सीमा नाकाबाट फिर्ता गरिएकालाई स्वदेश आउन दिनुपर्ने माग

|

कञ्चनपुर : कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन अवज्ञा गर्दै कञ्चनपुर पुनर्वासमा स्थानीयले शुक्रबार प्रदर्शन गरेका छन्। जिल्लाको दक्षिणी क्षेत्रको नेपाल–भारत सीमा नाकाबाट फिर्ता गरिएका नेपाली नागरिकलाई स्वदेश फिर्ताको माग गर्दै स्थानीय बासिन्दाले प्रदर्शन गरेका हुन्। 

सीमामा कडाइ गर्दै प्रवेशमा सुरक्षा निकायले रोक लगाएको विरुद्ध पुनर्वास नगरपालिका ९ स्थित बिचफाँटामा स्थानीयले प्रदर्शन गरेका स्थानीय सञ्चारकर्मी दीपेन्द्र बस्नेतले बताए। 

उनका अनुसार वडाध्यक्ष नारायणप्रसाद जैसीसमक्ष नेपाली नागरिकलाई भारतबाट निर्बाध आउन दिनुपर्ने माग स्थानीयले राखेका छन्। बिहीबार भारतको गुजरातबाट नेपाल फर्कन लागेका २ नाबालकसहित ७ जनालाई फिर्ता पठाएपछि उनीहरुका आफन्तसहित स्थानीयले गाउँ फर्कन दिनुपर्ने भन्दै प्रदर्शन गरेका हुन्।

झन्डै डेढ घण्टा वडाध्यक्ष अगाडि झुम्मिएका प्रदर्शनकारी स्थानीयहरुको भीडलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले हटाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.