|

कञ्चनपुर : कोरोना भाइरस(कोभिड १९) को संक्रमण रोकथामका लागि गरिएको लकडाउनको प्रत्यक्ष असर झेल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रका मुक्त हलिया परिवार र बादी परिवारलाई राहत सामग्री वितरण गरिएको छ।

राहत मापदण्ड कार्यविधि २०७६ अनुसार दैनिक ज्याला मजदुरी गरी जीविका चलाउँदै आएका मुक्त हलिया परिवार र बादी परिवारलाई राहत वितरण गरिएको हो।

 नगरपालिका क्षेत्रमा बसोवास गर्ने घर जग्गा केही नभएका ‘क’ श्रेणिको परिचय पत्र पाएका २७ परिवार मध्ये २४ परिवार र बादी समुदायका १२ परिवार गरी ३६ परिवारलाई राहत सामग्री वितरण गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताए।

यसैगरी, झलारी बजार क्षेत्रमा सरसफाइ र कपाल काट्ने कार्यमा संलग्न आठ जना भारतीय नागरिकहरुलाई समेत राहत सामग्री वितरण गरिएको छ। प्रति परिवारलाई राहत सामग्रीमा चामल ३० किलो, दाल तीन किलो, दुई प्याकेट नुन, दुई लिटर खाने तेल, दुई किलो चिनी र चार वटा सावुन प्रदान गरिएको नगर प्रमुख ऐरले बताए।

 लकडाउन भएपछि मुक्त हलिया परिवार र बादी परिवार भोक भोकै बसेको सुनेपछि पहिलो प्राथमिकतामा राखी राहत सामग्री वितरण गरेका छौँ उनले भने, 'दुई साता बढी समयका लागि पुग्ने राहत सामग्री ती परिवारलाई हस्तान्तरण गरिएको छ।'

 लकडाउनका कारण खाद्य समस्या झेल्दै आएका परिवारहरुको पहिचान गरी राहत सामग्री वितरण गरिने उनले बताए। 

मुक्त हलिया र बादी समुदायका घरमै पुगेर नगर प्रमुख, उप प्रमुख लगायतले राहत सामग्री वितरण गर्नु भएको छ। एकै ठाउमा भेला गरेर राहत सामग्री वितरण गर्दा सामाजिक दुरी कायम नहुने र भिड लाग्ने भएकाले घर घरमै पुगेर राहत सामग्री वितरण गरिएको नगर प्रमुख ऐरको भनाइ छ।

 नगरपालिकाले राहत सामग्री वितरण, क्वारेण्टाइन व्यवस्थापन लगायतका लागि रु २० लाखको विशेष कोष स्थापना गरेको छ।

कोषमा विभिन्न दातृ निकायहरुले समेत खाद्य, सरसफाई, स्वास्थ्य सम्बन्धी सामग्री सहयोग गरेका छन्। कोषमा नगरपालिका क्षेत्रमा क्रियाशिल बैंक, सहकारी संस्था र जनप्रतिनिधहरुले समेत नगद रकम सहयोग गरेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.