|

सुर्खेत :  प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बिभिन्न अभियोगमा पक्राउ परेकाहरुलाई रिहा गराउनका लागि आउने दबाबले काममा असहज भएको बताएका छन्। यस्ता दबावका कारण शान्ति सुव्यवस्था कायम गराउन प्रहरीले चाहेर मात्र नसक्ने उनको भनाइ छ।

प्रहरीलाई बारम्बार देशका ठूला व्यक्तिबाटै अनुसन्धान कार्यमा बाँधा पुग्ने गरी अपराधी छुटाउनका लागि आउने दबाबलाई ‘अतिवाद’ भन्दै अर्यालले यो नेपाल प्रहरीका लागि दुखद् पक्ष भएको उल्लेख गरे।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको नवनिर्मित भवन तथा हिरासत ब्लक उद्घाटन गर्दै महानिरीक्षक अर्यालले अहिलेको अवस्थामा नागरिकको चाहना अनुसार नेपाल प्रहरीले सेवा दिन नसकिरहेको स्वीकार गरे। त्यसका लागि नागरिक स्तरबाट पनि सहयोग आवश्यक पर्ने उनको भनाइ छ।

पछिल्लो १० वर्ष यता अपराधका स्वरुपहरु परिवर्तन भइरहेको भन्दै अर्यालले आर्थिक, अन्तरदेशीय र विज्ञान प्रविधिको प्रयोगबाट हुने अपराधको संख्या बढेको बताए। नेपाल प्रहरी नागरिकको असल साथी हुन चाहिरहेको बताउँदै उनले प्रहरी मेरो साथी अभियानलाई लागू गर्नका लागि भइरहेको पहल र प्रयासमा सम्पूर्ण सरोकारवालाहरुको सहयोग चाहिने बताए।

महानिरीक्षक अर्यालले पीडितले न्याय पाउने गरी काम गर्न सुर्खेतका प्रहरी अधिकारीलाई निर्देशन दिए। ‘भवन फेरिएको छ, सेवा दिने अधिकारी फेरिएलान्, तर पीडितले न्याय पाएनन् भने प्रहरीको तीन पुस्तालाई सराप्ने छन्, त्यसैले न्याय खोज्दै प्रहरीको ढोकासम्म आइपुग्ने पीडितको घाउमा मल्हम लगाउने काम नेपाल प्रहरीकै हो' उनले भने।जिल्ला प्रहरी कार्यालय सुर्खेतको भवन ३ करोड ७४ लाख ९१ हजार ७ सय २९ रुपैयाँ लगानीमा निर्माण गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.