|
सांकेतिक फोटो : DNA India

काठमाडौं : पुस १५ गते तमु ल्होसारको दिन, कालिमाटी टंकेश्वरका सुजन शाहीलाई साथीको फोन आयो। फोन थियो सुजन तामाङको। तामाङले टंकेश्वर आउन आग्रह गरे। चाडपर्वको दिन साथीले रमाइलोको लागि बोलाएपछि शाही तत्कालै टंकेश्वर पुगे।

शाही त्यहाँ पुग्दा सुवास तामाङ, अमर तामाङ, विजय लामा होटलमा बसिरहेका थिए। करिब पाँच बजेतिर भेट भएका उनीहरुले रमाइलो गर्नका लागि निगार खान थाले।  

निगार, अण्डा, चिउरा, छोयला खाएपछि उनीहरु सबै पैसा तिरेर होटलबाट बाहिर निस्के। पिसाब फेर्न मन लागेपछि शाही विष्णुमती नदीको किनारमा रहेको सार्वजनिक शौचालयमा गए। पिसाब फेरेर बाहिर आउँदा उनले मानिसहरुको भीड देखे। के भएछ भनेर हेर्न जाँदा त त्यहाँ साथी सुजन तामाङलाई कुटपिट भइरहेको रहेछ।

साथीलाई अपरिचित व्यक्तिहरुले कुटेको देखेपछि शाहीले छुट्याउन प्रयास गरे। तर ती अपरिचित व्यक्तिले उनलाई नै कुटपिट गरे। साथी पनि पिटेको र आफूले पनि कुटाइ खाएपछि उनको पारो तात्यो, नजिकै भेटिएको फलामे स्प्रिङले झटारो हाने। अध्याँरो र रक्सीको नसाका कारण त्यो झटारोले कसलाई निसाना लाग्यो उनलाई तत्काल थाहा भएन। पछि नियालेर हेर्दा त आफ्नै साथीलाई पो लागेछ।

अहिले प्रहरी हिरासतमा रहेका शाहीले बयानमा भने, 'साथीलाई बचाउनका लागि अध्यारोमा स्प्रिङ हानेको थिएँ, साथीलाई नै पो लागेछ। झगडा गर्ने अरु को हुन्, अँध्यारो र रक्सीका कारण चिन्न सकिन।’ आफ्नै साथी घाइते भएपछि उनी आत्तिए। तत्काल उसलाई लिएर बल्खुको शिवज्योति अस्पताल पुगे। त्यहाँ उपचार सम्भव नभएपछि शिक्षण अस्पताल लगे। तर तामाङको मृत्यु भयो। 

साथीभाइको सामान्य जमघटमा भएको झगडामा एक युवकले ज्यान गुमाएपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गर्‍यो। अनुसन्धानकै क्रममा प्रहरीले मृतकका नजिकका साथीहरुसँग केरकार गर्‍यो। त्यसपछि पत्ता लाग्यो, तामाङको मृत्यु त उनकै साथी सुजन शाहीले हानेको स्प्रिङले लागेको चोटबाट धेरै बगेर भएको रहेछ। तामाङको मृत्यु भएको महानगरीय प्रहरी वृत्त, कालिमाटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज अधिकारीले जानकारी दिए।

‘सँगै रहेका साथीलाई बचाउनका लागि उनले फलामको स्प्रिङ हानेका थिए, तर त्यही नै मृत्युको कारण बन्न पुग्यो’, डिएसपी अधिकारीले भने, ‘शाहीलाई पक्राउ गरी मुद्दा चलाइसकिएको छ, उनले नै सबै घटना स्वीकारेका छन्।' शाहीलाई ज्यान मुद्दाअन्तर्गत कारबाहीको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.