|

प्युठान : प्युठान नगरपालिका–३ रातामाटाका कुमाल समुदायका मानिसहरु होमस्टे व्यवसायतर्फ आकर्षित भएका छन्। उनीहरुले बतासेडाँडामा होमस्टे सञ्चालनमा ल्याएका छन्।

प्युठानमा करिव चार हजार जनसंख्या रहेको कुमाल समुदायको माटोको भाँडा बनाउने परम्परागत पेशा १० वर्षअघि नै बन्द भएको थियो। त्यसयता उनीहरु कृषि, मजदुरी गरेर जीवन गुजारा गर्दै आएका थिए। 

माटो नपाइनु, पाइए पनि व्यक्तिगत जग्गामा भएकाले प्रयोग गर्न नपाउनु, नयाँ पुस्ताले भाँडा बनाउन पेशमा चासो नदिनुले परम्परागत पेशा लोप भएको कुमाल अगुवाहरु बताउँछन्। परम्परागत पेशा लोप भएपछि होमस्टेतर्फ लागेको स्थानीय हरिबहादुर कुमालले बताए। 

बतासेडाँडा कुमाल गाउँ होमस्टे सञ्चालन जीवनस्तर सुधार, भाषा, संस्कृति, परम्परा संरक्षण गर्ने लक्ष्य रहेको कुमाल अगुवाहरु बताउँछन्। प्युठानको बजार क्षेत्रबाट नजिक रहेको तथा विकासको पहुँच नपुगेको कुमाल गाउँका १० घर कुमाल परिवारले ४० जना क्षमताको होमस्टे सञ्चालन गरेका हुन्।

प्युठान नगरपालिका कार्यपालिका सदस्य तथा कुमाल जातिका जानकार दिलिप कुमालका अनुसार होमस्टेमा पाहुनालाई स्थानीय परिकारका साथै कुमाल नाच, पैसेरु, मारुनी पनि देखाइन्छ। भुटेको मकै, रोटी, आँटो, ढिँडो सिस्नोलगायतका परिकारले स्वागत गर्ने तयारी रहेको सम्झना केएमले बताइन्।

नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले कुमाल समुदायका होमस्टेलाई नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। होमस्टे सञ्चालनमा आएपछि पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने उनको भनाइ छ। यस क्षेत्रको पर्यटकीय स्थल भित्रिकोट, लिस्ने, बाइसधारा, बुलवुले, झुलेनिबाट हिमाल हेर्न सकिने, धौलागिरी, माछापुच्छे, भित्रिकोटका दरबार, रानीगुफालगायतका ठाउँमा सजिलै अवलोकन गर्न सकिने नगर प्रमुख कक्षपतिले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.