|

नवलपरासी : प्रदेश ५ को पूर्वी प्रवेशद्वारको रुपमा रहेको बर्दघाट नगरपालिकाले सडकमा हिँडेरै यात्रा गरिरहेका यात्रुहरुलाई खानासहित गन्तव्यमा पुग्ने व्यवस्था मिलाइरहेको छ।

नगरपालिकाले शुक्रबारदेखि यात्रुहरुलाई खानाको व्यवस्था गर्दै उनीहरुको गन्तव्यतर्फ लैजान सुरु गरेको हो। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कुनै पनि क्षेत्रबाट प्रदेशमा प्रवेश गरेका यात्रुहरुलाई खान, बस्न र गन्तव्यसम्म लगिदिने व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएसँगै बर्दघाट नगरपालिकाले पनि यात्रुहरुलाई प्रदेशको प्रवेशद्वार मै खाना खाने व्यवस्था गरी त्यहीबाटै गन्तव्यतर्फ पठाउने व्यवस्था गरेको हो।

शुक्रबार नगरपालिकाले वडा नम्बर ९ भुताहामा रहेको राजा महात्मा पूर्णभद्र माध्यामिक विद्यालयमा खाना खाने व्यवस्था गरेर पूर्वपश्चिम लोकमार्गमा पैदल यात्रामा रहेका १६८ जना यात्रुलाई गन्तव्यतर्फ पठाएको थियो। 

शनिवारदेखि भने प्रदेश प्रवेश गर्ने यात्रुहरु बजार क्षेत्र प्रवेश गर्दा आम मानिसहरुमा त्रास उत्पन्न भएकाले बर्दघाटको टिसियन चोकमै खाजा खानाको व्यवस्था गरी त्यहीबाटै यात्रुहरुलाई गन्तव्यसम्म पठाउने व्यवस्था गरेको छ। शनिबार मात्र नगरपालिकाले टिसियन चोकमा खाना खुवाएर बसको ब्यबस्था गरेर दाङको तुलसिपुर सम्म पठाएको छ। यात्रुहरुलाई गन्तव्यमा पठाउनुअधि बसलाई पूर्ण रुपमा सेनिटाइज गरिएको थियो।

टिसियनचोकमा खाना खुवाउने कार्यमा बर्दघाट उद्योग वाणिज्य संघले भोलिन्टियरको रुपमा सहयोग गरेको छ भने भान्सा व्यवास्थापनमा प्रभाकर कुक एण्ड क्याटरिङ्ग सेवा बर्दघाटले सहयोग गरेको छ। आवश्यक खाद्यान्न बर्दघाट नगरपालिकालेनै व्यवस्थापन गरेको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बताए।

प्रदेश सरकारलेनै सडकमा पैदल यात्रा गर्दै गन्तव्यतर्फ लागिरहेका यात्रुहरुलाई खान, बस्न र गन्तब्य सम्म लैजाने व्यवस्था मिलाउन निर्देशन दिएसँगै प्रदेश ५ का प्रदेशसभा सदस्य दीपेन्द्रकुमार अधिकारी पनि बर्दघाटको टिसियनचोकमा खटिरहेका छन्। 

बर्दघाट नगरपालिका गण्डकी प्रदेशसँग जोडिएको प्रदेश ५ को पूर्वी स्थानीय तह हो। प्रदेश प्रवेश गर्ना साथ टिसियनचोकमा हेल्थ डेस्क सञ्चालन गरेको सशस्त्र प्रहरीले प्रारम्भिक स्वास्थ्य परीक्षण समेत गर्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.