|

काठमाडौं : प्रगतिशील पत्रकार संघले नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा पूर्वाग्रह राखिएको आरोप लगाएको छ। संघको बुटवलमा बसेको बैठकले पत्रकार महासंघको जिल्ला शाखाहरुले योग्यता पुगेका पत्रकारलाई पनि पूर्वाग्रही भएर सदस्यता सिफारिस नगरी अन्याय गरिएको भन्दै आपत्ति जनाएको हो।

अध्यक्ष नारायण शर्मा र महासचिव उदय जीएमले विज्ञप्ति निकालेर छानबिन गरी सदस्यता प्रदान गर्न र न्याय दिन नेपाल पत्रकार महासंघ केन्द्रीय समितिसित अनुरोध गरेको छ। संघले साझा संस्थाप्रति साझा भावना र अपनत्व कायम गराउन पनि महासंघको ध्यानाकर्षण गरेको छ।

'महासंघको विधानले निर्धारण गरेको मापदण्डअनुसार प्रक्रिया पूरा गरी योग्यता, दक्षता र पत्रकारिता गरेको निर्धारित समयावधि प्रमाणित हुने कागजातहरु संलग्न गरी महासंघको शाखाहरुमा फाइल पेश गरिएको तर पूर्वाग्रही भएर सिफारिस नगरिएका देशैभरका फाइल मगाई त्यसउपर छानबिन गरी साधारण सदस्यता प्रदान गरेर न्याय दिन तथा गरिमामय साझा संस्थाप्रति साझा भावना र अपनत्व कायम गराउन पत्रकार महासंघलाई अनुरोध गर्ने निर्णय गरिएको छ' बैठकको निर्णयमा भनिएको छ।

संघले नेपाल पत्रकार महासंघको आउँदो चुनावमा देशभक्त र जनतान्त्रिक शक्तिसँग तालमेल गर्ने निर्णय गरेको छ। त्यसका लागि अध्यक्ष नारायण शर्माको संयोजकत्वमा उदय जीएम र सुमन अधिकारी सदस्य रहेको वार्ता समिति गठन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.