|

सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोनाको संक्रमण रोक्न हरेक वडास्तरमा एकीकृत टोली बनाउने भएको छ। वडास्तरमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकको एकीकृत टीम तयार गरि कोरोना रोकथाम तथा नियन्त्रणको कामलाई प्रभावकारी बनाउने प्रदेश सरकारको तयारी रहेको छ।

आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको प्रदेशस्तरीय संकट नियन्त्रण केन्द्रको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाईरस संक्रमण दोस्रो चरणमा पुगेको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणको तयारीलाई तिव्रता दिन मातहतका निकायलाई निर्देशनसमेत गरेका छन्।

प्रदेश, जिल्ला, पालिका र टोलस्तरमा कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि एकीकृत टोली निर्माण गर्ने र वडास्तरका टोलीहरुलाई प्रभावकारी रुपमा परिचालन व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ।

शाहीले नेपालमै पहिलोपटक सीमा नाकामाहरुमा हेल्थ डेस्क स्थापना स्वास्थ्य जाँच तथा आवागमनलाई कडाई गरेका कारण अहिलेसम्म कर्णाली प्रदेशमा कोरोनाभाईरसको संक्रमण नदेखिएको बताए।

लकडाउनपछि लुकीछिपी विदेशबाट गाउँमा पुगेका नागरिकबाट संक्रमणको जोखिम रहेको बताउदै मुख्यमन्त्री शाहीले बाहिरी मुलुकका बढि संक्रमण भएका मुलुकबाट गाउँमा पुगेका नागरिकको स्याम्पल संकलन गरेर परीक्षण कार्यलाई तीव्रता दिनुपर्ने बताए।

वडास्तरका एकीकृत टोलीले सेल्फ क्वारेन्टाईनमा रहे नरहेको अनुगमन गर्ने, एक घरवाट अर्को घरमा हुने आवतजावतलाई कडाई गर्ने, खाद्यान्न वस्तुको अभाव भएका परिवारमा खाद्यान्नको आपूर्ति व्यवस्था मिलाउने शंकास्पद बिरामीको स्वाब संकलनमा सहयोग गर्ने लगायतका काम गर्नुपर्ने शाहीले बताए।

विदेशबाट आएका नागरिक, गर्भवती, बालबालिका र ६० वर्ष माथिका नागरिकको स्वास्थ्य अवस्थालाई विशेष निगरानीमा राख्‍नसमेत आग्रह गरेका छन्। उनले संक्रमण शुरु भइहालेमा मृत्युदरलाई सकेसम्म कम गर्ने तर्फ पनि ध्यान दिन जरुरी रहेको बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.