरै छोड्ने भन्दै राजीनामाको घोषणा समेत गरे। 

तर, रामवीरको राजीनामा पार्टी संसदीय दलले स्वीकृत गरेन। अर्थात संसदीय दलका नेता केपी शर्मा ओलीले वामदेवका लागि काठमाडौं क्षेत्र नम्बर ७ खाली नगर्न रामवीरलाई निर्देशन नै दिए। मानन्धरले पार्टी नछोडेर सांसद पदमात्र सम्मानित नेतालाई चुनावको माध्यमबाट दिन चाहेको बताए।

‘मैले पार्टी छोडेको छैन। म विकासका लागि अघि बढेको छु’, उनले भनेका थिए, ‘जनताको अपेक्षा विकास निर्माण हो। त्यसका लागि स्थिरता चाहिन्छ। देश बनाउने आधारका लागि मान्छेको खोजी हुन्छ। त्यसैले पद छोड्न लागेको हुँ।’ 

वामदेवको इतिहास हेर्न आग्रह गरेका उनी यो निर्णय लिएर जब मतदातासामु पुगे तब उनी क्षेत्रबाट भाग्ने अवस्था आइलाग्यो। एकातिर प्रधानमन्त्रीले राजीनामा नदिन दिएको दबाब अर्कातिर मतदाताको आक्रोश। रामवीरसँग राजीनामाको निर्णयबाट पछि हट्नुको विकल्प थिए। 

पटक पटकको प्रयासबाट थाकेका वामदेवका लागि उनकै गुटका तत्कालीन भौतिक मन्त्री रघुवीर महासेठले पनि धनुषाको आफ्नो क्षेत्र छाड्न तयार रहेको बताए। तर वामदेवले धनुषा जानेबारे खासै चर्चा भएन। 

त्यसपछि कास्की २

देशका कयौँ निर्वाचन क्षेत्रमा नजर लगाएका वामदेवले २०७५ फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा रवीन्द्र अधिकारीले ज्यान गुमाएपछि कास्की २ मा नजर लगाए। उनले कास्की २ मा आफैँ निर्वाचन लड्ने भन्दै नेतृत्वलाई दबाब दिएको कुरा पनि सार्बजनिक भयो। 

जसका कारण नेकपा कास्की २ मा लामो समय अनिर्णित भयो। तर त्यहाँ पनि वामदेवको प्रयास विफल भयो। पार्टी जिल्ला र प्रदेश कमिटीले रवीन्द्र पत्नी विद्यासहितको नाम सिफारिस गरेर पठाए। 

उपनिर्वाचनमा लड्न भौतारिइरहेका उनले अन्त्यमा कास्की २ मा आफू उठ्दा नेकपाकै कार्यकर्ताले हराउन सक्ने सम्भावनालाई स्वीकारे। कास्की २ मा आठ हजार मतान्तरले रवीन्द्र विजयी भएका थिए। तर वामदेवले त्यहाँ पनि आफूलाई हराउने निचोडसहितका विज्ञप्ति नै निकालेर पछि हटे।

अनि राष्ट्रिय सभा

तत्कालीन नेकपा एमालेको नवौँ महाधिवेशनबाट केपी ओली अध्यक्षमा निर्वाचित हुँदा निर्णायक उनै वामदेव गौतम थिए। उनैको बलियो साथले ओली पार्टी अध्यक्ष हुँदै संसदीय दलको नेता बनेर दुई पटक प्रधानमन्त्री बनिसकेका छन्। 

यस्तो अवस्थामा ७० भन्दा उकालो लागिसकेका वामदेव पार्टीको शक्ति सन्तुलनमा निर्णयक र खेलाडी मानिन्छन्। नवौँ महाधिवेशनमा माधवकुमार नेपाल र केपी ओलीबीचमा जस्तै अहिले पनि ओली र प्रचण्डबीच उनी ‘खेलाडी’ हुन्। 

‘निर्णायक खेलाडी’ भएकै कारण उनको निवास भैंसेपाटीमा केही महिनाअघि बसेको ओलीबाहेकका नेताको गुटभेलाले नेकपामा नयाँ तरंग ल्याएको थियो। भैंसेपाटी भेलाबाटै ओलीले एक्लिएको महसुस गरे भने प्रचण्डले अझै शक्ति बढेको निचोड निकाले।

१५–१९ माघको केन्द्रीय कमिटी बैठकमा प्रतिवेदनमाथि छलफलका लागि बनेका समूहको समिकरण केलाउँदा पनि प्रचण्डसँग ४० प्रतिशत भन्दा बढी शक्ति देखाएको थियो। तर यो गणितीय हिसाबको कुनै अर्थ नरहेको टिप्पणी ओलीनिकट नेता शंकर पोखरेलले गरेका थिए।

ओली–प्रचण्डको शक्ति तानातान र नेकपाका गुटहरुको खेल बीच अवस्थालाई वामदेवले आफूलाई प्रधानमन्त्री बनाउने गतिलो अवसरका रुपमा हेरेका छन्। त्यसैको एउटा मूर्तरुप हो प्रचण्डले उनलाई राष्ट्रियसभा लैजान सचिवालय बैठकमा गरेको प्रस्ताव। 

जनस्तरबाट सरकारमाथि आलोचना बढिरहेको तथा प्रचण्ड शक्तिमा आएको मौकालाई वामदेवले सत्तारोहणको उपयुक्त मौका ठानेका छन्। तर बुधबारको सचिवालय बैठकले संविधान संशोधन नगरी वामदेवलाई राष्ट्रियसभामा लैजाने भनेको छ। 

संविधान संशोधनका लागि बनाइएको कार्यदल पनि बुधबारै भंग भएको छ। यस्तो अवस्थामा वामदेवले चिसो पानीले नुहाएर राष्ट्रिय सभामा जान तयार भएको टिप्पणी ओलीनिकट एक नेताले गरेका छन्। 

‘राष्ट्रिय सभामा लैजाने भनेको हो। तर आज भोलि नै होइन। त्यो भनेको दुई वर्षपछि पनि हुन सक्छ’, ती नेताले भने, ‘अहिलेको अवस्थामा वामदेव कमरेड चिसो पानीले नुहाएर राष्ट्रिय सभामा जान तयार हुनु भएको हो। तत्कालललाई संविधान संशोधनको मुद्दा स्थगित भएको छ।’

वामदेवकै लागि संविधान संशोधन गर्न असम्भव भएपछि नेकपामा राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने अर्को बुँदामा पनि बहस भइरहेको छ। सेरेमोनियल राष्ट्रपतिलाई केही कार्यकारी अधिकार दिने अर्को कुरा थपेर वामदेवका लागि राष्ट्रिय सभाबाट प्रधानमन्त्रीको ढोका खोल्ने कोशिश भएपछि प्रम ओली रुष्ट भएका हुन्। 

सजिलो छैन

वामदेवका लागि मात्रै संविधान संशोधनको कुरा त्यति सजिलो भने छैन। संविधानको एउटा बुँदा फेर्दा पूरै शासकीय स्वरुप नै बदल्नुपर्ने बाध्यता पनि सँगै छ। 

अर्कातिर नेकपाका एकजना अध्यक्ष ओलीले वामदेवलाई राष्ट्रियसभामा नलाने अभिव्यक्ति दिइसकेपछि नेकपा भित्र यो विवादले अझै उग्ररुप लिने अवस्था छ। 

मिर्गौला प्रत्यारोपण तयारीमा रहेका ओलीलाई यही बेला गलाएर हटाउने योजनासम्मको तयारी भएको भन्दै उनीनिकट नेताहरु सशंकित देखिन्छन्। यस्तोमा ओलीले वामदेवलाई रष्ट्रियसभा नलैजाने भनेर आक्रोश पोखेको बाछिटा अबका केही दिनमा देखिन थाल्नेछन्।

‘नेकपाको शक्ति संघर्ष अझै जटिल मोडमा पुग्ने अवस्था छ’, नेता नेपालनिकट एक नेता भन्छन्, ‘तर यो बेलामा ओलीलाई नेपालले साथ दिनुभयो भने यो सामसुम हुने अवस्थामा पनि देखिन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.