|

प्युठान : बिहीबार गौमुखी गाउँपालिकाकी उपाध्यक्ष काठमाडौंबाट घर आइन्। गाडी रिजर्भ गरी दाङको भालुवाङसम्म आएकी उनलाई प्युठान भित्रिन एउटा अनिवार्य शर्त राखियो। जुन थियो अनिवार्य क्वारेन्टाइनमा बस्नैपर्ने। अहिले उनी आफैँले बनाएको क्वारेन्टाइनमा बस्नुपरेको छ।

गौमुखी गाउँपालिका-५ साली विसौनामा रहेको पूर्ण आधारभुत विद्यालयको क्वारेन्टाइनमा उपाध्यक्ष सुनारसँगै एक महिला र २ जना पुरुषलाई सोही विद्यालयको क्वारेन्टाइनमा राखिएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए। दाङबाट गाउँपालिकाको गाडीले प्युठान ल्याई क्वारेन्टाइनमा राखेको हो।

चारैजनालाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र १४ दिन पछि द्रुत परीक्षण किट (आरडिटी) परीक्षण गरिनेछ। आरडिटीमा पोजेटिभ रिपोर्ट आएमा थप चेकजाँचका लागि पठाइने र नेगेटिभ रिपोर्ट आएमा घर पठाइने बताइएको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीको भनाइ छ।

जिल्ला भित्रिने सबैलाई अनिवार्य क्वारेन्टाइन

उपाध्यक्ष सुनार मात्रै होइन बिहीबार मात्रै प्युठानमा अन्य १६ जना व्यक्ति जिल्ला भित्रिएका छन्। जिल्लाका मुख्य सडक तथा भित्री बाटोमार्फत भित्रिएका व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्ने शर्तसहित सम्बन्धित स्थानीय तहको क्वारेन्टाइन सम्म ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

प्रहरीले बाटोमा सोधपुछ गरी भन्ने गर्दछ ‘जिल्ला भित्रिँदै हुनुहुन्छ के अनिवार्य रुपमा तपाईंको स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा बस्नुहुन्छ?’ त्यति मात्रै होइन जिल्लाभन्दा अन्य शहरहरूमा अलपत्र परेका वा बसीरहेका प्युठानीलाई समेत स्थानीय तहले बनाएको क्वारेन्टाइन बस्ने सर्तमा मात्रै जिल्ला आउन दिने गरेको छ।

 बुधबार जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षमा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कार्यालय प्रमुख, राजनितिक दल, स्थानीय तहको सर्वपक्षीय बैठक बसी अनिवार्य क्वारेन्टाइनमा बसे मात्रै भित्रिन दिने अन्यथा पूर्ण रुपमा बन्देज लगाउने निर्णय भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए।

अत्यावश्यक कामबाहेकका अन्य कामहरुका लागि जिल्ला भित्रिए अनिवार्य क्वारेन्टाइनमा राखिने निर्णय अनुसार २० जना थप भएको विशाल सुवेदीले बताए। प्यूठानमा ६४ जना विभिन्न स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा रहेको छन्। जिल्लाबाट हालसम्म १२ जनाको पिसिआर पद्धतीबाट परिक्षणका लागि स्वाव जिल्ला बाहिर पठाइएको छ। ११ जनाको रिर्पोट नेगेटिभ आएकोमा बुधबार पठाइएका एक जनाको रिर्पोट आउन बाँकी रहेको सुवेदीको भनाई छ।

त्यसैगरी आरडिटी बाट हालसम्म ६३ जनाको परीक्षण गरिएकोमा ६३ जनाकै रिर्पोट नेगेटिभ देखिएको आडिटि फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिए। उनका अनुसार बिहिबार मात्रै माण्डवी गाउँपालिकाका ३ जनाको १४ दिन क्वारेन्टाइनमा बसाली नेगेटिभ रिर्पोट आएपछि घर पठाइएको छ। जिल्लाभर स्थानीय तहहरुले निर्माण गरेको ७५ क्वारेन्टाइनमा ३सय ९६ वेड संख्या छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.