|

सल्यान : कोरोना भाइरसको सम्भावित सत्रंmमणबाट बच्न लगाइएको लकडाउन कारण खोपबाट बञ्चित एक वर्षमुनिका बालबालिकालाई नियमित खोप लगाउन सुरु गरिएको छ।

एक वर्ष पुग्गासम्म मासिक रुपमा नियमित ११ वटा खोप लगाउनु पर्दछ। तर, लकडाउनले गर्दा बालबालिकाहरु खोप लगाउने समयतालिका सरेको थियो। स्वास्थ्य सेवा कार्यालय सल्यानका  खोप अधिकृत दशरथ श्रेष्ठले जिल्लाभर एक वर्षमुनिका पाँच हजार ८०० बालबालिकाको खोप सेवा लिइरहेको बताए। उनका अनुसार लकडाउन जारी रहे पनि बैशाख १६ देखि २१ सम्म पहिलो र दोस्रो चरण जेठ ५ देखि ११ सम्म सञ्चालन गर्ने तयारी गरिएको छ।

पहिलो चरणमा शारदा नगरपालिका, वनगाड कुपिण्डे नगरपालिका, कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, शिद्धकुमाख गाउँपालिका र कालीमाटी गाउँपालिका खोप सेवा सञ्चालन गरिने जनाएको छ। यस्तै, आगामी जेठ ५ देखि ११ सम्म दार्मा गाउँपालिका, कुमाख गाउँपालिका, शिद्धकुमाख गाउपालिका र वागचौर नगरपालिकामा खोप सेवा सञ्चालन गरिने कार्यतालिका छ।

दामा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञ बस्नेतले हरेक महिनाको ५ देखि ९ गतेसम्म खोप लगाउने समय तालिका भए पनि लकडाउन घोषणा भएपछि खोप रोकिएको बताए। दार्मा गाउँपालिकामा एक वर्षमुनिका ३०० बालबालिका रहेका छन्।

त्रिवेणी गाउँपालिका अध्यक्ष मानवहादुर डाँगीले खोप सेवा सञ्चालनका लागि आवश्यक तयारी गरिएको बताए। खोप केन्द्रसम्म बालबालिका ल्याउन जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंसेविकालाई पत्राचार गरि सकिएको उनले बताए। शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले  सुरक्षा सतर्कता अपनाएर बालबालिकालाई खोप सेवा सञ्चालन गर्ने तयारी गरिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.