|

काभ्रे : स्थानीय निकाय ट्रेड युनियन जिल्ला समन्वय समितिका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। केन्द्रीय आन्दोलन समितिले जारी गरेको घोषित कार्यक्रम अनुरुप जिल्लामा पनि आन्दोलन थालनी गरेको जिल्ला आन्दोलन परिचालन समितिका संयोजक तारानाथ बञ्जाराले बताए।

उनका अनुसार केन्द्रीय समितिको निर्देशन अनुरुप दबाब स्वरुप सोमबार जिल्लास्थित प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलाई ज्ञापन पत्र बुझाउने काम भएको छ। जसअनुरुप कर्मचारीहरु आज कालो पट्टी बाँधेर काम गरिरहेका छन्। भोलि पनि सो क्रम जारी रहने उनले बताए।

जिल्ला आन्दोलन परिचालन समितिका संयोजक बञ्जाराले भने, ‘अझैपनि हाम्रो मागको सुनुवाई हुँदैन भने २७ गते १ घण्टा पेन डाउन गर्ने, २८ गते ३ घण्टा पेन डाउन गर्ने र फागुन १ गते काम नै ठप्प पर्ने कार्यक्रम रहेको छ।’ कर्मचारीहरुले जिल्ला विकास समितिको कार्यालयमा मागपत्रको ब्यानर झुण्ड्याएर आन्दोलन गरिरहेका छन्।

स्थानीय निकाय कर्मचारी संघ नेपालका केन्द्रीय सचिव विदुर गौतमले स्थानीय निकायमा कार्यरत कर्मचारीहरुलाई सरकारले गर्ने व्यवहार राम्रो नभएको बताए। ‘अहिले स्थानीय निकायमा करिब १७ हजार कर्मचारी कार्यरत छन्, जसलाई सरकारले हेप्ने काम ग¥यो । कसरी व्यवस्थापन गर्ने भन्ने कुरा नै भएन ,’ उनले भने,‘त्यसको लागि व्यवस्था गर्न छिट्टै ध्यान जाओस् भन्ने उद्धेश्यले पनि ट्रेड युनियनमार्फत आन्दोलनमा उत्रेका हौं।’

उनले स्थानीय निकायमा कार्यरत कर्मचारीहरुलाई जेष्ठताको आधारमा सम्मानजनक व्यवस्थापन गर्नुपर्ने बताए।‘धेरैजसो कर्मचारी साथीहरुले २०÷२५ वर्षसम्म काम गरिसकेका छन्। उनीहरुलाई अब के गर्ने भन्ने कुरामा सम्बन्धित निकाय गम्भिर छैन। त्यस्ता कर्मचारीहरुलाई कमसेकम आन्तरिक प्रतिस्पर्धाबाटै भएपनि व्यवस्थापन गर्नुपर्‍यो,’ उनले भने,‘त्यो व्यवस्था अहिलेसम्म भएन, बनाउनु पर्‍‍यो भन्‍ने पनि हाम्रो माग हो,’ गौतमले भने।

यी हुन् प्रमुख माग :

१ चुनावको मिति छिटो घोषणा गर्नुपर्ने,

२ स्थानीय निकायमा कार्यरत अस्थायी कर्मचारीहरुलाई व्यवस्थापन गरी उनीहरुको पेशाको ग्यारेण्टी गर्नुपर्ने,

३ नयाँ संविधानको मर्म र भावना अनुरुप स्थानीय तहहरुबाट जनअपेक्षा बमोजिमको प्रभावकारी सेवा प्रवाह गर्न सक्ने सांगठनिक संरचना र जनशक्तिको व्यवस्था गर्नुपर्ने।

यसअघि सरकारसँग प्रोत्साहन भत्ता माग गर्दै गाविस सचिवहरु आन्दोलनमा उत्रिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.