|

कपिलवस्तु : काठ चोरलाई कारवाही गर्न खोज्दा शिवराज साझेदारी वन व्यवस्थापन समितिको कार्यालयमा आक्रमण भएको छ। साझेदारी वन क्षेत्रको निरीक्षणमा गएको गस्ती टोलीले रुख काटिरहेकाहरुलाई समात्न खाेज्दा भागेकाहरु पछि कार्यालयमै अाएर आक्रमण गरेको साझेदारी वनका अध्यक्ष जगदम्बाप्रसाद चौधरीले बताए।

निरीक्षणको बेला भागे पनि प्रतिवाद गर्न ठूलो संख्याको समूह साझेदारी वन कार्यालय पुगी वन कर्मचारीमाथि आक्रमण गरेका थिए। आक्रमणबाट समितिमा पदाधिकारीहरु र वन कर्मचारी घाइते भएका छन्। उनीहरुले वन अधिकृत प्रेम शंकर गुप्ता र वन हेरालु तौलेश्वर यादवलाई हातपात समेत गरेको साझेदारी वनका अध्यक्ष चौधरीले बताए।

‘कार्यालयमै आएर आक्रमण हुन थालेपछि हामी असुरक्षित भयौं’, उनले भने। वन क्षेत्रमा वन संरक्षणको काममा संलग्न गरिरहेका वनका पदाधिकारीहरुलाई वन तस्करीमा संलग्न यस्ता समूहमा ज्यानकै खतरा रहेको भन्दै शान्ति सुरक्षाको माग गर्दै वन कार्यालय र स्थानीय प्रशासनमा लिखित पत्राचार गरेको अध्यक्ष चौधरीले बताए।

आक्रमण गर्न आएका ९ जना पक्राउ परेका छन् । शिवराज नगरपालिका–१० का ईरफान खान, जफ्फार मुसलमान, गुड्डु मुसलमान, ईनाम खान, मोविन खान, दुर्गा चौधरी, शकुल्ला मुसलमान, महफुज मुसलमान र गफ्फार मुसलमान पक्राउ परेका हुन्। सबैलाई अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा थुनामा राखिएको छ।

थुनामा रहेका सबैमाथि वन ऐन २०४९ को दफा (ङ) बमोजिम कारबाही हुने जिल्ला वन अधिकृत कृष्णदत्त भट्टले जानकारी दिए। पक्राउ परेका सबैलाई १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको उनले बताए। पछिल्लो समय जिल्ला वन कार्यालयले गस्ती बढाएपछि दैनिकजसो तस्करीमा संलग्नहरु पक्राउ पर्न थालेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.