प्यूठान : प्युठान नगरपालिका–४ टारीको एउटा पुरानो माटोको घर छ। त्यो माटोको घरमा एक ९६ वर्षीय आमा बस्छिन्। उनको हेरचाहमा छन्, डा. लेखराज सुवेदी। देश बन्दाबन्दीले स्वास्थ्य संस्थाहरूमा आपतकालीनबाहेकका बिरामी शून्य जस्तै छन्।
तर, डा. सुवेदीको त्यही घरमा भने दैनिक बिरामीहरू निःशुल्क स्वास्थ्य सेवा लिन जानेको संख्या बढदो छ। करिब ४ घण्टा हिँडेरसमेत बिरामी उनलाई खोज्दै घरमा आउने गरेका छन्।
प्युठान नगरपालिका–४ जुम्रीमा उनले चेकजाँचका लागि डा.लेखराज हेल्थ केयर क्लिनिक खोलेका छन्। क्लिनिकको विशेषता गज्जबको छ। पैसा तिर्न सक्नेबाट सुवेदीले न्यून शुल्क असुल्छन्। नहुनेलाई निःशुल्क चेकजाँच गर्छन्।
क्लिनिकको कोठाको भाडा, विद्युत, खानेपानी, सरसफाईको शुल्क तिर्न सामान्य शुल्कमै स्वास्थ्य परीक्षण गर्न थालेको पनि वर्षौं भएको छ। सरकारी, गैरसरकारी, निजी क्षेत्रसँगको सहकार्यमा करिब २ सयभन्दा बढी निःशुल्क स्वास्थ्य शिविरमा सेवा प्रदान गरिसकेका छन डा. सुवेदीले।
घर खोज्दै आइपुग्छन् बिरामी
प्युठानका साथै छिमेकी जिल्लाहरू बाग्लुङ, गुल्मी, अर्घाखाँची र रोल्पाबाट समेत उनको क्लिनिकमा बिरामी आउने गर्छन्। बन्दाबन्दीपछि पनि ५ घण्टा हिँडेरै उपचारका लागि आफूलाई खोज्दै टारीकै घरमा आउन नछाडेको डा.सुवेदीले बताउँछन्।
बन्दाबन्दीका कारण सरकारी तथा निजी क्लिनिकमा आकस्मिक सेवाबाहेक अन्य सेवाहरुको लागि बिरामीहरूलाई घरमै सुरक्षित हुन भनिएको छ। तर, रोगले समस्या उत्पन्न गराउने डरले बिरामी घरमै आउने गरेको डा. लेखराज सुवेदी बताउँछन्।
‘बन्दाबन्दीले आकस्मिक सेवा र कोरोनासँगका लक्षण देखिएमा मात्रै स्वास्थ्य संस्था पुग्ने बिरामीहरु हुनुहुन्छ।’ डा.सुवेदीले भने, ‘अस्पतालमा कोरोनासंक्रमित आएर समस्या आउँदछ कि भनेर सुटुक्क बिरामीहरु घर खोज्दै आउनुहुन्छ।’
कोरोनाको रोकथामका लागि पूर्व-सतर्कतास्वरूप सरकारले गरेको बन्दाबन्दी सराहनीय रहेको बताउने सुवेदी यस्तो परिस्थितीमा निजी तथा संस्थागत रूपमै सरकारलाई सहयोग गरी सम्पूर्ण स्वास्थ्यकर्मीहरुले निश्वार्थ भावले जनताको सेवा गर्नु आवश्यक रहेको बताउँछन्।
जागिरपछि गाउँ, सेवा गर्न पाउँदा आनन्दित
विजुवारको टारीमा २०११ सालमा जन्मिएका डा. लेखराज सुवेदी त्रिवि शिक्षण अस्पतालको सरकारी जागिर छाडेर गाउँ फर्किएका हुन्। २०६० सालदेखि प्युठान जिल्लाको विजुवार, वाग्दुला, जुम्रीसहित गाउँ गाउँमा पुगेर निःशुल्क रुपमा जाँच गर्न पुगेका डा. सुवेदीले मोबाइल प्रयोग गर्दैनन्।
चिकित्साशास्त्र अध्ययन संस्था महाराजगञ्जबाट एमविविएस अध्ययन पूरा गरी शिक्षण अस्पतालमा करिब आठ वर्ष हार्डजोर्नी विभाग, मेडिकल, फिजियोलोजी विभाग, सहप्राध्यापन र चिकित्सकका रूपमा काम गरी बिदामा प्युठान आएका उनी जन्मस्थलको सेवा गर्दा आनन्द प्राप्त हुने र दुर्गमका बिरामीले अकालमै मर्न नपरोस् भनी स्थायी नोकरीमा नफर्केको तर्क गर्छन्।
खुसी छिन् ९६ वर्षीया आमा
सुवेदीले ०७१ सालमा राष्ट्रपतिबाट प्रदान गरिने ‘समाज सेवा रत्न पुरस्कार’, २०७६ सालमा प्रदेश सरकारले प्रदान गर्ने दुर्गममा रही समाजसेवा गरेबापत ‘समाज सेवा श्री पदक द्वितीय’ सहित दर्जनौं पदक तथा सम्मानले सम्मानित भएका छन्।
छोराको समाज सेवाबाट ९६ वर्षीया आमा पनि खुसी देखिन्छिन्। ‘छोराको कामबाट निकै खुसी छु, गाउँमा जान्छ बिरामीको सेवा गर्छ’ उनले भनिन् ‘तर कहिले काहीँ खानै नखाएर काम गरेको देख्दा दिक्क लाग्छ।’ बन्दमा समेत छोराले काम सघाउला र खाउँला भनेको पर्खंदा आफैँ पनि भोकै बस्नुपर्ने डा. सुवेदीकी आमाको अनुभव छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।