|

दमक : झापाको लखनपुरमा उज्यालो बाल क्लबको आयोजनामा आजबाट प्रथम राष्ट्रिय बाल महोत्सव सुरु भएको छ। २९ गते सम्म सञ्चालन हुने महोत्सवको उद्‍घाटन शिक्षामन्त्री धनिराम पौड्याल गरे।

महोत्सव  उद्घाटन गर्दै मन्त्री पौड्यालले सरकारले ल्याएको शिक्षा ऐनको आठौँ संशोधन बालबालिका मैत्री रहेको दाबी गरे। ‘आठौँ शिक्षा ऐने कार्यान्वयन गर्न सबैको साथ चाहिन्छ,’ उनले भने।

उनले राजनीतिका कारण सामुदायिक विद्यालयको स्तर खस्किएको बताए।‘राजनीति गर्ने शिक्षकको काम छैन, अब कि त राजनीति छाड्नु पर्छ कि त शिक्षण पेशा,’ उनले भने। उनले नेपालको शिक्षा व्यवहारिक हुन नसकेका कारण शैक्षिक बेरोजगार बढेको बताए।

स्थानीय आदिवासी रंगशालामा सुरु भएको महोत्सव झापा, इलाम, सुनसरी र धनकुटाका गरी करिब डेढ लाख बालबालिकाले अवलोकन गर्ने अनुमान गरिएको छ। कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी हुने महोत्सवमा बाल गायन, वक्तृत्व कला, चित्रकला, फोटो प्रर्दशनी, नृत्य, नाटक, कराँते, विज्ञान तथा सूचना र प्रविधी सम्बन्धी प्रतियोगिता र प्रदर्शनी हुने जानकारी आयोजकले दियो।

महोत्सव सम्पन्‍न गर्न २५ लाख रुपैयाँ खर्च लाग्‍ने अनुमान गरिएको मूल आयोजक समितिका संयोजक सन्तोष भण्डारीले बताए। महोत्सवमा बालबालिकाको चासो र आवश्यकताभित्र पर्ने ५० भन्दाबढी स्टल राखिएको छ। महोत्सवका क्रममा विश्वको तेज स्मरण शक्तिमा गिजिन बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाएका  अर्पण शर्माले स्मरणशक्ती बढाउने विषयमा प्रस्तुती दिनेछन्।

त्यस्तै गिजिन बुकमा विश्वकै कान्छो चलचित्र निर्देशकका रुपमा नाम लेखाएका सौगात विष्टले आफ्ना अनुभव सुनाउनेछन्। महोत्सवका दौरान १४ वटा विधामा गिनिज बुकमा नाम लेखाएका थानेश्वर गुराँगाईले पनि आफ्ना प्रस्तुती दिनेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.