उल्टो तयारीले दुर्घटना निम्त्याउन सक्छ

|

काठमाडौं : कोभिड-१९ को महामारीसँग जुध्‍न सरकारले पर्याप्त तयारी नै नगरेको जनस्वास्थ्यविदहरुले बताएका छन्। इटाली, स्पेन र अमेरिकाको जस्तो कोरोनाको महामारी फैलिएको अवस्थामा सरकारको अहिलेको तयारीले थेग्‍न नसक्ने उनीहरुको भनाइ छ। 

कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारको तयारीलाई नजिबाट नियालिरहेका जनस्वास्थ्यविद प्रा. डा. शरद वन्त महामारीको अवस्था आएमा अहिलेकै प्रयासले केही नहुने बताउँछन्। 

'अहिले सरकारले गरेको तयारी जति नीतिगत मात्रै तयारी भएको छ। व्यवहारिकरुपमा सरकारले कति पनि तयारी गरेकै छैन', उनले थाहाखबरसँग कुरा गर्दै भने, 'जुन र जति तयारी सरकारले गरिरहेको छ, त्यो पनि उल्टो मात्रै देखिएको छ।'

सरकारले अहिले ९/१० जना बिरामीको उपचारको मात्रै तयारी गरेको बताउँदै डा. वन्तले यसले महामारीमा केही गर्नै नसक्ने बताए। 'जुन तयारी भएको छ, त्यो पनि उल्टो छ। ९ जना बिरामीलाई मात्रै उपचार गर्ने अवस्थामा देखियो सरकार। थोरै संख्यालाई मात्रै उपचार गर्ने सरकारको तयारीले भोलि डरलाग्दो जोखिम ल्याउँछ', उनले भने, 'भोलि ठूलो महामारी भयो भने यो तयारीले केही पनि हुँदैन।'

सामान्य अवस्थामा सरकारी अस्पतालले बिरामीको उपचार नै नगरेको अवस्थामा महामारीका लागि अहिले सरकारले तयार पारिरहेका संरचनाले कति पनि थेग्‍न नसक्ने उनी बताउँछन्। 'हाम्रोमा सामान्य अवस्थामा त सरकारी स्वास्थ्य संस्थाले सुविधा दिन नसकेको बेलामा सरकारले अहिले गरेको तयारीले केही पनि हुँदैन', उनले भने, 'अहिले नै पर्याप्त सेवा दिन सकेका छैनन्। बिरामीले उपचार पाइरहेका छैनन्। भोलि महामारी भयो भने यही संरचनाले धान्छ भन्‍ने त कल्पना नगरे पनि हुन्छ।'

उनले महामारीसँग जुध्ने विकल्पका रुपमा पर्याप्त भौतिक पूर्वाधार रहेका निजी अस्पताललाई केही समयका लागि सरकारले नियन्त्रण लिन सक्नुपर्ने सुझाव दिएका छन्। 'स्वास्थ्य सेवाको आधा भन्दा धेरै पहुँच भएका निजी अस्पतालहरुलाई सरकारले केही समय नियन्त्रणमा लिएर परिचालन गर्नुपर्छ', उनले भने, 'अहिले जस्तो एउटा अस्पतालमा ५ वटा, अर्कोमा १० वटा, अर्कोमा १५ वटा बेड बनाएर त महामारीको सामना हुनै सक्दैन।'

के गर्ने त? 

'हाम्रोमा सामान्य अवस्थामा त सरकारी स्वास्थ्य संस्थाले सुविधा दिन नसकेको बेलामा सरकारले अहिले गरेको तयारीले केही पनि हुँदैन', उनले भने, 'अहिले नै पर्याप्त सेवा दिन सकेका छैनन्। बिरामीले उपचार पाइरहेका छैनन्। भोलि महामारी भयो भने यही संरचनाले धान्छ भन्‍ने त कल्पना नगरे पनि हुन्छ।'

सरकारलाई डा. वन्तको सरल सुझाव छ। कोरोनाले यदि महामारीको रुप लिएको अवस्थामा उपचारका लागि कम्तीमा एउटादेखि दुईवटा अस्पताललाई विशेष स्थान तोक्नुपर्ने उनी सुझाउँछन्।

'केही अस्पतालमा कोरोनाको मात्रै उपचार गर्ने गरी स्पेशल उपचार गर्ने ठाउँ तोकिनुपर्छ। एकै ठाउँमा धेरै बिरामीको उपचार गरिनुपर्छ। एउटा विशेष अस्पताल तयार गर्नुपर्छ', उनी भन्छन्, 'एउटामा ५ जना, अर्कोमा १० जनाको उपचार गरेर महामारीमा सम्भव हुँदैन।'

डा. वन्तले भारतसँग सीमा जोडिएका क्षेत्रमा हजारौँ नेपाली रहेकाले त्यहाँ पनि विशेष तयारी गर्नुपर्ने सुझाव सरकारलाई दिएका छन्। 'हाम्रा भारतसँग सीमा जोडिएका भागहरुमा पर्याप्त स्वास्थ्य सेवा दिन सक्ने गरी त्यहाँका स्वास्थ्य संस्थालाई नै बलियो बनाउनुपर्छ', उनी भन्छन्, 'सरकारी अस्पताल नधानेर निजी अस्पतालले बिरामीको उपचार धानिरहेका छन्। त्यसैले निजी अस्पताललाई निश्‍चित समयसम्मका लागि सरकारले नियन्त्रणमा लिएर विशेष अस्पताल बनाउन सक्नुपर्छ।'

अहिले अवस्थामा महामारी भनेको ठूलो विपत्ति नै भएकाले यो तयारीले केही पनि नहुने उनले पुन: दोहोर्‍याए। 'सरकारले विशेष कमाण्ड केन्द्र बनाएर सारा जनशक्ति परिचालन गर्नुपर्छ', उनले भने, 'धेरै संख्यामा बिरामी देखिएमा यस तयारीले केही पनि हुँदैन। व्यवहारिक तयारीमा सरकार चुकेको छ। कागजी तयारीले मात्रै अहिलेकै अवस्थामा नेपालले महामारी थेग्‍न सक्दैन।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.